• १३ पुस २०८१, शनिबार

काफ्काको दोहोरो कायाकल्प

blog

फ्रान्ज काफ्काले ‘द मेटामर्फोसिस’मा आफ्नो पात्र ग्रेगोर साम्सालाई घिनलाग्दो कीरोमा बदलिदिए । तर कीरोबाट मान्छेमा बदल्न सकेनन् । नाक चुच्चे अनि ख्याउटे तिनै काफ्का ग्रेगोर साम्साको मानवीय अस्तित्व फर्काउन नसकेको गहिरो पश्चात्तापबोध अनि विश्वका कुनै लेखकको आत्मामा पसेर मान्छेबाट कीरो अनि कीरोबाट मान्छेको दोहोरो कायाकल्प गराउने ध्याउन्नमा भड्किरहेका भेटिन्छन्, राजवकृत आख्यान, ‘काफ्काको काम सकियोे’मा । 

एकछिन ग्रगोर साम्सासँगै परिचय गरौँ । बीसौँ शताब्दीको काफ्काकृत क्लासिक अनि ‘मोस्ट भोटेड’ उपन्यास ‘द मेटामर्फोसिस’ (सन् १९१५) को प्रमुख पात्र साम्सा लुगाफाटाको नमुना देखाउँदै एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्ने घुमन्ते व्यापारी हो । एक बिहान अनौठो सपनाबाट ब्युँझँदा उसले आफूलाई ओछ्यानमै अजङ्गको कीरोका रूपमा पाउँछ । कीरो बनेपछि नोकरीमा निस्कन सक्दैन । कीरोमा कायाकल्प भएपछि उपेक्षा र पीडाका दुःखदायी दिनहरू सुरु हुन्छन् । कीरोबाट मान्छे बन्न नपाउँदै उसको इहलीला सकिएको छ ।

चेकस्लोभाकियाको राजधानी प्रागको जर्मनभाषी यहुदी परिवारमा जन्मेका फ्रान्ज काफ्काकै जीवन–वृत्तान्त मानिएको ‘द मेटामर्फोसिस’ मा मानवीय विदू्रपता, तिरस्कार, एकाङ्कीपन अनि विडम्बनाको कारुणिक कथा छ । राजवकृत ‘काफ्काको काम सकियोे’मा काफ्का मात्र नभएर ग्रेगोर साम्सा पनि पात्र छन् । अझ भनौँ, काफ्काको एक शताब्दी पुरानो असाधारण कथालाई राजवले ‘काफ्काको काम सकियोे’लाई असली निष्कर्षमा पु¥याएका छन् । ओछ्यानमै पल्टिरहने ठूलो कीरा होइन, चेतना र उड्ने क्षमतासहितको साङ्लोको रूपमा । 

अब अलिकति कथामै जाऊँ । उपन्यासको प्रमुख पात्रका रूपमा छ, रामदुलार भेडिहर । बाराको बन्जरिया घर भएको रामदुलार डलर कमाउने अनि घरपरिवारलाई सुख दिने लालसासहित तीन वर्षदेखि अमेरिकी दूतावास धाइरहेको छ । तर अमेरिकी भिसाका लागि सातौँ पटकको प्रयास पनि खेर जान्छ । भिसा काउन्टरको क्लर्क भन्छ– तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी । तपाईं फर्कनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, सरी । 

दूतावासबाट उदास, निराश र आत्महत्या गर्ने हतास मनस्थितिमा फर्किरहेको त्यो युवकको भेट त्यसै बेला ट्रायल, अमेरिका, ‘मेटामर्फोसिस’का लेखक काफ्कासँग हुन्छ । पख पख भनेर बोलाउने काफ्काको भेटले उपन्यासलाई रोमाञ्चक मोड दिएको छ । ‘काफ्काको काम सकियो’मा काफ्का अनि ग्रेगोर साम्सा दुवै पात्रका रूपमा हाजिर छन् । 

