• १२ असोज २०८१, शनिबार

घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, मङसिर १८ गते । शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो । 

शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले भौगोलिक विकटता, ज्येष्ठ नागरिकहरू आफै स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार घरदैलो खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतका उपचार हुने गरेको छ । 

पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधी वितरण समेत गर्दैआएको छ । वर्षमा चार पटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । 

गम्भीर समस्या भएको ज्येष्ठ नागरिकलाई थप उपचारका लागि सल्यान जिल्ला अस्पतालसम्म लग्न  निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगरपालिकाले जिल्ला अस्पतालमा लगिएका बिरामीको उपचार खर्च समेत व्यहोरिरहेको छ ।

पालिकाका १५ वडामा झन्डै दुई हजार ७० वर्ष माथिका ज्येष्ठ नागरिक छन् । शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले पालिकाभरिका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् र  सामान्य उपचारका लागि कष्ट उठाउन नपरोस् भनेर घरमै स्वास्थ्य परीक्षण गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घ रोगको समस्या बढी देखिएकाले खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको हमालले बताउनुभयो ।