• १८ फागुन २०८२, सोमबार

सरोगेट मदर

blog

(भारतको उत्तर प्रदेशमा जन्मेकी रजतरानी मिनू स्वतन्त्र दलित लेखिका, आलोचकका साथै प्राध्यापक पनि हुन् । भारतको प्रसिद्ध जेएनयु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी रजतरानी मिनू खास गरी सामाजिक एवं महिला सम्बन्धित विषयमा कलम चलाउँछिन् । उनका हम कोन हैँ, सुनिता र मिट्ठुकी विरासत जस्ता कृति प्रकाशित छन् । उनी अम्बेडकर अवार्ड एवं दलित साहित्य अकादमीबाट विभूषित छिन् ।) 

साहेब राम्रोसँग परीक्षा गरिदिनुहोला । यस्तो हुनै सक्दैन मेरी छोरीलाई । फूलमतीले आफ्नी छोरी चन्दोलाई कहाँ कहाँ लगिन् देखाउन । गाउँका नामी सुँढेनी, धामीझाँव्रmी, तान्त्रिक, नर्स, वैद्य सबैकहाँ लगी उसले तर केही फाइदा भएको थिएन । सबैले अलमल्याए मात्रै फूलमतीलाई । त्यसपछि ऊ चन्दोलाई लिएर ठुला ठुला डाक्टरकहाँ पनि पुगी तर डाक्टरले उसलाई एकै खाले जवाफ दिए ।

फूलमती, तिमी यस जन्ममा चन्दोको बच्चाको हजुरआमा बन्न सक्दिनौ । भगवान्ले उसको कोख नै बनाउन बिर्सेछन् । पहिलोचोटि यस्तो कुरा फूलमतीलाई ठट्टा जस्तो लागेको थियो । एकाएक आँखासामु अँध्यारो छायो । उसलाई यस्तो लाग्यो, पृथ्वी घुम्दै छ । जसोतसो उसले आफूलाई समाली । ऊ आफ्नो विवशता डाक्टर विन्दुसामु राख्दै थिई, “डाक्टर साहिबा, मेरी छोरीको बिहे भएको पनि चार वर्ष बितिसक्यो । यसकी सासू दिनहुँ खिसीट्युरी गर्छिन् । धम्काउँछिन् । यत्तिका वर्षसम्म एउटा बच्चा जन्माउन सकिन तिम्री छोरीले । बारम्बार सम्धिनीको यस्ता वचन सुन्दा सुन्दा फूलमती थाकिसकेकी थिई । योचोटि त उनले फूलमतीलाई चेतावनी पनि दिएकी थिइन् । म अब पर्खिन सक्दिनँ । वंश चलाउनकै लागि पनि म सुखिरामको दोस्रो बिहे गराइदिन्छु । केही भन्न पाउनुहुन्न नि सम्धिनीज्यू, अहिल्यै भन्देको छु ।”

सम्धिनीको चेतावनी याद गर्दा फूलमतीका कान टट्टाइसकेका थिए । अन्नपात बेचेको पैसा र चन्दोलाई लिएर ऊ मुम्बईको कलावती अस्पताल आएकी थिई केही न केही उपाय अवश्य निस्केला भन्ने आसले । यही अस्पतालमा उसले अरूको खुसीका लागि तीनचोटि पेट बोकेकी थिई । ऊ डाक्टर विथा शुक्लासित बिन्ती गरिरहेकी थिई, “डाक्टर साहेब, जसरी भए पनि मेरी चन्दोको कोख भरिदिनूस् ।” यति भन्दै ऊ पुराना कुरा याद गर्न थाली ।

डाक्टर विथाले भनेकी थिइन्, “फूलमती अब नाइँ नभन । हामीले मुम्बईको सबै गल्ली चहा¥यौँ । बडो मुस्किलले तिमीलाई फेला पा¥यौँ । तिमी जे जे माग्छौ हामी दिने छौँ । हामीलाई मद्दत गर ।” डाक्टरका कुरा उसले केही बुझिन । सबैका आँखा उसैमाथि गडेको देखेर ऊ सोच्थी, यी मानिस को हुन् ? किन आएका हुन् ? ऊ चुप थिई । डाक्टर विथा बोलिन्, “फूलमती तिमी राजी छ्यौ हैन ? हिँड हामीसित ।”

तर कहाँ र किन ?