दुःख र अपमानको जति भुक्तमान पाए पनि अमरिका नगई नछाड्ने अडानका बीच काफ्काले अमेरिका छिर्ने अचुक उपाय दिएको छ– त्यसका लागि तिमी साङ्लो बन्न तयार हुनुपर्छ । अमेरिकाका लागि साङ्लोको के कुरा ! बाघ, भालु, कमिलो, अजिङ्गर, गँड्यौलो जे बन्न पनि तयार छ रामदुलार । 

अमेरिकी कूटनीतिज्ञको ब्रिफकेस, कोटको खल्ती, लगेज वा त्यस्तै केहीमा घु्सेर सजिलै अमेरिका पस्न सक्छौँ भन्ने चामत्कारिक सुझाव पाएको छ उसले । तर त्यसका लागि गेग्रोर साम्सालाई भेट्नुपर्ने हुन्छ रामदुलारले । एमए पास गरे पनि काफ्का, ‘मेटामर्फोसिस’ र गेग्रोर साम्सा कसैलाई नचिनेको उसले उपन्यास पढीवरि साङ्लाकल्पमार्फत दूतावासको अधिकारी जेम्स एन्डरसनको सुटकेसमा घुस्रिएर अमेरिकाको यात्रा तय गर्छ । अब उसका लागि काफ्का सत्य हो, जगत मिथ्या हो । 

देहाती गाउँको रामदुलार भेडिहर मात्र होइन, काठमाडौँको काँठको पर्वतरमण उपाध्याय पौडेल पनि अमेरिका जान मेरिमेटेर लागेको छ । पाँचौँ पटकसम्म अमेरिकी भिसा नपाएपछि घरेलु तिरस्कारको सामना गरेको डबल एमए पर्वतरमणले पनि काफ्काबाटै वरदान पाएको छ । 

दूतावासलाई ढाँट्न सिपालु भइसकेको ऊ भन्छ– घुम्न जान लागेको अमेरिका । क्लर्कले ठाडै भनिदिएको छ– तपाईं आफ्नै देशको रारा जानुस्, मुस्ताङ जानुस्, अमेरिका किन जाने ? अन्ततः काँठे पर्वतरमण पनि यूएसएड अफिसरको सुटकेसमा लुकेर पाताल प्रवेश गरेको छ ।

काँठको पर्वतरमण होस् वा बाराको रामदुलार, समयको क्रूरताबाट प्रताडित विवश पात्रहरू हुन् । गरिबी, बेकारी, उकुसमुकुस, राजनीतिक अस्थिरता, अस्तव्यस्तता, असुरक्षा आदि जल्दाबल्दा समस्याका कारण आजका युवा सताइएका छन्, बिथोलिएका छन् । त्यसबाट मुक्तिका लागि बिदेसिनै पर्ने युवा मनोविज्ञान छ ।

त्यति मात्र नभएर देखासिकी वा लहैलहैमा ज्यान खतरामा राखेर भए पनि अमेरिका भिसाको लाइनमा बस्नु सामान्य भइसक्यो । ‘काफ्काको काम सकियोे’ले यसैलाई मुख्य भावभूमि बनाएको छ । उनीहरू कसरी स्वप्नभूमिमा पुग्छन्, अनि त्यहाँ कसरी भेट हुन्छन् ? त्यहाँको जीवन सङ्घर्ष कस्तो छ र दुई साङ्लो कसरी नक्कली राजनीतिक पीडित बनेर शरणार्थीका रूपमा बसोबास अनुमति लिन सक्छन् कि सक्दैनन् भन्ने थाहा पाउन चाहिँ उपन्यासै छिचोल्नुपर्ने हुन्छ । 

