कुनै पनि व्यक्तिको बौद्धिक विकास एवं चरित्र निर्माणका लागि शिक्षा अत्यावश्यक छ । जसरी सूर्य नभए संसार अँध्यारो हुन्छ, त्यसरी नै अशिक्षित व्यक्तिको जीवन अन्धकारमय हुन्छ । यही कुरालाई चिन्तन तथा मनन गरी आज विश्वभर शिक्षाको विकासमा विशेष जोड दिँदै आएको छ । फलतः शिक्षित व्यक्तिको सङ्ख्या पनि दिनप्रतिदिन तीव्र रूपले बढिरहेको छ । प्रत्येक देशको शैक्षिक विकासमा त्यस देशको राजनीतिक नेतृत्वमा भर पर्छ, सत्तासीन राजनीतिक दलको शिक्षा नीतिले यसमा धेरै प्रभाव पर्छ । नेपालमा राजनीतिक अस्थिरता हुनाको कारण यहाँको शैक्षिक विकासमा नकारात्मक प्रभाव परेको छ ।
मनुस्मृतिमा लेखिए अनुसार शिक्षा आनन्दित जीवन कला हो । यसले प्रत्येक व्यक्तिलाई गर्न हुने र नहुने काम सिकाइ समाजलाई सभ्य एवं शान्त बनाउँछ । केही दशकअघिको तुलनामा नेपालको साक्षरता प्रतिशत वृद्धि भएको छ । हालसम्म पनि यहाँ शास्त्रीय शैलीको शिक्षा प्रदान गरिनाले प्रेरक व्यक्ति को जीवनबाट प्रेरणा लिएर नयाँ रचनात्मक काम गर्ने जोसजाँगर प्राप्त हुँदैन । यस्तो शिक्षाले विभिन्न किसिमका ज्ञान तथा सिप प्रदान गरे तापनि शिक्षित व्यक्ति लाई लगनशील एवं सिर्जनशील बनाउन सक्दैन ।
आजसम्म पनि यहाँका सरकारी तथा निजी विद्यालयका शैक्षिक गुणस्तर किताबी ज्ञानका आधारमा मूल्याङ्कन गरिन्छ । यी विद्यालयले व्यावहारिक ज्ञान प्रदान गर्न नसकेकाले यहाँ आवश्यक रोजगारी सिर्जना गरिएको छैन । प्रत्येक वर्ष यहाँका युवा रोजगारीको खोजीमा बिदेसिने क्रम बढिरहेको छ । कुनै पनि देशको सर्वाङ्गीण विकासका लागि नैतिक चरित्रवान् व्यक्तिको आवश्यकता हुन्छ । विशेषतः आध्यामिक शिक्षाले यस्ता व्यक्तिहरूको उत्पादन गर्न सघाउ पु¥याउँछ । यहाँका विद्यालयमा उक्त शिक्षा प्रदान गर्ने परम्परा नभएकाले नैतिक चरित्रवान् व्यक्तिको खाँचो छ ।
कुनै पनि देशको शैक्षिक विकासका लागि त्यस देशको विकासलाई दृष्टिगत गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । उदाहरणका लागि यहाँ प्रदान गरिने शिक्षा यहाँका घर, चुलोचौका, खेतीपाती, पशुपालन, व्यापार जस्ता विषयसँग आबद्ध हुनुपर्ने देखिएकाले सोही अनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने देखिन्छ । यहाँ विद्यमान पाठ्यक्रममा उक्त विषय समावेश नभएकाले देश सुहाउँदो देखिँदैन ।
कुनै पनि देशको शैक्षिक विकासका लागि त्यस देशका राजनीतिज्ञले महत्वपूर्ण भूमिका खेल्छन् । नेपालमा कमजोर शैक्षिक ज्ञान भएका व्यक्ति राजनीतिमा संलग्न भएकाले यहाँको शैक्षिक विकास उपयुक्त किसिमबाट गर्न सकिएको छैन । वस्तुतः शिक्षाले कुनै पनि देशका नागरिकमा देश प्रेमको भावना जागृत गर्न सक्नु पर्छ । यहाँ यस्तो हुन नसक्नाले प्रत्येक वर्ष युवा बिदेसिने क्रम बढिरहेको छ । कुनै पनि व्यक्तिको बौद्धिक विकास एवं चरित्र निर्माणका लागि शिक्षा अत्यावश्यक छ । देशको शैक्षिक विकासका लागि सक्षम, नैतिकवान् र इमानदार शिक्षकको आवश्यकता पर्छ । नेपालमा हालसम्म पनि यो कुरालाई व्यवहारमा उतार्न सकिएको छैन ।
