• १३ साउन २०८१, आइतबार

कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

कैलाली–५ का उम्मेदवारहरू ।

अविनाश चौधरी

धनगढी, कात्तिक २९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको शृङ्खला दोहोर्याउनु चुनौती देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

 वि.सं. २०७० को संविधान सभाको निर्वाचनमा यो क्षेत्रमा अत्यधिक मतका साथ नेपाली कांग्रेसको जित भएको थियो । यहाँ र डडेल्धुराबाट निर्वाचन जित्नुभएका शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि नेपाली कांग्रेसकै उम्मेदवार पुष्करनाथ ओझाले चुनाव जित्नुभएको थियो । 

वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भने गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार रानाले नेपाली कांग्रेसको विजयी यात्रामा पूर्णविराम लगाउँदै चुनाव जित्नुभयो । उहाँले २७ हजार २०२ मत प्राप्त गरेर जित प्राप्त गर्नुभएको थियो । रानासँग पराजित नेपाली कांग्रेसका नेत्री डा. आरजु राणा देउवाले २२ हजार ३२२ मत प्राप्त गर्नुभएको थियो । दुवैबीचको मतान्तर चार हजार ८८० रहेको थियो । 

यसअघि, रानाले २०५४ मा धनगढीका उपमेयरको निर्वाचन जित्नुभएको थियो । अहिलेसम्म यहाँ लडेका सबै निर्वाचन उहाँले जिते पनि यस पटक भने त्यो शृङ्खलालाई कायम राख्न सहज नभएको बताइएको छ । एकातिर नेकपा (एमाले) विभाजन हुँदा परेको क्षतिसँगै उहाँलाई वाम लोकतान्त्रिक गठबन्धनको सामना गर्नुपर्नेछ । 

धनगढी उपमहानगरपालिका पुरै र कैलारी गाउँपालिकाको दुई वडा सम्मिलित यो क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रमुखमा जित हासिल गर्दा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नु भएको थियो ।

उपप्रमुखमा भने एमालेका कन्दकला रानाले १५ हजार ४७९ मत प्राप्त गरेर जित हात पार्नुभएको थियो । प्रमुखमा प्रतिस्पर्धी एमालेका रणबहादुर चन्दलाई नौ हजार ११५ मत आएको थियो । करिब पाँच हजार मतदाता रहेको कैलारीको दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जित्नु भएको थियो । 

धनगढी उपमहानगरपालिकाको मत परिणामलाई हेर्ने हो भने गठबन्धन र एमालेबीच कडा टक्कर हुने देखिन्छ । यद्यपि, यस क्षेत्रमा रहेको थारु र राना थारु समुदायको मत जहिले पनि निर्णायक बन्दै आएको छ । सो समुदायको मत रानाले तान्न सकेमा उहाँलाई फाइदा हुने देखिएको छ । तर, रानाले थारु समुदायको सबै मत प्राप्त गर्न सकिने अवस्था छैन । धेरै मत नागरिक उन्मुक्ति पार्टीले प्रभावित गर्ने आङ्कलन गरिएको छ ।  

यसैगरी, गठबन्धनको उम्मेदवारका लागि नेपाली कांग्रेस पार्टीकै बागी उम्मेदवार एवम् पूर्वमन्त्री पुष्करनाथ ओझा चुनौतीको रूपमा रहनुभएको छ । प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँ पनि मुख्य प्रतिस्पर्धीको रूपमा देखिनुभएको छ । उहाँको उम्मेदवारीले गठबन्धन उम्मेदवारले कांग्रेसको एकमुष्ट मत पाउन सक्ने अवस्था छैन ।

सो पार्टीको मत ध्रुवीकरण भएर पन्त र ओझालाई गएमा त्यसको फाइदा एमाले उम्मेदवार रानालाई हुने देखिन्छ । २०७४ को निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउने भूमिका निर्वाह गरेको ठहर गर्दै नेपाली कांग्रेसले ओझालाई कारबाही गरेको थियो । 

यस्तै, स्वतन्त्र उम्मेदवार ओझा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आफ्नो पक्षमा पार्ने प्रयासमा हुनुहुन्छ । यद्यपि, सो पार्टीले अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको थियो ।