• २८ असार २०८२, शनिबार

‘मल्ल जस्ता रोल मोडल आवश्यक’

blog

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा संयुक्त रूपमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान प्रदान गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले श्रेष्ठको न्यायिक योगदानलाई ‘स्वतन्त्र न्यायपालिकाको गौरवशाली स्तम्भ’ का रूपमा व्याख्या गर्नुभयो । 

प्रधान न्यायाधीश राउतले ४२ वर्षदेखि श्रेष्ठसँगको चिनजान स्मरण गर्दै भन्नुभयो, “सेवानिवृत्त भए पनि पूर्वप्रशासकहरूको अनुभव, विज्ञता र विवेक राष्ट्रका लागि अमूल्य पूँजी हुन्छ ।” उहाँले विश्वासको सङ्कटको वर्तमान अवस्थामा जिम्मेवार व्यक्तिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधान न्यायाधीश राउतले न्याय सम्पादनमा श्रेष्ठ निर्भीक रहेको बताउँदै न्याय क्षेत्रमा उहाँ प्रेरणाको स्रोत रहेको बताउनुभयो । उहाँले न्यायालयमाथि हस्तक्षेप अस्वीकार्य हुने बताउँदै हजारौँ काम गर्दा एउटा बिग्रियो भन्दैमा त्यसलाई बहसको विषय बनाइन नहुने स्पष्ट पार्नुभयो । न्यायालय र अदातलमा हुने हरेक गतिविधिको जिम्मेवार आफू रहेको बताउँदै उहाँले न्यायाधीशहरूले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो । 

पूर्वप्रधान न्यायाधीश श्रेष्ठले आफूलाई दिइएको सम्मानप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “लोकका लागि जीवन अर्पण गर्नेहरूलाई सम्झना र सम्मान गर्नु प्रेरणादायी काम हो ।” उहाँले समाजमा व्याप्त नकारात्मकता हटाउन सबैले आआफ्ना स्थानबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । स्वर्गीय हेमबहादुर मल्ल जस्ता ‘रोल मोडल’ को खोजी गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले सुशासन कायम गर्न नेतृत्वदायी पद्धति र पात्रबिच समन्वयको आवश्यकता औँल्याउनुभयो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई सम्मान गर्न सिफारिस गरेको थियो । समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो । सम्मान छनोट समितिका अध्यक्ष मैनालीले प्रक्रियागत रूपमा निर्धारित कार्यविधि अनुसार विभिन्न चरण पार गरेर उत्कृष्ट व्यक्तिको चयन गरिएको जानकारी दिनुभयो । 

साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठले ‘हेमबहादुर मल्ल सम्मान’ को गरिमा र प्रभावलाई स्मरण गर्दै न्यायिक क्षेत्रमा कल्याण श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताउनुभयो । सङ्घका अध्यक्ष आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व र संस्थागत विकासमा श्रेष्ठको विशिष्ट योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको बताउनुभयो । 

विसं २०५७ देखि हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान २१ औँ पटक प्रदान गरिएको हो । यसअघि केदारभक्त माथेमा, डा. भगवान कोइराला, महावीर पुन, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. देवेन्द्रराज पाण्डे, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधानलगायत सम्मानित भइसक्नुभएको छ । उक्त सम्मान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका संस्थापक तथा ख्यातिप्राप्त प्रशासक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो । पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।