उसको मनमा शङ्का उठ्यो । डाक्टर विथा पूरा तयारीका साथ आएकी थिइन् । उनी योचोटि स्पष्ट बोल्दै थिइन्, “फूलमती नडराऊ, डराउनु पर्दैन । खासमा भन्नु पर्दा हामीलाई बच्चा जन्माउन सक्ने महिलाको खाँचो छ, भनाइको मतलब स्वस्थ र जवान महिला ।” सँगै आएका दम्पतीतर्फ इसारा गर्दै भनिन्, “यिनीहरूलाई मद्दत गर्नु प¥यो तिमीले । यो ठुलो पुण्य आर्जन गर्ने मौका छ । यी विदेशीसित प्रशस्त सम्पत्ति छ तर सन्तान नभएर ठुलै सन्तापमा छन् । अहिलेसम्म यिनको बच्चा भएको छैन । तिमीले यिनीहरूको मद्दत गर । सात समुद्रपारिबाट आएका हुन् । जिन्दगीभर तिम्रो याद गर्ने छन् ।” 

तिनीहरूको कुरा सुनेर उसले यति मात्रै भनेकी थिई, “साहेब हामी गरिब मान्छे हौँ । गाउँमा हामी अछुतले छो्रएको कसैले खाँदैन । त्यसैले आफ्नो घरबार छाडेर सडकमा आइपुगेका छौँ । हाम्रो आफ्नै चार चार वटा बच्चा छन् । अरू बच्चा चाहिएको छैन हामीलाई ।” जाँदाजाँदै डा. विथाले सम्झाएकी थिइन्, “फूलमती, विचार गर, अहिले हामी जान्छौँ । भोलि फेरि आउँला ।”

ऊ आफ्नो अतीतको जिउँदोजाग्दो सिनेमा आफ्नै आँखाले हेरिरहेकी थिई । आज उसको र आफ्नै छोरी चन्दोको विवशताले थिचिएकी थिई । मुम्बईको नाउँ चलेको अस्पतालमा ऊ बिनारोकतोक आउजाउ गर्थी । डाक्टर, नर्स, गार्ड, सबैले उसलाई सम्मान गर्थे ।

ऊ पुनः सोच्न थाली, आज म आफ्नी छोरीको समस्या लिएर डा. विथा शुक्लाकहाँ आएकी छु । जतिसुकै बिन्ती गरे पनि उनी रुखो जवाफ दिन्छिन् । हामी केही गर्न सक्दैनौँ । तिम्री छोरी आमा बन्न सक्दिन । त्यसैले मेरो समय बर्बाद नगर । फूलमतीका सामु एउटै उपाय थियो । डाक्टरको पाउ छोएर उसले भनेकी थिई, “डाक्टरसा’ब, चन्दोको लोग्नेले यदि अर्को बिहे गरे भने मेरी छोरी कहाँ जाली ? के गर्ली ? के अमेरिकी गोरी महिला, ठकुरी महिला र सिनेमाको हिरोइनले जस्तै मेरी छोरी पनि आमा बन्न सक्दिन ?” डा. विथाले उसको मनसाय बुझेकी थिइन् । तल्लो जातको मान्छेले ठुलो कुरा गरेको उनलाई मन नपरे पनि उनले जातीय अहम् लुकाउने असफल प्रयास गर्दै भनेकी थिइन्, “फूलमती तिमी यो के भन्दै छौ ? थाहा छ तिमीलाई । यो उपचारमा लाखौँ खर्च लाग्छ । तिमी दिन सक्छ्यौ ?”

