• १२ असोज २०८१, शनिबार

ग्रेडरले कुल्चिदा छात्राको मृत्यु

blog

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्दै विद्यालयका विद्यार्थी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १५ गते । कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत धनगढी –५ तारानगरकी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका –५ हसनपुरस्थित पीपलचौतारा नजिक बाटो कालोपत्रे गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडर लेवल मिलाउँदै ब्याक गर्नेक्रममा साइकलयात्री छात्रालाई कुल्चेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग्रेडरले कुल्चिदा घटनास्थलमै विद्यार्थीको ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ग्रेडरचालक भरतपुर नगरपालिका चितवनका २८ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, ग्रेडर पनि प्रहरी नियन्त्रणमा रहेको छ । ग्रेडरले कुल्चेर छात्राको मृत्यु भएपछि पञ्चोदय स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

दोषीलाई कडा कारबाहीको माग गर्दै पीपलचौतारा क्षेत्रमा प्रदर्शन गरेका छन् । मृतकको शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।