• १३ असोज २०८१, आइतबार

पार्टीभित्र अन्तर्घात गर्ने जोसुकै भए पनि कारबाही हुन्छ: ढुङ्गाना

blog

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आन्नदप्रसाद ढुङ्गाना । तस्बिर: विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, मङ्सिर १५ गते । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने बताउनुभएको छ । बिहीबार धनुषाको लक्ष्मीनियामा आयोजित कांग्रेस कार्यकर्ताको भेलामा उहाँले अन्तर्घात गरेर पार्टीलाई हराउने जुनसुकै तहका नेता तथा कार्यकर्ता भए पनि कारबाही गरिने जानकारी दिनुभयो । 

पार्टीभित्र अन्तर्घातकै कारण धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले पराजय व्यहोर्नु परेको बताउनुहुँदै संयोजक ढुङ्गानाले अन्तर्घातीलाई कारबाही नभएसम्म चुनाव जित्न नसक्ने भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘अन्तर्घात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन,  कारबाही नभएसम्म पार्टी हार्दै जान्छ । अन्तर्घात गर्नेहरूको पहिचान गरी सूची तयार पारेर सिफारिस पठाउन वडा, नगर, क्षेत्र र जिल्ला कार्यसमितिका पदाधिकारीलाई संयोजक ढुङ्गानाले भन्नुभयो । 

त्यस्तै, धनुषा–४ नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झाले सम्पन्न आम निर्वाचनमा अन्तर्घात गर्ने तीन जनालाई पार्टीबाट निष्कासन गरिएको बताउनुभयो । उहाँले समिरि यादव, आनन्द यादव र अशोकसिंह सुवेदीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिनुभयो । 

क्षेत्रीय कार्यसमितिको बैठकबाट उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको र अनुमोदनका लागि प्रमाणसहित केन्द्रीय कार्यसमितिमा पठाइएको सभापति झाले बताउनुभयो ।