• १३ पुस २०८१, शनिबार

शारदीय घाम र भुइँ कुहिरो (कविता)

blog

मसानबाट जुरुक्क उठेर 

दिउँसै बर्बराउन थालेको छ मृतात्मा

यहीबेला निर्लज्ज बयलगाढा चालकले

निस्फिक्री समाइरहेछ विरुदावली जहाजको स्टेरिङ

अलपत्र र निरीह प्यासेन्जरहरू

गर्न विवश छन् अत्यासलाग्दो यात्रा


अप्रिय वस्तुको जुलुस देखिएझैँ

देखिइरहेछ बिच्छुकीहरूको आगमन

झोक्राइरहेका छन् भीरको टुप्पोमा बसेर

इतिहासको रगतलाई सम्झिँदै

युगान्तकारी भोकहरू

गरिहेछन् एकोहोरो प्रश्न 

एक्कासि कसरी देखियो भुइँकुहिरो

शारदीय घामको पहिलो झुल्कोमा ?


जीवनदर्शन र भोकलाई एकाकार बनाएर 

विश्वासको सङ्कल्प बोकी वर्षौँ हिँडेका सारथिले

किन आरम्भ गरे खरानीको व्यापार ?

हेर्दाहेर्दै समय किन यसरी उल्टो बग्न थाल्यो ?


अन्तिम र निर्मम वेग हान्ने समयमा 

चट्टानी विश्वास देखाउनुपर्ने क्षणमा

जनजनले गीत गाउने अन्तिम घडीमा

ढुङ्गा रगडी आगो निस्किनै लागेको अवस्थामा

पोखरीको पानी छल्किन छल्किन लागेको बेलामा

कसरी मच्चियो शैवताण्डव ?


हेर्दाहेर्दै किन ताप्न लागे आफ्नै घर बालेर 

खरानीको आगो ?

किन दौडिरहेछन् यी मान्छे 

आफ्नै सपनाको मलामी ?

कसरी लाग्यो भस्मासुर डढेलो 

भोकहरूको बस्तीमा ?

‘न रहे बाँस नबजे मुरली’ को तालमा 

किन ग्लुमी सन्डे घन्किरहेछ ?


त्रासदीहरूको विरासतमा उभिएर 

आफैसँग पराजित भएर सलहको वेग कसरी मौलायो ? 

आँखाभरिको सपनाको दियो झ्याप्प कसरी निभ्यो ?

खोजिरहेछ आक्रान्त जनजनले यी सबै प्रश्नको उत्तर 

र भनिरहेछ 

एकतामा शक्ति हुन्छ तर विघटनमा विनाश ।