• २१ फागुन २०८२, बिहिबार

जिन्दगीको दीर्घ समीकरण

blog

जीवन पानी जस्तो हो या हामी पानी जस्ता ? कि हामी नै पानी जस्तो हुनुपर्ने हो ? सुन्दा सामान्य जस्तो लागे पनि यो गम्भीर सोधाइ हो । आखिर जीवन पानी जस्तो कलकल बगिरहने कुरा हो कि जीवन कर्कलाको पानी हो ? जीवन सलल बगिरहने पानी हो, अथवा जीवन झर्झर झरिरहने झरना हो ? जीवन केवल एक पानीपोखरी हो या हो महासागर ? (भलै नदी र पोखरी सुक्न सक्छन् तर सागर कहिल्यै सुक्दैन), यद्यपि यसो भन्दैमा पोखरी र नदीको सुन्दरता कम हुँदैन, आकर्षण पनि हराउँदैन । के उसो भए यी नदी, यी पोखरी अथवा यो पानीले हाम्रो जिन्दगी जिउने बाटो र जीवनमा सफलताको मार्ग के हो भनेर पनि अभिव्यक्त गर्छन् त ? मूलबाट निःसृत भएपछि यिनले एक वा अर्को किसिमले अन्ततः सागरमा मिसिनका लागि जाँदासम्म बाटोमा आइपर्ने चट्टान, भँगाला, पोथापोथ्री, पहाड आदि सबैलाई पाखा लगाउँदै जानुपर्ने पाठ के मानवको जीवनमार्गका लागि पनि उस्तै हो भन्ने सन्देश दिइरहन्छन् त ? 

बेलाबखत म सोच्ने गर्दछु, जीवनमा सफल हुनु भनेको के हो ? र असफल हुनु भनेको के हो ? के कस्तो र कसलाई सफल भन्ने ? के कस्तो र कसलाई असफल भन्ने ? के कस्तो र कति कामकुरा गरे सफल होइन्छ ? के कस्तो र कति कामकुरा गरे (वा, नगरे पनि) असफल भइन्छ ? सफलता र असफलताको परिभाषा जे जसरी गरे गरिए पनि, निश्चय नै भन्न सकिन्छ, सफलता हासिल गर्नुभन्दा पहिले केही असफलता पनि बेहोर्नुपर्ने हुन्छ (अथवा हुन सक्छ) ।

यसको अर्थ सधैँभरि व्यस्त भइरहनुपर्छ र त्यसरी व्यस्त हुनु वा भइरहनुको अर्थ उत्पादनशील वा सिर्जनशील नै हुनु हो भन्ने चाहिँ हुँदैन । मैले मात्र होइन, आमतवरले सबैले जानेको सामान्य सत्यतथ्य हो, सफलता पाउनु छ भने त्यो सफलतासँग सम्बन्धित काम गर्नुपर्ने हुन्छ । यसो भनिरहँदा म एउटा प्रसङ्ग सम्झन्छु । “के चाला हो, जतिबेला पनि यो वा त्यो काम गर्नै सक्दिनँ भन्ने ? फिटिक्कै जाँगर नदेखाउने ? ए बाबा, सक्दिनँ भन्ने लाग्छ भने पनि यसो एकाध पटक गरेर त हेर्नु नि । आँट्दै नआँटी र काम गर्नुअगाडि नै नसरी कसरी थाहा हुन्छ, त्यो काम हुन्छ या हुँदैन, गर्न सकिन्छ या सकिँदैन भनेर !” गाउँमा नारान काका एक दिन आफ्नो छोरालाई भन्दै थिए । संयोग म उनलाई भेट्न त्यतै गएको बेला परेको थियो । 

