विश्व घटना तथा परिस्थितिले विभिन्न मुलुकको अर्थतन्त्रले दबाब खेपिरहनुपरेको छ। विशेषगरी रुस तथा युक्रेनको जारी युद्धले विश्व अर्थतन्त्रको असहजताको आगोमा घिउ थपिरहेको छ। व्यापार असन्तुलनले वैदेशिक मुद्रा सञ्चितिमा देखिएको कमीलगायतका कारणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको अर्थतन्त्रले विशेष सतर्कता अपनाउनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ। सही परिस्थितिको सही आकलन तथा सतर्कता अपनाउन नसक्दा दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले निकै ठूलो आर्थिक सङ्कटको सामना गर्नु परेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा सञ्चालनार्थ आवश्यक उत्तरपुस्तिकाको खरिद गर्न सकेन। परीक्षा नै स्थगित गर्नुपरेको यथार्थ ताजा तस्बिरले नेपाललाई समेत धेरै सचेतता अपनाउन बाध्य पारेको छ।
श्रीलङ्काकै स्थितिलाई दृष्टिगत गर्दै सावधानीस्वरूप सरकारले वैदेशिक मुद्रा सञ्चितिको उपायका रूपमा आठ महिनाअघि विभिन्न वस्तुमाथिको आयातमा प्रतिबन्ध लगाएको थियो। वैशाखदेखि लागू गरिएको प्रतिबन्धमा दस प्रकारका वस्तु थिए। भदौ महिनामा छ प्रकारका वस्तुको आयात खुला गर्ने निर्णय लिइएको थियो। आयात प्रतिबन्ध लागू गरिएका वस्तुमा महँगा गाडी तथा मोबाइल फोन, मदिरा तथा मोटरसाइकल रहेका छन्।
मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले ३० हजार डलरभन्दा माथिका गाडी, तीन हजार डलरभन्दा बढी मोलका मोबाइल फोन, महँगा मदिरा तथा डेढ सय सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा कुनै प्रतिबन्ध नलगाउने निर्णयसँगै पुस महिनादेखि यी वस्तुहरूको निर्बाध आयात हुने भएको हो।
कतिपय वस्तुमाथिको आयात प्रतिबन्धपश्चात् वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको अवस्था थियो। साथै यी वस्तुहरूको आयात प्रतिबन्धका कारण सरकारले प्राप्त गर्ने आय अर्थात् राजस्वमा निश्चित रूपमा केही कमी आएको थियो। व्यवसायीहरूलाई व्यवसाय सञ्चालनमा कठिनाइको कारण सरकारमाथि आयात खुलाका निम्ति दबाब पनि त्यत्तिकै परिरहेको थियो। नेपाली अर्थतन्त्र आन्तरिक तथा बाह्य कारणका फलस्वरूप हालका दिनमा निकै चापमा परेको छ। बैङ्कको उच्च ब्याजदर सबैभन्दा ठूलो समस्या हो। कसिलो मौद्रिक नीति आदिका कारण मुलुकमा उद्योग व्यवसाय फस्टाउने अवस्था नरहेको टिप्पणी छ। अर्थतन्त्रका अनेक समस्याका कारण पर्याप्त रूपमा राजस्वसमेत उठ्न सकिरहेको छैन। परिस्थितिको मूल्याङ्कन गर्न मुख्यसचिवको संयोजकत्वमा गठित समितिले समेत आयात खुलाको सिफारिस गरेपछि सरकारबाट आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो। प्रतिबन्ध खुलाउने निर्णयले सरकारले प्राप्त गर्ने राजस्वमा सकारात्मक प्रभाव पर्ने देखिएको छ।
खुला अर्थतन्त्र अवलम्बन गरेको मुलुक भएको नाताले नेपालले सधँैभरि आयात प्रतिबन्धलाई निरन्तरता दिइराख्ने विषय उपयुक्त नहुन सक्छ। वैदेशिक मुद्रा सञ्चितिको अवस्था सुधार आउने क्रमसँगै आयात प्रतिबन्धलाई हटाउनु मुलुकको अर्थतन्त्रका निम्ति अहितकर मान्न सकिँदैन। सवारीसाधनको आयातमा रहेको अवरोधले कतिपय ग्राहक महिनौँदेखि पर्खाइमा थिए भने कतिपय सवारीसाधनका सोरुम बन्द गर्नुपर्ने अवस्थामा पुगेका थिए। कतिपयको रोजगारीमै प्रतिकूल असर पर्न थालिसकेको थियो। आधिकारिक समितिको सिफारिस तथा सरकारद्वारा यसको अध्ययनपश्चात् नै आयात प्रतिबन्ध खुला भएको अनुमान सर्वसाधारणले गर्न सक्छन्। यो आयात प्रतिबन्ध खुला गरिएसँगै मुलुकको वैदेशिक मुद्रा सञ्चितिमा पूर्ववत् दबाब सिर्जना नहुने तथ्यमा पनि सरकारले मुलुकबासीलाई आश्वस्त पार्न सके अझै बढी उपयुक्त हुने देखिन्छ। बढ्दो ब्याजदर तथा वर्तमान मौद्रिक नीतिका कारण उद्योग, व्यवसाय सञ्चालनमा सकारात्मक वातावरण नरहेको तथ्यप्रति मुलुक गम्भीर छ।
कार्यकारी प्रमुखले अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रका समस्याको सम्बोधन हुने स्पष्ट पारिसकेको सन्दर्भमा आउँदा दिनमा अर्थतन्त्र चलाएमान बनाउन थप नीतिगत सुधार अगाडि आउन सक्ने देखिन्छ। आर्थिक तथा सामाजिक दृष्टिले नेपाल अझै पछाडि नै छ। यो परिवेशमा उच्च मोलका गाडी, महँगा मोबाइल फोन, उच्च शक्तिका मोटरसाइकल तथा महँगा विदेशी मदिरा मोह प्रवृत्ति उत्पादनमूलक अर्थतन्त्रको आयाम भने होइन। सरकार तथा सम्बन्धित निकायबाट नेपालीलाई यी महँगा तथा विलासी वस्तुको खरिदको साटो उत्पादनको स्रोतमा लगानी गर्ने नीतिलाई दीर्घकालीन रूपमा प्रोत्साहन गरिनु पर्छ। अर्थतन्त्रमा आन्तरिक उत्पादनमा जोड दिने गरी नीतिगत सुधार हुँदा लगानी बढ्छ। लगानीले रोजगारी सिर्जना गर्छ भने उत्पादन बढेर अर्थतन्त्रमा अवसर सिर्जना हुन सक्छन्। निर्वाचन सम्पन्न भएको छ र अब चाँडै नयाँ सरकारले कार्यभार सम्हाल्ने छ। यस सन्दर्भमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दीर्घकालीन नीतिसमेत अपेक्षित छ।