• १२ असोज २०८१, शनिबार

काभ्रेपलाञ्चोकमा समानुपातिकतर्फ एमाले ठूलो दल

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर १७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ । मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेको छ । 

निर्वाचनको समानुपातिकतर्फको मतगणनाअनुसार जिल्लामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र नेकपा एकीकृत समाजवादी पार्टी पाँचौँ पार्टी बनेको छ ।

समानुपातिकतर्फको मतगणनाअनुसार एमालेले जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभातर्फ धेरै मत ल्याएको छ । नतिजाअनुसार एमालेले जिल्लाको दुई प्रतिनिधि सभामा गरी ५८ हजार ७८४ मत, नेपाली कांग्रेसले ४८ हजार ३११ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले २६ हजार ६१८ मत प्राप्त गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले दुवै क्षेत्रमा गरी २५ हजार २६१ मत, नेकपा एकीकृत समाजवादीले आठ हजार ९८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार २२१ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ४८५ मत प्राप्त गरेको छ भने समानुपातिकतर्फ रहेका ४७ दलमध्ये सात दलबाहेक अन्य ४० वटा दलले एक हजार मत समेत कटाउन सकेका छैनन् । 

यसैगरी जिल्लाको दुई प्रतिनिधि सभा अन्तर्गतका प्रदेश सभाको समानुपातिक तर्फको मतगणना अनुसार जिल्लामा एमालेले ६४ हजार ८७२ मत, नेपाली कांग्रेसले ५२ हजार १२२ मत र नेकपा माओवादी केन्द्रले २६ हजार ३३७ मत प्राप्त गरेको छ ।

त्यसैगरी, प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ७३३ मत र नेकपा एकीकृत समाजवादीले दश हजार ९८९ मत मात्रै प्राप्त गरेको छ ।

जिल्लामा प्रतिनिधि सभातर्फ नेकपा माओवादीलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा पुगेको छ भने प्रदेश सभातर्फ एकीकृत समाजवादीलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो दलको रूपमा छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा जिल्लामा नेकपा एमालेले प्रतिनिधि सभा २ मा मात्रै विजयी भएको छ भने नेपाली कांग्रेसले दुई वटा प्रदेश सभा सदस्य, नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा एउटा र प्रदेश सभा (क)मा एउटा र नेकपा एकीकृत समाजवादीले एउटा प्रदेश सभा सदस्यमा विजयी भएको छ ।