नारान काकाको घरमा मात्र होइन, मैले अन्यत्र धेरै ठाउँ जाँदा र पुग्दा पनि यस्ता संवाद सुनेको छु, कहिले अलि नरम लबजमा त कहिले निकै कर्कश एवं कठोर भाषामा । आखिर मानिस त अनेक किसिमका, अनेक स्वभावका, अनेक प्रकृतिका र अनेक थरीका हुन्छन् । सबैमा उस्तै किसिमको जोस र जाँगर पनि हुँदैन । उस्तै खालको कार्यअग्रसरता पनि हुँदैन । तापनि हात नचलाईकन मुखमा माड लगाउन सकिँदैन भनेर नै होला, काम गर्न नखोज्ने वा काम गर्नबाट भाग्न खोज्ने प्रकृति भएकाहरूले यस्तै बोली सुन्नु पर्छ । कामबाट टाढिन रुचाउनेहरू कहिल्यै कतै पनि सम्मानका पात्र हुँदैनन्, बन्न पनि सक्दैनन् । मैले अक्सर सुनेको पनि र देखेको पनि छु, अनेक अनेक मानिस ‘यो काम त म भोलि मात्र गर्छु । आज केही गर्ने जाँगर छैन र त्यसकारण, केही गर्न पनि सकिँदैन’ भन्ने गर्छन् । खासमा यसो भन्नेहरू आलस्यका पुजारी हुन् । उनीहरूको त्यो भोलि हत्पति आउँदै आउँदैन । साँचो कुरा के हो भने आलस्यले मानिसको महत्त्वाकाङ्क्षा मारिदिन्छ, केही कामै नगर्ने बनाइदिन्छ । कुनै नौलो कामको चेष्टा गर्ने वा कुनै नयाँ फाँटतिरको जमर्को गर्ने इच्छाशक्ति र हुटहुटी नै समाप्त पारी दिन्छ । महìवाकाङ्क्षा नभएको मानिस सुतेको सागर जस्तो मात्र हो । यसो हुँदा व्यक्तिले गर्नुपर्ने र गर्न पनि सक्ने कर्मशील प्रयास अगाडि बढ्न सक्दैन । उसको आत्मोत्थानको मार्ग नै टाक्सिन पुग्छ । 

समस्या अर्को पनि छ । त्यो हो, संशय वा 

आशङ्का । यसले त झन् आत्मविश्वास नै मारिदिन्छ, मनभित्रको साहस नै खाइदिन्छ । सुन्नुभएको छ होला नि, “मनले माने जित, मनले हा¥यो भने हार ।” संशय वा आशङ्काले मानिसलाई असुरक्षित पनि बनाउँछ । नकारात्मक संशय वा आशङ्काको भावले सताइएका मानिस कर्मशीलताको बाटो समाएर जीवनलाई सफल बनाउनु पर्छ भन्ने तथ्य थाहा पाएर वा भएर पनि त्यसलाई अँगाल्न रुचाउँदैनन् । जीवनलाई सफल बनाउनका लागि यो र त्यो भनेर सफलताको कुनै सूत्र हुँदैन, केवल परिश्रम नै सफलताको एक मात्र सूत्र हो । यो सूत्र धेरैले सुनेका हुन्छन् तर यत्रतत्र त्यस्ता मानिस प्रशस्तै हुन्छन् जो काम गर्न त परै जाओस् । त्यसका लागि प्रयासै गर्न पनि अगाडि सर्दैनन् । बरु त्यस्ता मानिस अरूको परिश्रममा तर मार्ने कलामा पारखी बन्न पुगेका हुन्छन् । यसले गर्दा उनीहरू जुके स्वभावको चरित्रमा विकसित हुँदै गएका हुन्छन् । अर्थात्, घुमाइफिराइ अरूहरूकै प्रयास र परिश्रमको प्रतिफल चुसेर अघाउने र ढाडिने स्वभाव उनीहरूको विशिष्ट चरित्र बनेर देखा परिरहेको हुन्छ ।  म सानोमा गाउँघर छँदा केही खास काम गर्नुपर्दा अक्सर बुढापाकाले भनेको सुन्थेँ, “लत्तो छाड्नु हुँदैन बाबै !” यथार्थमा ती बुढापाका काम गर्न अग्रसर भएकालाई हिम्मतिलो भएर काम फत्ते गरिछाड्न त्यसो भन्ने गर्थे । हुन पनि केही कुनै कार्य गर्नु छ भने त्यसलाई सक्दिनँ भनेर उत्साहहीन हुँदै कर्म गर्नबाटै पछाडि हट्नु दुनियाँमा सबैभन्दा सजिलो काम हो । विजेताले कहिल्यै लत्तो छाड्दैनन् र लत्तो छाड्नेहरू कहिल्यै विजेता बन्दैनन् । मेरो ठहर छ, म आफू भने त्यो पाठशालाको शिक्षार्थी हुँ, जसले सानैदेखि प्रयास र परिश्रमको फल मीठो हुन्छ भन्ने नैतिक शिक्षा पढ्दै पनि र सुन्दै पनि आएको हो । त्यही बेलादेखि मलाई लाग्दै आएको पनि हो, प्रयास भनेको ब्यान्ड बाजा हो र प्रयास नगर्नु भनेको सारङ्गी हो । ब्यान्ड बाजाका अगाडि सारङ्गीको ¥याइँ¥याइँ कति पो अर्थपूर्ण हुन सक्छ होला र ! 

