गोरखापत्र समाचारदाता
काठमाडौं, असार २६ गते । दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ । ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिको आठौँ निर्वाण महोत्सवका अवसरमा घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजले उक्त सामूहिक पाठ कार्यव्रmमको आयोजना गरेको हो ।
कार्यव्रmममा प्रमुख आतिथि श्री १००८ स्वामी रमणानन्द गिरिजीले पाशुपत क्षेत्रको महत्व र भगवान् शङ्करको अष्टमूर्तिको दार्शनिक रहस्यमाथि प्रकाश पार्नुभयो । उहाँले त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा आयोजना गरिने यस्ता कार्यक्रम संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धन विशेष भूमिका निर्वाह गर्ने कुरामा जोड दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाटका प्राचार्य कमल सुवेदीले शिवमहिम्नःस्तोत्रको रहस्य प्रकाशित गर्दै हरेक गृहस्थीले श्रीविष्णुसहस्रनाम र श्रीशिवमहिम्नःस्तोत्रको नियमित पाठ पारायण गर्नुपर्ने बताउनु भयो ।
महेश संन्यास आश्रम सञ्चालक समितिका सदस्य सचिव रामप्रसाद भण्डारीले सच्चा भक्तको महिमामाथि प्रकाश पार्नुभएको थियो भने प्राध्यापक भवानीप्रसाद खतिवडाले आचार्य कपिलदेव सुवेदीले सञ्चालन गर्नुभएका गुरुकुल प्रवर्धन समाज, घरघरमा गुरुकुल अभियान र त्रिशक्ति एकादशी संस्कृति समाजजस्ता अभियानले संस्कृत भाषा र अध्यात्मिक चेतना दुबै जागृत गराउने बताउनु भयो ।
घरघरमा गुरुकुल अभियानका सञ्चालक तथा परिकल्पनाकार आचार्य कपिलदेव सुवेदीले घरघरमा गुरुकुल अभियानको उद्देश्य प्रातःकालको करदर्शनदेखि लिएर जीवनको परमलक्ष्य ब्रह्मदर्शनसम्म रहेको बताउनु भयो ।
कार्यक्रमका सभापति तथा त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेले श्रीशिवमहिम्नःस्तोत्रको आवश्यकता एवम् महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
त्रिशक्ति एकादशी संस्कृति समाजका केन्द्रीय कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक मायानाथ सिलवालका अनुसार कार्यक्रममा ३५० जनाभन्दा बढी श्रद्धालुको उपस्थिति थियो ।