• २६ असार २०८२, बिहिबार

सांस्कृतिक पहिचानको प्रतीक ‘ढालनाच’

blog

जुम्ला सिँजा गाउँपालिका–२ का स्थानीयद्वारा ढालनाच नाचिैँदै । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असार २६ गते । जुम्लाको सांस्कृतिक पहिचानका रूपमा रहेको परम्परागत ‘ढालनाच’ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी दलित समुदायका पुरुषले विवाह तथा विशेष अवसरमा पन्चैबाजाको धुनमा हातमा रुमाल र खुकुरीसहित गोलाकार घेरा बनाएर नाच्ने यो नाच पछिल्लो समय बिरलै देखिन थालेको छ ।

दलित समुदायको कला, संस्कृति र विकासका बारेमा विद्यावारिधि गर्नुभएका डा. गोविन्द नेपालीका अनुसार पहिले पहिले विवाह, भोजभतेर ढालनाचबिना सम्पन्न हुँदैनथे तर अहिले नयाँ प्रविधिको प्रयोग र आधुनिकताको नाममा यो नाच सङ्कटमा पर्दै गएको छ । उहाँले नयाँ पुस्ताको रुचि परम्परागत नाचप्रति घट्दै जानुले पनि ढालनाच हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । अहिले विवाह वा उत्सवमा कहिलेकाहीँ मात्र यो नाच प्रदर्शन हुने उहाँले बताउनुभयो ।  विशेष गरी दलित समुदायको सांस्कृतिक धरोहर मानिने यो नाचलाई संरक्षण गर्न स्थानीय तह र समुदायले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नाचलाई निरन्तरता दिन तालिम तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

ढालनाच विशेष गरी जुम्ला, हुम्ला, मुगु, डोल्पालगायत कर्णाली क्षेत्रका पहाडी भेगमा दशकौँदेखि प्रचलित छ । कर्णाली क्षेत्रका दलित त्यसमध्ये विशेष गरी (सार्की) समुदायको विशिष्ट सांस्कृतिक धरोहरका रूपमा यो परिचित छ । यस नाचले उनीहरूको ऐतिहासिक सांस्कृतिक परम्परालाई जीवन्त राखेको छ । ढालनाच नाच्ने चलनले समाजमा भाइचारा र एकताको सन्देश दिन्छ । सबै मिलेर घेरा बनाई नाच्दा आपसी मेलमिलाप बलियो हुन्छ । रुमाल र खुकुरी प्रयोग गरेर नाच्ने यो नाचले अतीतका सुरक्षात्मक अभ्यास र वीरताको झल्को दिने गरेको डा. नेपालीको भनाइ छ । यो नाच सुरक्षाको प्रतीक (ढाल) र साहसको प्रतीक (खुकुरी) का रूपमा लिने गरिएको छ । ढालनाच सिकाउनु भनेको परम्परा र पहिचान हस्तान्तरण गर्नु हो । 

यसमार्फत पुराना मूल्य, परम्परा र सांस्कृतिक ज्ञान नयाँ पुस्तामा प्रवाहित हुन्छ । विवाह, भोज, चाडपर्व वा कुनै विशेष उत्सवमा ढालनाच देखाउने चलन रहिआएको छ । यसमा ढालले बचाउको र खुकुरीले आक्रमणको सङ्केत गर्छ । जसले सामूहिक र सामरिक तालिमकै झल्को दिने गर्छ । स्थानीय बुढापाकाको भनाइ अनुसार प्राचीन समयमा गाउँघरमा युद्ध, डकैती र आक्रमण हुने डरले पुरुषले लडाइँको तालिमका रूपमा यो नाच गर्ने गरेका थिए । ढाल र खुकुरी लिएर समूहमा तालमा ताल मिलाउँदै नाच्दा आफूहरू कसरी बच्ने र आक्रमण गर्ने भनेर सिक्ने अभ्यास पनि हुन्थ्यो ।

पछि यसै अभ्यासलाई मनोरञ्जन र सांस्कृतिक रूपान्तरण गरेर विवाह, भोज र चाडपर्वमा देखाउन थालेको स्थानीयको भनाइ छ । लडाइँको तयारी अभ्यासबाट विकसित हुँदै यो नाच समुदायको उत्सव र परम्परागत नाचमा रूपान्तरित भएको मानिन्छ । ढालनाचको ऐतिहासिक जरो समुदायको सुरक्षाको अभ्यास, वीरता र आत्मरक्षासँग गाँसिएको छ ।