कोसिस र प्रयास वा चेष्टाको कुरा उठ्दा सधैँ दुई वटा दृष्टान्त सबैसामु हठात् उपस्थित हुन्छन्, धेरैचोटिको प्रयासपछि भित्ता चढ्न सफल कमिलाको कथा र अजङ्गको डाँडो खनेर बाटो बनाउने पहाडी मान्छे अथवा ‘माउन्टेन म्यान’ को किस्सा । 

एउटा गुफाभित्र एउटा कमिला आफूभन्दा ठुलो चामल–दाना मुखमा टोकेर भित्ता चढ्दै माथि निस्कन प्रयत्न गरिरहेको हुन्छ । संयोगवश, कतै युद्धमा हारेर भाग्दैभाग्दै प्रख्यात टर्किस–मङ्गोल राजा तैमुर लङ्ग (अङ्ग्रेजीमा टिमुर वा टिमरलेन) पनि विश्राम गर्न त्यही गुफाभित्र आइपुग्छ । तैमुरका आँखा त्यो कमिलामाथि पर्छ । कमिला चाहिँ मुखमा चामल टोकेर गुफाको भित्तो चढ्न खोज्छ, अलि माथि पुग्छ तर अर्कै क्षण भुइँमा खस्न पुग्छ । पटक पटक त्यही प्रव्रिmया दोहोरिइरहन्छ, तर उसले माथि चढ्ने प्रयास गर्न छाड्दैन । अन्ततः आफ्नो तेत्तिसौँ प्रयासमा चामल–दाना लिएरै त्यो कमिला भित्ता चढेर माथि पुग्न सफल हुन्छ ।

कमिलाको अठोट र निरन्तर प्रयास देखेर तैमुर लङ्ग निकै अभिप्रेरित, दृढ र उत्साहित हुन पुग्छ अनि फेरि आफूमातहत ठुलो सेना सङ्गठित गर्छ, थप युद्धहरू गर्दै र जित हासिल गर्दै जान्छ । अन्ततः अहिलेको अफगानिस्तान, इरान र मध्यएसियाका क्षेत्र मिलाएर शक्तिशाली ‘टिमुरिड साम्राज्य’ स्थापना गर्न सफल हुन्छ । इतिहासकै एक श्रेष्ठतम सैनिक नेता र सफल रणनीतीकार तर उत्तिकै व्रmूर एवं जल्लाद शासक मानिने तैमुर लङ्गले सन् १३९८ मा भारतमा आव्रmमण गरेको थियो । त्यतिबेला तैमुर नेतृत्वको टिमरिड सेनाले दिल्लीमा भयानक कत्लेआम मच्चाउँछ, भीषण नरसंहार गर्छ र नृशंस लुटपाट गर्छ । एक वर्षपछि ऊ स्वदेश फर्किंदा दिल्ली लगभग मानवरहित भएको हुन्छ र त्यसमा पनि त्यहाँ सर्वत्र अनिकाल लागेको हुन्छ ।    

