• १३ पुस २०८१, शनिबार

मायाजाल यो जगत (कविता)

blog

मन यो डुल्यो कामनामा धेरै, राख्नु छ यो बाँधीकन,

जीवन भुल्यो वासनामा बरै, रोक्नु छ यो बेहोसीपन,

लोकाचारी मायाजालमा डुबेर बरै, सेवक यो तनमन,

संसारी अभिलाषामा रमेर धेरै, जीवन भो पराधीन,

आफैँ स्वयं भुलेर जगत भो स्वामी, भई चित्तको अधीन,

कामनामै डुबेर मायाको बन्यो दास, भयो जीवन अचेतन,

सत्य यो नबुझी, सर्वत्र छ कलह, अहङ्कार र स्वामित्वको,

मायाजालमा डुबी, फगत छ वैरभाव, प्रभुत्व र अस्तित्वको 


आकाङ्क्षा र लालसा असीम छ, हँुदैन यसको अन्त्य,

आनन्दको घर आफ्नै समीप छ, भेटिन्न खोजेर अन्त,

जति धेरै पाइन्छ उति नै चाहिन्छ, वैभव र धनसम्पत्ति,

चाहेको सारा पाइन्न, पाएको देखिन्न, वैरी हो आसक्ति,

सारा इन्द्रलोकैधरि छ अनित्य, मिथ्या यी क्षणभङ्गुर,

समस्त लोकमा सबै छन नश्वर, एकै मात्र अक्षय ईश्वर,

सत्य यो नबुझी, सर्वत्र छ कलह, अहङ्कार र स्वामित्वको,

मायाजालमा डुबी, फगत छ वैरभाव, प्रभुत्व र अस्तित्वको 


आत्मविस्मृति भो, आत्मनिष्ठा गयो, यही दुःखको कारण,

दुःखको बीज मन हो, मनकै एषणाले हुन्छ दुःख अकारण,

टुटे साधना ऋषभ पुत्र भरतको, भई मृगमोहमा आसक्ति,

अनित्य र असार यो जगतको, एकै निवारण हो अनासक्ति,

भुल्नु छ अज्ञान यो, फुल्नु छ दलदलमा, जसै पुष्पकमल,

बदल्नु छ चित्तै रूपान्तरण गरी, बनी नित्य–दिव्य–कोमल,

सत्य यो नबुझी, सर्वत्र छ कलह, अहङ्कार र स्वामित्वको,

मायाजालमा डुबी, फगत छ वैरभाव, प्रभुत्व र अस्तित्वको,

मायाजालमा डुबी, फगत छ वैरभाव, प्रभुत्व र अस्तित्वको