जसरी ‘मेटामर्फोसिस’ काफ्काको असामान्य परिकल्पना हो, ‘काफ्काको काम सकियोे’ पनि राजवको त्यस्तै एउटा आख्यान उचाइ हो । सदैव प्रयोग रुचाउने यी लेखकले काफ्कालाई पहिलो पटक अमेरिका पु¥याएका छन् । भनिन्छ, काफ्काले अमेरिका नपुगीकन 

‘अमेरिका’ नामक आख्यान लेखेका थिए । यस अर्थमा यो विस्मयको कथा हो । मानवीय मूल्यको अविराम खोजी हो । विसङ्गतिको एउटा उत्कर्ष हो । साङ्लो मान्छे र मान्छे साङ्लो बनेको तिलस्मी अनि अद्भुत कथा हो । 

नेपाली साहित्यकै प्रतिभा सम्पन्न लेखक राजव काफ्काको लेखनशैली र चिन्तनबाट निकै प्रभावित देखिन्छन् । सामाजिक यथार्थ र स्वैरकल्पनाको घालमेलमा उनी रमाउँछन् । संवाद अनि चरित्रचित्रणमा उनी पारङ्गत छन् । मूच्र्छित मानवीय संवेदनालाई स्पर्श गरेको यो उपन्यास पाठकलाई आरम्भदेखि अन्त्यसम्म बाँध्न सफल छ । 

राजवको छैटौँ उपन्यास हो, ‘काफ्काको काम सकियोे’ । एटलान्टिक स्ट्रिट, भूमिगत लीला दुई हजार बत्तीस, मोटेल अमेरिका, बेकारीमा उपन्यास, सोटिट आदि उनका औधि रुचाइएका उपन्यास हुन् । खासमा उनलाई उपन्यासकार भने अमेरिकाले नै बनाइदियो । साहित्यिक विशिष्टता र कथ्य कौशलका दृष्टिले उनका आख्यान अब्बल छन् । 

सन् २००२ नोभेम्बरमा अमेरिका भासिएपछि उनको लेखन उर्वरिलो भएको सर्वविदितै छ । नेपालमा छँदा तीन कथा, एक व्यङ्ग्य र दुई कविताकृति निकालेका उनले अमेरिका गएपछि झन्डै दुई दर्जन कृति लेख्न भ्याए । उनका क्यापिटल हिल, कमरेड ड्राइभर, पाई आदि कथाकृति पनि नेपाली साहित्यकै प्राप्ति हुन् । 

भन्नै कर लाग्छ, ‘काफ्काको काम सकियोे’ नेपाली साहित्यकै एउटा ओजिलो आख्यान हो । यसमार्फत राजवले आख्यान साहित्यमा आफ्नो सामथ्र्य अनि गुणवत्ता स्थापित गरेका छन् । यो उपन्यास यति मार्मिक र तीक्ष्ण हुनुको एउटा कारण लेखकले नजिकबाट देखेभोगेका जीवन्त पात्रहरूका कारण पनि हुन सक्छ । कथ्य विस्तारमा फेन्टासीको प्रयोग जँचेको छ । यस उपन्यासमा काठमाडौँको काँठ, तराई मधेस र अमेरिकी परिवेशको कोलाज रमणीय छ । अमेरिका त भइहाल्यो । काँठको पात्रले उनको गाउँ डाँछी (काठमाडौँ) र मधेसको पात्रले उनको युवाकाल (बन्जरिया, बारा) को झलक दिन्छन् । नेवारी र भोजपुरी भाषाको मिठास पनि उपन्यासमा समेटिएको छ । 

पात्र र कथावस्तुका हिसाबले यो उपन्यास निकै छरितो र फुर्तिलो छ । पार्टटाइम कथावाचक छैनन् । व्यङ्ग्य, कटाक्ष र बक्रोक्तिले एकखालको ताजापन र रोचकता थपेको छ । शब्द प्रयोगमा त राजव जहिल्यै मितव्ययी लेखक हुँदै हुन् । उनको आख्यानकलाको प्रशास्ति जति गरे पनि हुन्छ ।