पहाडी मान्छे भनेको भारतको विहार राज्यमा पर्ने गयानजिकै स्थित गेहलौर गाउँका दशरथ माझी भन्ने एक जना गरिब किसानको कथा हो । आफ्नी गर्भवती श्रीमती फगुनियादेवी बिरामी पर्दा सडकको अभावमा अलि टाढा रहेको चिकित्सालय लैजान नसकेको र उपचार नपाएर श्रीमतीको मृत्यु भएपछि उनले गाउँलाई घेरेको डाँडो काटेर हिँड्ने मात्र नभई मोटर नै कुदाउन मिल्ने सडक खन्ने अठोट गर्छन् । त्यसपछि एउटा घन र एउटा छेनी (चिजल) लिएर त्यो ढुङ्गेडाँडो खन्न थाल्छन् । कहिले बिरामी पर्छन्, कहिले तिर्खाले लखतरान हुँदै थचक्क बस्न पुग्छन्, कहिले भोकले गालेर बसाउँछ, तर उनी थाक्दैनन् र कोसिस गर्न पनि छाड्दैनन् । झन्डै सबै गाउँलेले उनलाई बहुलाहा भन्छन्, तर उनले आफ्नो अठोटपूर्ण प्रयास छाड्दैनन् । उनको अथक अनि निरन्तर खनाइपछि सडकको प्रारम्भिक बान्की देखा पर्दै जान्छ र त्यो देखेपछि उनको जुनूनप्रति माया लागेर गाउँलेहरू पनि व्रmमशः त्यहाँ आउँदै खन्दै उनको कार्यमा सहयोग पुर्‍याउन थाल्छन् । 

लगातार २२ वर्षसम्म त्यसरी खनेपछि दशरथ माझी त्यो ढुङ्गे पहाड खनेर ३६० फिट लामो, कतिपय ठाउँमा २५ फिट गहिरो र ३० फिट चौडाइ भएको सडक बनाउन सफल हुन्छन् !  माझीको मृत्यु सन् २००७ मा भयो । उनी दिवङ्गत भएको चार वर्षपछि विहार राज्य सरकारले त्यो सडकलाई छेउमा फलामे बार–बन्देजसहित आधुनिक स्वरूप दिएको थियो । माझीको यो साँचो कथाले भन्छ, आँट र प्रयासले गर्न नसकिने केही पनि छैन । आँटेका वा गर्न खोजेका काम सधैँ सोचे जस्तो गरी फत्ते भए पनि नभए पनि मलाई हम्मेसी प्रयास गर्न मन पर्छ । त्यही भएर होला, मलाई लागिरहन्छ, प्रयास जोकसैले जहाँ र जहिले पनि गर्न सक्छ । प्रयास गर्नेहरूको हत्तपत्ति हार हुँदैन । किनभने जहाँसम्म मेरो सोचाइ पुग्छ, केही या कस्तै प्रयास गर्न पनि रहरलाग्दो गरी पढालेखा भइरहनु पर्दैन । यसका लागि उपद्रै धनसम्पत्ति पनि चाहिँदैन । प्रयास या प्रयत्न अथवा कोसिस गर्न उधुमै प्रतिभावान् पनि भइरहनु पर्दैन र यसका लागि कुनै उत्तम साइत–विशेष कुर्नु वा खास जोखना हेराइरहनु पनि पर्दैन । प्रयास या चेष्टा अथवा जमर्को गर्नका लागि अन्य कसैलाई कुरिरहनु पर्दैन, एक्लै नै पनि अगाडि सरे भइहाल्छ । उही के त, हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । निरन्तर प्रयासको प्रतिफल पक्कै पनि परमसुख प्रदान गर्न परिपक्व हुन्छ । यसो हुने हुँदा नै त भन्ने गरिएको हो– काम गर्नेले भोलि भन्दैन र प्रयास गर्नेले हातमा दही जमाएर बस्दैन पनि । 

