• १२ असोज २०८१, शनिबार

ठेकेदारले आयोजनाको चाबी नबुझाउँदा पानी रोकियो

blog

बैतडी समाचारदाता

पाटन (बैतडी), मङ्सिर १८ गते ।  निर्माण व्यवसायी (ठेकेदार)ले खानेपानीको चाबी नबुझाउँदा बैतडी–पाटन नयाँ सहरका ६४४ वटा धाराको पानी रोकिएको छ। १३ करोड रुपियाँ खर्च गरेर निर्माण भएको सहरी खानेपानीको भुक्तानी नपाउँदा खानेपानी ट्याङ्कीमा छ महिनादेखि ठेकेदारकै तालाचाबी रहेको छ। पानीको समस्याका कारण नयाँ सहरको होटल व्यवसाय चौपट भएको होटल सञ्चालक करन महराले बताउनुभयो। सुर्नया नदीबाट मासिक ३० हजारको पानी बोकेर होटल सञ्चालन गर्नु परेको उहाँले पीडा सुनाउनुभयो। 

पानी नहुँदा पाटन काकाकुल बनेको स्थानीय केशव खत्रीले बताउनुभयो। पाटनमा आपूर्ति हुँदै आइरहेको ४० वर्ष पुरानो खानेपानीको मुहानमै पानी नहुँदा पानी भर्न नपाएको उहाँले बताउनुभयो। दुई वर्ष लगातार उधारोमा काम गरेको र जेठमा सहरी खानेपानीको काम सकिए पनि भुक्तानी नपाउँदा चाबी हस्तान्तरण नगरेको निर्माण कम्पनीका ठेकेदार दानसिंह रावलले बताउनुभयो। 

निर्माण व्यवसायी रावलले भन्नुभयो, “समयमै आयोजना निर्माण गर्दा पनि भुक्तानी पाइएको छैन। ठूलो जनशक्ति परिचालन गरेर ८० हजार लिटरको एक, ६० हजार लिटरको दुई, ४० हजार र ५० हजार लिटरको गरी पाँचवटा ट्याङ्की निर्माण भएका छन्। खानेपानी आयोजनाको कार्यालय, सुरक्षा गार्ड बस्ने घर र बाटोको कामसमेत सकिएको छ तर भुक्तानी मिलेको छैन।” 

पाटन नयाँ सहरमा खानेपानी आपूर्ति गर्न सुर्नया नदीबाट २५ हर्सपावरका दुईवटा विद्युतीय मोटर जडान गरेर दैनिक दुई लाख ३० हजार लिटर पानी वितरण गर्ने लक्ष्यका साथ सहरी खानेपानी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष छविराज जोशीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “खानेपानी भण्डार, शुद्धीकरण र वितरण गरेर पाँचवटा ट्याङ्की निर्माण भएका छन्। नगरपालिकाबाट यही मङ्सिरभित्र ठेकेदारलाई भुक्तानी दिने कुरा आएको छ। धारामा मिटर जडानको काम चलिरहेकाले मङ्सिर महिनाभित्रै नगरवासीको धारामा पानी झर्छ।”  छेउमै सुर्नया नदी बगे पनि खानेपानीको हाहाकार झेलिरहेको बैतडीको पाटन नयाँ सहरमा १३ करोड रुपियाँको लागत बृहत् खानेपानी योजना सम्पन्न हुँदा खुसी देखिएका उपभोक्ता धारामा पानी नआएपछि निराश छन्। 

सङ्घीय सरकारको सहयोगमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना सञ्चालन भएपछि पाटन नयाँ सहरको विकासमा टेवा पुग्ने उपभोक्ता वसन्त विष्टले बताउनुभयो। पाटनमा भीमदत्त प्राविधिक शिक्षालय, प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, सिँचाइ डिभिजन, भेटेरिनरी अस्पताल, पाटन बहुमुखी क्याम्पस, नयाँ सहरको कार्यालय, एयरपोर्ट, नगरपालिकाको कार्यालय गरेर १३ भन्दा बढी विभिन्न सेवाप्रदायक कार्यालय र शैक्षिक संस्था छन्। पाटन नयाँ सहरमा सरकारले थप एक लाख जनसङ्ख्या बसोबास गर्न मिल्ने गरेर नयाँ सहर आयोजनाको काम अघि बढाइरहेको छ।