म बुकी फूल, अविश्राम देखिरहेछु सामुन्नेमा
गीतका आलापहरूलाई परेलाको तुवाँलोले पुरिदिएको छ
ठिही जमेको छ आँखामा
र, बगेको छ गीतमा मिसिएर
उज्यालोमा भुन्भुनाउने जीवका आहार बने कि ध्वनिहरू !
निलिमा बग्दैन वारपार
जङ्घार सुकेको छ,
एकलासमा सुसाइरहेछन् आदिम आलापहरू,
हिउँका अनगन्ती वर्षाद्हरू पिउँदै
स्याँठ र सिरेटोका तिखा चुटाइहरू थाप्दै,
तिर्मिराइरहेको, चकमन्न चिसो रातको दोसल्ला ओडेर
म, बुकी फूल जाग्राम उभिएको छु ।
उम्रँदा उम्रँदै देखेथेँ पहिल्यै
प...रको रङ्गीन क्षितिजलाई
वरवर गर्दै नजिक नजिक आइरहेको
त्यो कहिल्यै मसम्म आइपुगेन,
उभिँदा उभिँदै देखेथेँ
पताका टाँगेजस्तो डिलदेखि डिलसम्म,
कावा खाइरहेका क¥याङकुरुङको सुन्दर लहरो
त्यसले कहिल्यै मलाई छोएन
सुनेथेँ टाढैबाट, केही बेर–
त्यसको सुरम्य कोरस आवाजलाई
त्यो सुन्दर ताँती
कति बेला भुइँकुइरोमा बेरियो कुन्नि !
मसम्म आइपुगेर त्यसले मिठो विश्राम बिसाउनै पाएन,
तुषारोमा लपेटिएको ख्याउटे कायामा थेगिँदै
निर्दयी हातहरूद्वारा चुँडिदै, निमोठिँदै, फेरि पलाउँदै
अनन्तदेखि नियतिको अन्तहिन आघात सहँदै
म बुकी फूल बेवारिस फुलिरहेछु ।