• १३ पुस २०८१, शनिबार

एक सत्य इतिहास (कविता)

blog

शान्तिदीप रायमाझी 

उनी

बिरामी थिए

अस्पतालमा थिए

लाग्थ्यो उनी फेरि तङ्ग्रिने छ्न्

उठ्नेछ्न्

बोल्नेछ्न्

हिड्नेछ्न् पहिले पहिले झै 

तर,

यस पटक

पहिले जस्तो भएन

धोका भयो

सोचे भन्दा अन्य भयो

पाटन शून्य भयो 

दरबार स्क्वायर शून्य भयो !!!

सदा बिरामी हुँदा समेत

बेडमा ढल्कदा समेत

उनको  हातमा पुस्तक देखिन्थे

पान्ना पल्टिरहन्थे

पढिरहन्थे उनी

तर,

अब पान्ना पल्टिने छैनन् किताबका

शब्दहरूले उनलाई खोजिरहनेछ्न्

वाक्य, अनुच्छेद र पाठले एउटा पाठक खोजिरहनेछ्न्

तर पाउने छैनन्

अब,

उनी आफै थुप्रै किताब बन्नेछ्न्

कथा, कविता, नाटक, निबन्ध बन्नेछन्, पढिनेछ्न्, जीवित हुनेछ्न्

सबैका मन मस्तिष्कमा ।

सास थियो

साहस थियो

जिउँदो इतिहास थियो

हिजोको दिनले त्यो खोस्यो

आजले उनलाई खोज्यो

पाएन र त्यो रोयो

समयलाई फकाउँदा फकाउँदै

थकाउँदा थकाउँदै

थाकेनन् उनी

समय थकाए

शताब्दी बिताए

र निर्धक्कसँग गए

बाँचुञ्जेल

ज्यानले प्राण साँचुञ्जेल

अध्ययनरत रहे

अनवरत साधनारत रहे

भाषा, साहित्य, कला संस्कृतिका

बेजोड कृति जोडे

इतिहास दिए

छोडे गए

इतिहास भए

एक अमर इतिहास

जीवन्त इतिहास

अनन्त इतिहास

शान्त इतिहास

सत्य इतिहास !