• १२ असोज २०८१, शनिबार

आर्थिक समृद्धि र रोजगारी सृजना प्राथमिकतामा छ: सञ्चारमन्त्री कार्की

blog

सचिन पोख्रेल

इटहरी, मङ्सिर १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सृजनाको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियान आगामी सरकारको प्राथमिकतामा पर्ने मन्त्री कार्कीको भनाइ छ ।

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित हुनुभएका नेपाल सरकारका प्रवक्ता कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसको १२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो भनाइ राख्नुभएको हो ।

नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री कार्कीले आगामी सरकार कांग्रेस नेतृत्वमा वर्तमान सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनकै बन्ने उल्लेख गर्नुभयो ।

आफू लोकतान्त्रिक बाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने बताउनुभयो । 

मुलुकको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्त्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ ।

उहाँले शिक्षाको विकास र विस्तारका लागि सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । 

सुनसरी ४ बाट सर्वसाधारणले आफूलाई दोस्रो पटक विजय गराएको बताउनुहुँदै मन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा विगत पाँच वर्षमा शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिक विकास गरेको र आगामी दिनमा पनि सर्वसाधारणको अपेक्षा अनुरूप गरिबी निवारण र रोजगारी सिर्जना अभियानमा काम गर्ने प्रतिविद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले कृषि प्राविधिक विषयको अध्यापन गराउने सन्दर्भमा क्याम्पसले पहल गर्नुपर्ने बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिकी अध्यक्ष सुशिलादेवि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।