• १३ साउन २०८१, आइतबार

मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

blog

पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको पावर हाउस । तस्बिर : गणेश पौडेल

गणेश पौडेल 

पर्वत, मङ्सिर २४ गते । पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ । 

करिब रु. ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाको गत मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । १५ दशमलब १ मेघावाट उत्पादनको लक्ष्य लिएको आयोजनामा १८.१ मेगावाट उत्पादन भएको आयोजनाले जनाएको छ । 

चौधरी ग्रुपको लगानीमा सञ्चालित मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मङ्सिर महिनाबाट सुरु गरेको हो । २०७४ सालमा निर्माण पूरा गर्ने लक्ष्यका साथ सञ्चालन भएको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । 

परीक्षणका लागि नेपाल विद्युत प्राधिकरणको टोलीले निगरानी गरिरहेको छ । आयोजनाको सबै काम सकिए पनि प्रसारण लाइनमा भने जोडिएको छैन । प्रसारण लाइनको कार्य सम्पन्न भए पनि परीक्षण उत्पादनको सबै काम सकिएपछि मात्रै जडान गरिने आयोजनाका प्रवक्ता मधुसुधन पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ, ती सबै काम पूरा भएका भएपछि परीक्षण उत्पादन थालिएको हो ।

निर्माणको काम थालेको ३ वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना ५ वर्षपछि धकेलिएको हो ।

आयोजना प्रवक्ता पौडेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत ४ किलोमिटर लामो प्रशारण लाईनमार्फत १ सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सवस्टेसन जडान गर्ने तयारी भइरहेको छ । ‘१५ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाईनमा जोडिन्छ’ उहाँले भन्नुभयो ।

सुरुवातमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको लागत समेत बढेर ४ अर्ब पुगेको बताइएको छ । आयोजनाको हेडवक्र्स पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ । 

‘रन अफ दी रिभर’ प्रणालीमा निर्माण हुने आयोजनामा मोदीखोला र भुरुङ्गदी खोलाको संगमबाट मोदीखोलाको पानी फर्काई २३ सय ९३ मिटर लामो सुरुङ्गबाट पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा ल्याइएको छ । 

आयोजनाले यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपीए) गरिसकेको छ । वर्षायाममा ४ रुपियाँ ८० पैसा र हिउँदमा ८ रुपियाँ ४० पैसाका दरमा विद्युत खरिद सम्झौता भएको छ ।