शैक्षिक विकासका लागि शिक्षकलाई आदर गर्नु पर्छ । हालसम्म पनि यहाँ उनीहरूलाई आदर गर्ने परम्परा बसेको छैन । बरु उनीहरूलाई हेलाको दृष्टिले हेरिन्छ । यहाँका धेरै जसो व्यक्ति कहीँ काम नपाएपछि शैक्षिक क्षेत्रमा आबद्ध हुन्छन् । मनुस्मृतिमा लेखिए अनुसार शिक्षा भनेको आनन्दित जिउने कला हो । यसले प्रत्येक व्यक्तिलाई समाजमा गर्नु हुने र नहुने काम सिकाई सभ्य एवं शान्त बनाउँछ । आजकल जताततै विकृति व्याप्त छ । प्रत्येक देशको शैक्षिक विकास त्यस देशको राजनीतिक नेतृत्वमा भर पर्छ । सत्तासीन राजनीतिक दलको शिक्षा नीतिले धेरै प्रभाव पर्छ । विगतमा नेपालमा राजनीतिक अस्थिरताका कारण यहाँको शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । कुनै पनि देशको शैक्षिक विकासका लागि प्रत्येक वर्ष सम्पूर्ण बजेटको कम्तीमा पनि २० प्रतिशत छुट्याउन आवश्यक छ तर यहाँ हालसम्म उक्त रकम छुट्याउन नसकिएकाले उक्त क्षेत्रमा आशा गरे अनुरूप प्रगति गर्न सकिएको छैन ।
त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षाका लागि अगुवा संस्था मानिन्छ । केही वर्षयता यसलाई कुराजनीतिमार्फत निरीह बनाइएको छ । यहाँ योग्यता र क्षमताभन्दा पनि पहुँचका आधारमा अङ्क थपेर नियुक्ति दिने प्रणाली अपनाइएको छ । यति मात्र नभई उपयुक्त समयमा परीक्षा सञ्चालन नगर्ने, विद्यार्थीका उत्तरपुस्तिका हराउने, विभिन्न परीक्षाको नतिजा अविलम्ब प्रकाशित नगर्ने जस्ता विकृति उक्त विश्वविद्यालयमा विद्यमान छन् ।
पछिल्लो एक आधिकारिक तथ्याङ्क अनुसार नेपालमा झन्डै ९७ लाख माध्यमिक (१० सम्म) र २० लाख उच्च तहमा अध्ययनरत छन् । यहाँका शैक्षिक गुणस्तर माध्यमिक तहदेखि नै खस्केको छ । हालसम्म पनि यसतर्फ सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनसकेको
छैन । शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले आफ्ना स्रोतसाधन र शैक्षिक उपलब्धिबारे पारदर्शी एवं इमानदारीपूर्वक सर्वसाधारणलाई अवगत गराउनु पर्छ । शैक्षिक विकास गर्ने जिम्मा लिएका संस्थाले आफ्नो जिम्मेवारी वहन नगरेमा व्यक्ति, समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । यस्तो दूरगामी असर पार्ने संस्थाले क्षणिक लाभका लागि दुष्कर्म गरेमा आफैँका लागि पनि हानिकारक हुन्छ ।
प्रचलित नीति नियमलाई इमानदारीपूर्वक पालना गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले मात्र भविष्यमा सफलता प्राप्त गर्न सक्छ । तसर्थ दूरदर्शी सोच लिएर अनुशासित वातावरणमा काम गर्ने शिक्षण संस्थाले शैक्षिक सुधार गर्न सक्छन् । भनिन्छ, बाली लगाउन कम्तीमा छ महिनाको, फलफूल रोप्न १० वर्षको र कुनै पनि व्यक्तिलाई शिक्षित बनाई जीविकोपार्जन गर्न सफल बनाउन एक सय वर्षको योजना बनाउनु पर्छ । कुनै पनि शिक्षण संस्थाले यस्तो योजना कार्यान्वयन गर्न सकेमा उपयुक्त शैक्षिक विकास गर्न सकिन्छ ।