प्रयास भनेको परिश्रम हो । जाँगर हो । होस्टे र हैँसे हो । दुई÷चार पटक अथवा आठ÷दश पटक वा आवश्यक पर्‍यो भने त्योभन्दा पनि अझ धेरै पटक गरी हेर्ने भाव हो । हिम्मत नहार्नु भन्ने हो । यसरी प्रयास, परिश्रम र हिम्मत लिएर जीवनमार्गमा अगाडि बढ्दै जाने हो भने मानिसको मानसिक क्षमता पनि विकासको खुड्किला चढ्दै जान्छ । अनि यसो हुन सक्दा साँचो अर्थमा मान्छे बन्न सकिन्छ । किनभने केही पनि नगर्ने हो भने केही पनि प्राप्त हुँदैन । एक पटक पशुपति मृगस्थलीमा मौन बसिरहेका बेला कोही अज्ञात त्रिपुण्डधारी साधु महाराजले सामान्य संवादपश्चात् हिन्दी लवजमा मसँग भनेका थिए, “वत्स, एक रात तिमी घरबाट बाहिर आँगनमा निस्क र माथि आकाशतिर हेर । त्यहाँ तिमीले जून देख्यौ भने त्यसको अर्थ हो, तिमी साक्षात् ईश्वरीय सौन्दर्य देखिरहेका हुन्छौ । फेरि कुनै दिवाकाल बाहिर आएर माथि आकाशतिर हेर । त्यहाँ तिमीले सूर्य देख्यौ भने त्यसको अर्थ हो, तिमी प्रत्यक्ष ईश्वरीय शक्ति देखिरहेका हुन्छौ । अनि, कुनै पनि समयमा तिमी ऐना हेर्छौ भने त्यसको अर्थ हो, तिमीले ईश्वरको विस्मयकारी श्रेष्ठतम सिर्जना देखिरहेका हुन्छौ ।”  मलाई लाग्यो, ती साधु महाराजले भनेको यति मात्र थियो– मैले स्वयम्माथि विश्वास राख्नु पर्दछ । आफ्नो र आफूभित्रको शक्ति अनि सामथ्र्यमाथि विश्वास गर्नु पर्दछ र कहिल्यै–कहिल्यै बिर्सनु हुँदैन । मानिसको औसत आयु छोटो हुन्छ, थोरै नै हुन्छ । यसमा हामी त्यही जीवन बाँचिरहेका हुन्छौँ जुन हामीले निजी विचार र निजी स्वभाव वा बानीले गर्दा आफ्ना लागि बनाएका हुन्छौँ । औसत जीवनमा व्यस्त हुनुको अर्थ सधैँ उत्पादनशील वा सिर्जनशील हुनु होइन, किनभने त्यो त समय र क्षमताको त्यस्तो लगानी पनि हुन सक्दछ । जसको उपलब्धि शून्यबाहेक अरू केही हुँदैन । केही नहुने र रेखदेख नगर्ने हो भने पोखरी सुकेर नष्ट हुन सक्दछ । त्यस कारण, प्रयत्न र कर्मको त परिणाम देखिनु पर्दछ । फल प्राप्ति हुनु पर्दछ । यो हासिल गर्न सकिने सूत्र हो– पोखरी हुनका लागि पानी चाहिन्छ तर दुई थोपा पानीले पोखरी बन्दैन । अर्को सत्य जति तताए पनि पानी बाक्लो हुँदैन, न घिउ–सक्खरले धोएर निम गुलियो हुन्छ ।