फूलमतीले भनेकी थिई, “डाक्टरसा’ब तपाईंले नै मलाई चार चारचोटि सरोगेट मदर बनाउनुभएको थियो । त्यति धेरै पैसा त लागेको थिएन त । खानपिनका लागि भनेर १५ हजार दिनुभएको थियो । घरबारी सबथोक बेचेर २०÷२२ हजार जति बन्दोबस्त गर्न सक्छु म चन्दोका लागि ।” एक सासमा उसले भनेकी थिई । योचोटि डा. विथाले फूलमतीलाई सम्झाउने प्रयास गरेकी थिइन्,

“फूलमती यो विधि ज्यादै महँगो छ । डिम्ब र शुव्रmाणु किन्न र सरोगेट मदरको नौ महिनासम्म जाँच गर्न धेरै पैसा लाग्छ ।” फूलमतीले पुनः आफ्नो मनको शङ्का जाहेर गरेकी थिई, “डाक्टरसा’ब, चारचोटि म तपाईंको अस्पतालमा बच्चा जन्माउने मेसिन बनेकी छु । हामीलाई आपत् परेका बेला हाम्रो पनि कुरा सुन्नु पर्छ तपार्इंले ।” यति भन्दै उसले डाक्टरसामु दुवै हात जोडेकी थिई ।

“डाक्टरसा’ब एक पटक हामीमाथि दया गर्नूस् । म र मेरी छोरीतिर हेर्नूस् । हामी रित्तो हात जाँदैनौँ,” फूलमतीको चट्टानी अडान देखेर डा. विथाको हृदय थोरै भए पनि पग्लिएको थियो । 

त्यतिबेला डाक्टरले यति मात्रै भनेकी थिइन्, “शान्त होऊ फूलमती, चाहेर पनि म तिमीलाई मद्दत गर्न सक्दिनँ । तिम्रो बारेमा म आफ्नो सिनियर डाक्टरसित कुरा अवश्य गर्ने छु । उनले मानेछन् भने पनि सरोगेट मदर बन्न को नै राजी होला र, भन त !”

डाक्टरको कुरा सुन्नेबित्तिकै सानो बालक जस्तै खुसी हुँदै बोलेकी थिई, “डाक्टरसा’ब म छँदै छु नि । आजसम्म मैले अर्काको बच्चा कोखमा पालेकी थिएँ । अब म आफ्नी चन्दोको बच्चा आफ्नो कोखमा पाल्छु । ऊ यति उत्साहित थिई कि तेस्रो सरोगेसी बच्चाको पालामा सिनियर डाक्टरले दिएको चेतावनी पनि बिर्सेकी थिई । त्यसैले डा. विथाले उसलाई याद दिलाउँदै भनिन्, “अब उप्रान्त तिमी आफ्नो कोख भाडामा लगाउन सक्दिनौ । पहिल्यै तिम्रो चार÷चार वटा बच्चा भइसकेको छ । मेसिनका कारण तिम्रो कोखमा धेरै छिद्र भइसकेको छ ।” 

चन्दो बाहिर आमालाई पर्खिरहेकी थिई । बिहान १० बजेदेखि बसेको मिटिङ १ बज्दा पनि सकिएको थिएन । एकचोटि जाँच्न उसले ढिपी गरिरहेकी थिई । न कुनै चमत्कार भइ पो हाल्छ कि भन्ने उसको आस थियो । डा. विथा झुक्न बाध्य भइन् किनकि ऊ पुरानो ग्राहक थिई । मोटो रकमको स्रोत बनेकी थिई कुनैबेला । उसको आग्रहलाई टाल्न नसकेपछि जाँच गरियो । जाँचिसकेपछि डाक्टरले उसलाई सम्झाएका थिए, “तिम्रो शरीर निकै कमजोर भइसकेको छ । शरीरमा रगतको कमी छ । यता तिम्रो उमेर पनि ढल्किसकेको छ । यस्तो अवस्थामा हामी जोखिम उठाउन सक्दैनौँ जसले गर्दा तिम्रो ज्यानलाई खतरा होस् ।” यसरी फूलमतीका सारा प्रयत्न असफल भएका थिए । भदौको महिना निकै गर्मी थियो । अचानक हावा जोडले बहन थाल्यो । फूलमतीलाई खलखल पसिना आइरहेको थियो । उसको मुटुको धड्कन तेज हुँदै थियो । छोरीको असुरक्षित भविष्यको डरले ऊ भयभीत थिई । 

