• ११ कात्तिक २०८२, मङ्गलबार

निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन आह्वान

blog

निर्वाचन आयोग । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ११ गते। निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ। 

आयोगले मङ्गलबार १५ दिनभित्र निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिन सम्बन्धित सबैका लागि जानकारी गराएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गर्नु भएको छ । 

पर्यवेक्षण अनुमतिका लागि संलग्न गर्नुपर्ने कागजात संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्था कार्य समितिका पदाधिकारीको नामावली, राष्ट्रिय अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाणपत्र, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रतिलिपि र पहिले निर्वाचन पर्यवेक्षण गरेको भए आयोगमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रतिवेदनसहित निवेदन दिन आयोगले आह्वान गरेको छ।

काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने र निवेदनको नमुना आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ।