• १३ पुस २०८१, शनिबार

आफैँलाई धिक्कारिरहेछु (कविता)

blog

के तिमी र हामी

एउटै युद्ध मैदानमा लडेका सिपाही होइनौँ ?

एउटै विचार, सिद्धान्त पढेका विद्यार्थी होइनौँ ?

एउटै जेलमा जकडिएका

एउटै नेलमा नारिएका

ज्यानलाई हत्केलामा राखेर

भविष्यको सपनामा रमाएका हाइनौँ ?

हाम्रा दुःख एउटै थिए

हाम्रा यातना साथै थिए

परिवर्तनपछि आज

रङ्गमञ्चमा तिमीलाई उतारेर

म नेपथ्यभित्र बसेँ 

तिमी जनताका नायक बन्यौ

तिम्रो नायकत्वमा देश चल्न थाल्यो

तिम्रा संवादहरू अशुद्ध हुँदा

बोल्नुपर्ने संवाद बिर्सिंदा

मैले प्रष्ट र (नुबोधक) बनेर

तिमीलाई सम्झाइरहन्थेँ

तिम्रा गल्तीलाई औँल्याइरहेँ

तर अब तिमी आफूलाई 

सर्वज्ञ सम्झन थाल्यौ

नुनदेखि कानुनसम्म

ज्ञान, विज्ञान, दर्शन, साहित्य, समाज

सबै सबैका ज्ञाता

सबैका विशेषज्ञ

तिमीभित्रको अल्पज्ञान

विस्फोट हुन थाल्यो

तिमीभित्रको मोटो बुद्धि

बौलाउन थाल्यो

म नेपथ्य भित्र बसेर, छटपटाउन थालेँ

मेरो विद्यार्थी पनि हौ तिमी

आधा पढाइ छोडेर

अर्ध ज्ञानमै नेता बनेका तिमी

मैले धेरै कुरा सिकाउन बाँकी थियो

सिद्धान्त मात्र होइन

प्रयोगात्मक ज्ञान दिलाउनु थियो

अहिले देशको उत्खननको समय

जथाभावी खन्दा

पुरातत्व पुरिने डर

भग्नावशेष भताभुङ्ग हुने भय

उर्लंदो जोसले खन्न थाल्यौँ

होश हराएको जोश

तिम्रो अल्पज्ञान

तिम्रो बुद्धु अहम्

अब देश कुन खाल्डामा खस्ने हो ?

कुन पहिरोले पुरिने हो ?

कुन भेलमा बग्ने हो ?

रङ्गमञ्चमा तिमी छौ 

तिम्रो बाँदर नाच 

कसरी, कति दिन हेर्ने हो हामीले ?

म नेपथ्यमा बसेर

धिक्कारिरहेछु आफैँलाई

कस्तो मानिसलाई

रङ्गमञ्चमा पठाएँ मैले

नायक बनाएँ मैले

ऊ त खलनायक भएर पो निस्कियो

अहिले आफैँलाई धिक्कारिरहेछु ।

आफैँले दिएको भोटलाई नकारिरहेछु ।