• ११ असोज २०८१, शुक्रबार

३५ दिनभित्र सरकारी तथा निजी संस्थाका कार्यालय परिसर सफा राख्न आग्रह

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, मंसिर २१ गते । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी संस्थाहरूलाई ३५ दिनभित्र कार्यालय परिसर र शौचालय सफा राख्न आग्रह गरेको छ । 

महानगरपालिकाको वातावरण तथा कृषि विभागले बुधबार सूचना निकाल्दै सरकारी तथा निजी संस्थाहरूलाई आफ्नो कार्यालय परिसरको फोहोरमैला आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न आग्रह गरेको हो । 

सबै कार्यालय परिसरमा नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्राकृतिक फाहोरमैलाले सिङ्गो सहरको सुन्दरतामा ह्रास आएको जनाइएको छ ।  

“फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानुनी कर्तव्य हो । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा फोहोरमैला व्यवस्थापन नियमावली, २०७० को कानुनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।” सूचनामा उल्लेख छ । 

त्यसो नगरेमा अनुगमन गरी कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । साथै, फोहोरमैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गरिने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।