फूलमती बाहिर निस्किनासाथ चन्दोले सोधी, “डाक्टरले के भनिन् त आमा ?” फूलमती न केही बोलिरहेकी थिई, न त केही सुनिरहेकी नै थिई । ऊ अस्पतालको प्रतीक्षालयमा राखिएको कुर्सीमा बस्नासाथ बेहोस् भएर डङ्ग्रङ्ङ लडी । उसका आँखामा एकपछि अर्को सम्झनाका रिल घुम्न थालेका थिए । ऊ लगातार तीन वटा बच्चाको ‘सरोगेट मदर’ बनेकी थिई । उसका साथी र छरछिमेकीले केकेसम्म भनेनन् उसलाई, “तँ कस्ती आइमाई हो ? कसको पाप बोकेर हिँडेकी यो, भन् त ?” उसको लोग्ने र छरछिमेकी पनि टाढिँदै थिए । भोकभोकै बस्थी । 

ऊ फेरि अतीतमै फर्की, बच्चा जन्मेपछि उसको छातीमा दुध गान्नियो । उसलाई शान्ति मिलेको थियो । आफ्नै बच्चा जस्तो माया लाग्न थालेको थियो । त्यो गोराको बच्चा भए पनि नौ महिनासम्म गर्भमा राखेकी थिई उसले । डा. विथाले लिखित सम्झौता पढेर सुनाएकी थिइन्, “फूलमती, यो बच्चा तिम्रो होइन, जन्मेपछि तिम्रो हक लाग्ने छैन । गोरा दम्पतीले चाहेको बेला बच्चा दिनु पर्छ ।”

बच्चा जन्मिनासाथ उसको रुवाइ मेरो कानमा परेको थियो । आफ्नै बच्चा रोए जस्तो लागेको थियो मलाई । डा. विथाले गोरा दम्पतीलाई छोरी जन्मेकामा बधाई दिइन् । त्यतिबेला मलाई सबैले बच्चा पाउने मेसिन, लोभी आइमाई, नाजायज सन्तान पैदा गर्दै छे, कुलको नाक काटी अनेक भनेर उडाएका थिए । सडकमा विदेशी बच्चा देख्नासाथ मलाई त्यही बच्चीको झलझली याद आउँछ । 

फूलमतीलाई ती बच्चाको एक÷एक याद आइरहेथ्यो, जसलाई उसले आफ्नो कोखमा राखेर रगतले सिँचेकी थिई तर आज ऊ आफ्नो गरिबी, आफ्नो विवशता र आफ्नो जातिलाई धिक्करिरहेकी थिई । जुन महिलाले संसारका महिलालाई खुसी दिन सकी, आज उसले आफ्नै सन्तानलाई खुसी दिन सकिन । धिक्कार छ यस्तो मेसिनलाई र यस्ता डाक्टरलाई र सबैलाई समान नभएको प्रणालीलाई । यो पनि बाहुनले बनाएको जातप्रथाको जस्तै पक्षपात गर्दै छ । 

लामो समयसम्म चुपचाप बसेको देखेर चन्दोले फूलमतीलाई झट्का दिँदै सोधी, “के भयो आमा ? डाक्टरले के भनिन् त ?” “केही भनिनन् नानी । भाग्य नै खोटो भएपछि कसैको केही सिप लाग्दो रहेनछ । मैले ठुलै सपना देखिँछु, जुन पूरा हुन सकेन ।” चन्दोले आमालाई सहारा दिएर उठाएकी थिई । ऊ निकै कमजोर भएको अनुभव गरिरहेकी थिई । 

अनुवादक ः बद्रीप्रसाद घिमिरे