• ८ मंसिर २०८१, शनिबार

हिरण्यकशिपुको वध हेर्न रातभर जाग्राम

blog

ललितपुर, कात्तिक २२ गते । मल्लकालीन सांस्कृतिक उत्सव ‘कात्तिक नाच’को आठौँ दिन आइतबार राति नरसिंह अवतार नृत्य हेर्न पाटनको मङ्गलबजारमा ठूलो भीड उर्लियो। जति रात ढल्किँदै गयो, त्यति नै कात्तिक नाच हुने ठाउँ मङ्गलबजारको चहलपहल बढ्न थाल्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेउको डबली वरपर थामिनसक्नु भीड थियो। यसको कारण थियो– ऐतिहासिक कात्तिक नाचअन्तर्गत मध्यरातसम्म देखाइने नरसिंह अवतारको हिरण्यकशिपु वध।

कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष पुरानो परम्परागत नाचमा हिरण्यकशिपु पात्रको वध गरेपछि कलाकारले साँच्चै होश गुमाउने कथन छ। चोखो पानी पिलाएर मन्त्रद्वारा ब्युँझाएपछि मात्र हिरण्यकशिपुको भूमिका निर्वाह गर्ने कलाकार होशमा आउने गर्छन्। यसबीच गुठियारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीसरह कुरेर बस्छन्। कात्तिक नाच संरक्षण समितिका सञ्जय शर्मा राजोपाध्यायका अनुसार प्रमुख कलाकार हिरण्यकशिपुले होस गुमाएदेखि होसमा फर्किंदासम्मको दृश्य दर्शकका लागि सबैभन्दा रोचक क्षण बन्ने गरेको छ।

कात्तिक नाचभर हिरण्यकशिपुको वध सबभन्दा लोकप्रिय नाच हो। यो नाचको अवधि निकै लामो पनि छ। त्यही भएर मध्यरातसम्म जारी रहन्छ। कात्तिक नाचको विशेष आकर्षण पनि हिरण्यकशिपुको वध नै हो। 

यस नाचको सुरुआतमा कृष्ण नाच प्रस्तुत गरिएको थियो। कालो लुगामा रहेका कृष्णलाई अन्य कलाकारले पनि साथ दिएका थिए। कृष्ण नाचपछि हिरण्यकशिपु र प्रह्लाद नाच देखाइयो। हिरण्यकशिपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य पनि नृत्य गर्छन्। त्यसपछि भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकशिपुको वध गर्छन्। यस प्रस्तुतिलाई हेर्न सबैले रातको १ः०० बजेसम्म कुरिरहेका थिए। २००७ सालपछि नाच छोट्याउने क्रममा संवाद हराइसके पनि समयक्रमसँगै यो नाचको अवधि पुनः लम्ब्याइएपछि अहिले केही संवाद सुन्न पाइन्छ। 

प्रह्लादलाई दैत्य गुरुहरू ‘ओम् नमः शिवाय’ भन्न सिकाउँछन् तर प्रह्लादले ‘ओम् नमः शिवाय’को सट्टा ‘ओम् नमो भगवते वासुदेवाय्’ मात्र भन्छन्। सिकाउँदा सिकाउँदा गुरुहरू थाक्छन्। हिरण्यकशिपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन्। त्यसपछि नाचको चरमोत्कर्ष सुरु हुन्छ।

मशालहरू दन्काइन्छ। पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ। खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ। नृसिंहको छाया पर्न नहुने भएकाले डबलीमा दनदनी मशाल दन्काइन्छ। नृसिंह नाच्दै हिरण्यकशिपुलाई खेदाउँछन्। नाचको महत्त्वपूर्ण दृश्य नै यही हो।

नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छन् तर पटक–पटक दैत्य उम्कन्छ। अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छन्। नृसिंहले यसो छोएका मात्र के हुन्छन्, हिरण्यकशिपु साँच्चिकै अचेत हुन्छन्। यसरी नाच सकिन्छ। आइतबार बेलुका ९ः०० बजेबाट सुरु भएको नाच सोमबार बिहान २ः१५ बजे सकिएको थियो।

२५ वर्षदेखि कात्तिक नाचमा हिरण्यकशिपुको भूमिका निर्वाह गर्दै आएका किरण चित्रकार यस वर्ष पनि सोही पात्रमा नाच्नुभयो। उहाँले यो रहस्यमय धार्मिक नाचले समाजको विकृति र विसङ्गति उजागर गर्छ भन्नुभयो। यसै नाचमा मधुकैटव वधको पनि प्रदर्शन गरिँदै आएको छ। “वध गर्दा मलाई होस हुँदैन,” कलाकार चित्रकारले भन्नुभयो, “हिरण्यकशिपुको वधपछि कात्तिक नाचको चोकमा लगेर पाटन सुन्धाराको जल छर्केपछि मात्र ब्युँझिन्छु।”

सोमबार वस्त्रहरण लीला प्रदर्शन गरियो भने अन्तिम दिन दधि लीला देखाइने संरक्षण समितिले जनाएको छ। कात्तिक १३ बाट सुरु भएको नाच २२ गते मङ्गलबार समापन हुने समितिले जनाएको छ। वि.सं. १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गर्नुभएको थियो। नेपाल संवत्अनुसार ७६१ मा यो नाच सुरु गरिएको हो। 

कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक–एकवटा नयाँ लीला देखाउने गरी कात्तिक नाच नचाउने परम्परा छ। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नृसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।