काठमाडौँ, जेठ १९ गते । बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिमा यो पर्व मनाउने गरिन्छ । यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने गर्छ ।
सिथि नखः पर्वका दिन आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको सरसफाइ गर्ने चलन रहेको छ । भगवान् कुमारको जन्मदिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने चलन रहेको छ । त्यसै गरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ ।
नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ, संस्कृतविद् डा. पुरुषोत्तम श्रेष्ठ भन्नुहुन्छ, “सिथि नखःको दिन नेवार समुदायले पानीको स्रोत सरसफाइ गर्दछन् । बर्सातको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।”
संस्कृतविद् गणेशराम लाछीले सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने जानकारी दिँदै भन्नुभयो, “चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।”
लिच्छविकालदेखि सुरु भएको जनविश्वास रहेको सिथि नखःका दिन नित्य पूजा गर्नुपर्ने देवीदेवता तथा आफ्ना दिवङ्गत पूर्वजलाई विभिन्न परिकार चढाउने तथा परिवारका सबै सदस्य एक ठाउँमा बसेर खाना खाइन्छ ।
सिथि नखःका दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः(कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन छ । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौँमा सहर परिक्रमा गरी जात्रा मनाइन्छ । नमोबुद्ध भन्ने स्थानमा बच्चा जन्माएर अशक्त भएको बाघलाई बुद्धले आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाएको र बुद्धले निर्वाण प्राप्त गरेको दिनका रूपमा पनि बौद्धमार्गीले लिन्छन् । यसैले यो दिन महासत्व राजकुमारको गीत गाइने प्रचलन छ ।
धिमे बाजा थन्क्याइँदै
सिथि नखःको दिनदेखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्दछन् र रोपाइँतिर लाग्द छन् जसलाई सिनाज्या भनिन्छ । त्यसैले सिथि नखःको भोलिपल्टदेखि गठेमङ्गल घण्टाकर्ण नआएसम्म एक महिनाभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ । यस अवधिभर कुनै पनि स्थानमा धिमे बजाइँदैन । यसै गरी काठमाडौँको क्वनेस्थित न्हूघः टोलमा रहेको काठको कुमार मूर्तिलाई सप्तमीका दिन खटजात्रा गर्ने चलन छ । यो जात्रा स्थानीय कर्माचार्य अनि ज्यापुहरू मिलेर गर्छन् ।
त्यो मूर्तिलाई कर्माचार्यको गुथिमा राखिन्छ ।