कुनै पनि शिक्षण संस्था विद्यार्थी, शिक्षक र अभिभावकको आस्था र विश्वासको केन्द्रका रूपमा स्थापित हुनु पर्छ । उक्त संस्था सदैव विद्यार्थीको उज्ज्वल भविष्यका लागि समर्पित हुनु पर्छ, यस्तो गर्नमा यहाँ शैक्षिक सुधार गर्न सकिन्छ । सरकारले आवश्यक व्यवस्थापन र नियन्त्रण गर्न नसक्नाले यस्तो परिस्थितिको सिर्जना भएको हो । यसबाहेक संस्कृत शिक्षालाई कम महत्व दिनु, भाषिक शब्दमा प्रहार हुनु, ग्रामीण कृषिमुखी पाठ्यक्रम बनाउन ध्यान नदिनु, प्राविधिक शिक्षाको कमी हुनु, ग्रामीण क्षेत्रका विद्यार्थीको सामाजिक कार्यको उपयुक्त मूल्याङ्कन नहुनु, देशको माटो सुहाउँदो शिक्षा प्रणाली अपनाउन नसक्नु आदि कारणले यहाँको शिक्षामा विकृति देखिएका छन् । जसको यथाशीघ्र निर्मूल गरी सुधारतर्फ उन्मुख हुनु परेको छ । किताबी ज्ञानमा सीमित शिक्षाले कुनै पनि व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक कार्य सुनिश्चित गर्न सकिँदैन । वास्तवमा उसको आत्मनिर्भरता तथा सिर्जनशीलता विकास गर्न व्यावहारिक शिक्षाको आवश्यकता पर्छ ।
विश्वको बदलिँदो परिवेशमा नेपालको शिक्षा पनि व्यावहारिक बनाउन ज्यादै आवश्यक छ । यसो गर्न सकेमा यहाँ विद्यमान बेरोजगारी तथा अन्य समस्या समाधान गर्न सघाउ पुग्ने छ । यसका लागि यहाँ विद्यमान सैद्धान्तिक शिक्षाको संरचना, विधि र उद्देश्य पनि व्यावहारिक हुनु जरुरी छ । हाल नेपालको केही व्यक्ति व्यक्तिगत फाइदाका लागि नैतिक मूल्यमान्यता बिर्सिंदै गएकाले यहाँ नैतिकताको खडेरी परेको छ । विशेषतः यहाँको राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, सञ्चार आदि क्षेत्रमा नैतिकता कमजोर हुँदै गएको छ । सत्य बोल्नु, सभ्य व्यवहार गर्नु, परोपकारी काम गर्नु, अरूको सम्मान गर्नु र इमानदार भई आफ्नो कर्तव्य पालन गर्नु नैतिकता हो । यो पुस्तकमा लेखिएको तथ्य मात्र नभई प्रत्येक व्यक्तिको जीवनमा लागु हुने व्यवहार पनि हो ।
नैतिकता कुनै पनि व्यक्तिको व्यवहार, निर्णय र सही गलत छुट्याउने चेतना हो । यो कुनै कानुन नभए तापनि यसले जुनसुकै व्यक्तिमा पनि कानुनभन्दा बढी असर पार्छ । जसको मनभित्र नैतिकता हुन्छ, उसले सदैव सत्कर्म गर्छ, सत्य बोल्छ, चोरी गर्दैन र अरूलाई दुःख दिँदैन । नैतिकतामा प्रत्येक व्यक्तिको सत्यता, इमानदारी, सहिष्णुता, करुणा, अनुशासन, जिम्मेवारी, आत्मसंयम, सेवाप्रदायक तथा कर्तव्यबोधको भावना र पारदर्शिता जस्ता गुण आबद्ध हुन्छन् । जब यी गुण व्यक्ति तथा सङ्घ संस्थामा विद्यमान हुन्छन्, तब कुनै पनि समाज सभ्य एवं सुरक्षित हुन्छ । नेपाल जस्तो विभिन्न जात, धर्म, भाषा र संस्कृति भएको देशमा नैतिकताको धेरै महत्व छ । यहाँका प्रत्येक व्यक्ति, परिवार, समाज, सङ्घ संस्था र सरकारमा नैतिकता विद्यमान भए मात्र भविष्यमा यो देश सभ्य, समृद्ध र न्याययुक्त हुन सक्छ । नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, सामाजिक असहिष्णुता र विभिन्न सेवामा कमी हुनुका कारण नैतिकतामा खडेरी परेको छ । यसको निराकरणका लागि विभिन्न उपाय अपनाउन सकिए पनि यहाँ विद्यमान शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य रूपले समावेश गर्न आवश्यक छ ।