• १८ वैशाख २०८२, बिहिबार

लुभुमा महालक्ष्मी महाभैरव जात्रा

blog

ललितपुर, वैशाख १८ गते  । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु भएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथको रथारोहण भएसँगै अक्षय तृतीयाको दिनदेखि लुभुमा महालक्ष्मी महाभैरवको जात्रा सुरु हुने गर्छ । महालक्ष्मी महाभैरवको जात्रामा एउटा खटमा गणेश, महालक्ष्मी, कुमार तथा अर्को खटमा गणेश, महाभैरव र कुमारीको मुकुट राखेर बाजागाजासहित टोल टोलमा खट बिसाउँदै नगर परिक्रमा गराइन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृतीयामा लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो भैरवलाई रुद्रकुण्ड भैरव पनि भन्ने गरिन्छ । परापूर्वकालमा १२ वर्षसम्म पानी नपर्दा रातो मत्स्येन्द्रनाथलाई लिन गएको टोलीमा चार जना भैरव पनि रहेको किंवदन्ती छ । ती चार भैरवमध्ये लुभुका हयग्रिब भैरव पनि एक रहेको जनश्रुति छ । त्यसैले रातो मत्स्येन्द्रनाथको जात्रा गर्ने बेला लुभुको भैरवको पनि जात्रा चलाएको श्रेष्ठले बताउनुभयो । रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिनसम्म चल्छ । सोही क्रममा आफन्त, साथीभाई, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।

ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभुवासीले अक्षय तृतीयाका दिनदेखि एक सातासम्म जात्रा मनाउने गर्छन् । अष्टमीका दिन जात्रा मनाउनेले लुभुमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्छन् । यसलाई स्थानीयले ‘सरकार पूजा’ पनि भन्ने गर्छन् । यसदिन गणेशलाई बोका बली दिने चलन पनि छ । जात्रा सम्पन्न नभएसम्म यस क्षेत्रका जात्रा मान्ने बासिन्दाले खेतबारी तथा निर्माण गर्न नहुने परम्परा रहेका श्रेष्ठले बताउनुभयो । तत्कालीन राजा सिद्धिनरिसंह मल्लका पालादेखि लुभुमा यो जात्रा प्रारम्भ भएको भाषा तथा संस्कृतिविद् बुद्धिरत्न श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय भाषामा ‘लुँ’ भनेको सुन र ‘भु’ भनेको थाल हो । भक्तपुरका राजा शिवसिंह मल्लको मृत्युपछि उहाँकी महारानी गङ्गाले सुनको थाल बेचेर हालको बस्ती बसालेपछि लुभु अर्थात् सुनको थाल भन्न थालिएको किंवदन्ती छ ।

जात्राको पहिलो दिन भगवती लाछीमा पूजा गरिएको छ । दोस्रा दिन देवीस्थान, तेस्रो दिन गोभ्रटारेश्वर महादेव प्राङ्गण, चौथो दिन नासल तगटु, पाँचौँ दिन सरकारी पूजाआजाका लागि कोयलाछी, छैटौँ दिन इँटाटोल नारायण देवल मन्दिर, सातौँ दिन महालक्ष्मी मन्दिरअगाडि र आठौँ दिन भगवती मन्दिरअगाडि पूजा गरी भोलिपल्ट बाजागाजासहित देवीदेवतालाई भित्र्याउने परम्परा छ ।

आकाश भैरवको जात्रा 

महालक्ष्मी महाभैरवको खट जात्रा सुरु भएको तेस्रो दिन भने कागजमा कोरिएको चित्रको आकाश भैरवको छुट्टै खटमा राखेर जात्रा गरिन्छ । लुभुका बासिन्दाले बिरामी हुँदा सबैभन्दा पहिला आकाश भैरवलाई सम्झेर पूजा गर्छन् । संस्कृतविद् श्रेष्ठका अनुसार आकाश भैरवलाई जात्रा अवधिभर जमिनमा नछोई राख्नु पर्छ । आकाश भैरवलाई भुइँमा छुन नहुने मान्यता अनुसार पहिला पहिला जात्रा अवधिभर दिनरात नभनी पालो पालो रथ बोक्ने गरेकामा आजभोलि आकाश भैरवलाई भुइँमा नछुने गरी खटमा झुन्डाएर राख्ने उहाँले बताउनुभयो । अन्तिम दिन आकाश भैरवलाई सेलाउने चलन छ ।    

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।