राजधानी काठमाडौँ देशकै मुटु भए पनि यसले भोग्दै आएका समस्याको भने लामै फेहरिस्त हुन्छ। राजधानीबासी शुद्ध पिउनेपानीको समस्या वर्षौंदेखि भोग्दै छन्। नदीनाला र पानीका स्रोत फोहोर छन् भने उपत्यकालाई पिउने पानी उपलब्ध गराउने मेलम्ची आयोजना सपना र विपनाको दोसाँधमा छ। सडक भत्कने, धुलो, प्रदूषण, फोहोर आदिका अनेक समस्यासँगै राजधानी सहर अव्यवस्थित पार्किङको समस्याबाट समेत ग्रस्त छ। साना सवारीसाधनले सडक भरिन लागेको राजधानीमा व्यवस्थित सार्वजनिक सवारीको ठूलो समस्या छ। ती सवारीसाधन अड्याएर राख्ने अर्थात् पार्किङ व्यवस्थापनमा समेत ध्यान जान सकेको छैन। व्यवस्थित पार्किङ र जनसाधारणलाई व्यवस्थित सार्वजनिक सवारीसाधनको सुविधा उपलब्ध गराउने नीति, योजना र कार्यक्रम नल्याए आगामी दिनमा झनै चुनौती थपिँदै जाने निश्चित छ।
सवारीसाधन बढेसँगै पार्किङ अति आवश्यक सुविधा हो। हुन पनि अव्यवस्थित बस पार्किङ गर्नाले सङ्घीय राजधानी काठमाडौँ अस्तव्यस्त र कुरूप बन्दै गएको छ। राजधानीभित्र चल्ने सवारीसाधनको पार्किङ त व्यवस्थित छैन नै, साथसाथै राजधानी उपत्यका आवतजावत गर्ने दिवा तथा रात्रि सेवाका बसहरू जथाभावी पार्किङ गर्दा राजधानी सहर अस्तव्यस्त बन्दै गएको छ। समयसँगै सवारीसाधनको चाप बढ्दै गएको छ। खुला ठाउँको अभाव दिनप्रति दिन
बढ्दो छ। रात्रि सेवाका बसहरू गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने प्रावधान रहे पनि त्यसको परिपालना भएको छैन। बसपार्क नै साँघुरो हुँदै गएको छ। नयाँ बसपार्क निर्माण गर्ने नीति र योजना देखिन सकेको छैन। स्थानको चर्को अभावले अब बहुतले पार्किङ सेवा प्रदान गर्ने सेवादायी अवधारणा ल्याउनुपर्ने थियो तर त्यतातिर सोच र चिन्तन अगाडि बढ्न सकेको छैन।
पार्किङ अभावले सडक र खाली स्थानमा पार्किङ गर्न थालिएको छ। यसले सहरको सुन्दरतामा प्रतिकूल असर पारेको छ। विशेष गरी चक्रपथ वरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा पार्किङले भरिएका छन्। त्यसै गरी पेप्सीकोला, तीनकुने, जोरपाटी, गौशाला, पशुपति क्षेत्रस्थित सडक किनारलगायतका ठाउँमा अव्यवस्थित पार्किङ देख्न सकिन्छ। अव्यवस्थित पार्किङले राजधानी काठमाडौँका साथै वरपरका ललितपुर महानगरपालिका, अन्य नगरपालिकादेखि बनेपा र धुलिखेलसम्मको सुन्दरतामा प्रतिकूल असर पारेको छ। व्यवस्थित सहर बनाउने भन्दै मूल सडक र सडकपेटीमा राखिएका पसल तथा संरचनाहरू केही समययता हटाउन सुरु गरिए पनि सडकछेउमा जथाभावी गरिने पार्किङ व्यवस्थित गर्न पहल नहुँदा अस्तव्यस्थता बढ्दै छ।
राजधानी उपत्यका र वरपर चल्ने सवारीसाधनको चाप घट्ने छैन। दैनिक करिब नौ सयको हाराहारीमा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने दिवा तथा रात्रि बस व्यवस्थापन झनै ठूलो चुनौती बनेको छ। त्यसका निम्ति यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, सवारी परीक्षण कार्यालय र ट्राफिक प्रहरी कार्यालय सक्रिय रहेका भनिए पनि बस पार्किङको व्यवस्थापनको समस्या भने समाधान हुन सकेको छैन। ट्राफिक व्यवस्थापनमा खटिएका उपत्यकाका एक हजार सात सय ट्राफिक प्रहरीलाई पार्किङ व्यवस्थापनमा ठूलो चुनौती छ।
पार्किङ व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी होइन। राजधानी आवतजावत गर्ने बसको ‘रुट परमिट’मा एकरूपता हुन नसक्दा समेत यो समस्या भएको छ। एकद्वार प्रणाली लागू भए समस्या समाधानमा सहज हुने कतिपयको भनाइ छ। सङ्घ र प्रदेश दुवै तहबाट ‘रुट परमिट’ दिइँदा पनि समस्या थपिएको छ। पार्किङ समस्या समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारको जिम्मेवारी हो। पार्किङ व्यवस्थापन सार्वजनिक सवारीसित जोडिएको समस्या भएकोले सार्वजनिक सवारी व्यवस्थापनको नीति, योजना र कार्यक्रम प्रभावकारी भए पार्किङ समस्या पनि समाधान हुँदै जान सक्नेछ। सहरी जमिन सीमित छ र पूर्वाधार विस्तार असीमित हुँदै गएको छ। भूमिगत बसपार्कका साथै बहुतले पार्किङ व्यवस्थापनको अवधारणा लागू गर्ने समय आइसकेको छ। सङ्घ र प्रदेशको निर्वाचन भर्खरै सम्पन्न भएको छ। अब मुलुकले नयाँ जनप्रतिनिधि र सरकार पाउनेछ। यो अवसरमा सार्वजनिक सवारी र पार्किङको व्यवस्थापनतिर समयमै सोच्नुपर्ने भएको छ।