• १२ असोज २०८१, शनिबार

मोरङ –३ मा प्रतिनिधिसभाको निर्वाचन

पूर्वमन्त्री ढकाललाई डा. शर्माको चुनौती, रेखा थापा मत माग्दै

blog

–मतदातासँग भाेट माग्दै उम्मेदवार ढकाल, डा. शर्मा र थापा

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २१ गते । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको मोरङको निर्वाचन क्षेत्र नं. ३ मा यो पटक पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसका उम्मेद्वारबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । अभिनेत्री रेखा थापा राप्रपाबाट उम्मेदवार बनेपछि दुवै उम्मेदवारलाई चुनौती थपिएको छ ।

निवर्तमान सांसद एवम् एमालेका पोलिटब्युरो सदस्य भानुभक्त ढकालले २०७४ को निर्वाचनमा काङ्ग्रेस महासमिति सदस्य डा. सुनील शर्मालाई १९०९ मतले हराउनुभएको थियो । त्यतिबेला ढकाललाई बाम गठबन्धनको सहयोग थियो ।

नेकपा माओवादी केन्द्रको समर्थनमा चुनाव लड्नु भएका ढकाल अहिले एक्लै चुनावी मैदानमा हुनुहुन्छ भने शर्मालाई नेकपा -माओवादी केन्द्र_ र नेकपा -एकीकृत समाजवादी_को समर्थन छ । गत निर्वाचनमा खसेको ९१ हजार ६०६ मत मध्ये ढकालले ४२ हजार ४१३ मत प्राप्त गर्दा काङ्ग्रेस उम्मेदवार शर्माले ४० हजार ५०६ प्राप्त गर्नु भएको थियो । यस पटक पनि ढकालले शर्मा नै मुख्य प्रतिद्वन्द्वी पाउनुभएको छ ।

मध्य मोरङको सुगम क्षेत्र रहेको ३ नं= क्षेत्रमा पथरीशनिश्चरे नगरपालिकाका ८ वटा, कानेपोखरी गाउँपालिकाका ४ वटा, बेलबारी नगरपालिकाका ८ वटा र सुन्दरहरू चा नगरपालिकाका ६ वटा गरी जम्मा २६ वटा वडा पर्छन् । आधा भन्दा बढी वडा पूर्वपश्चिम राजमार्गसँग जोडिएको भए पनि मोरङ ३ मा सुकुम्वासी समस्या, दोहोरो स्वामित्वको समस्या, नदी नियन्त्रण, स्वास्थ्य, शिक्षा र खानेपानी प्रमुख समस्याका रूपमा रहेका छन् । यो चुनावमा पनि काङ्ग्रेस र एमालेका चुनावी एजेन्डा मिल्दाजुल्दा छन् ।

–मतदातासँग भाेट माग्दै उम्मेदवार ढकाल

चुनाव प्रचारमा रहनुभएका उम्मेदवार ढकालले भन्नुभयो–सुकुम्बासी समस्या समाधान सम्बन्धी ऐनमार्फत दीर्घकालीन उपाय खोजेर त्यसलाई प्रयोगमा ल्याइने छ । जसले सुकुम्बासी समस्या सदाका लागि अन्त्य हुनेछ ।

ढकालले निर्वाचन क्षेत्रका प्रमुख चार नदीको स्थायी तटबन्धका लागि बहुवर्षीय हरित तटबन्ध कार्यक्रम कार्यान्वयनमा ल्याउने बताउनुभयो । केपी ओली सरकारमा लगातार तीन पटक तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्री ढकालले निर्वाचन क्षेत्रका चार पालिकामा अनिवार्य प्राविधिक शिक्षा सञ्चालन गर्ने, निरोगी नगर निर्माणका लागि प्रत्येक पालिकामा व्यायामशाला र अस्पताल निर्माण गर्ने, हुलाकी राजमार्गको अवधारणा कार्यान्वयन गरी प्रत्येक गाउँलाई सहरसँग जोड्ने र कृषि उत्पादन वृद्धि गरी भण्डारणका लागि शीत भण्डार निर्माण गर्ने लगायतका एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगेको बताउनुभयो । 

डा= सुनील शर्मा

काङ्ग्रेस उम्मेदवार डा= सुनील शर्माले भने आधारभूत स्वास्थ्य उपचार र एक घर एक रोजगारलाई निर्वाचनको प्रमुख एजेन्डा बनाउनुभएको छ ।

डा= शर्माले भन्नुभयो–यस निर्वाचन क्षेत्रमा रहेको सुकुम्बासी समस्यामा ऐंजेरु पलाइसकेको छ । गठबन्धन सरकारले धनीपूर्जा वितरणको गाँठो खोलेको छ ।’

यो समस्याको स्थायी समाधान आगामी सरकारले गर्ने उहाँले ग्यारेन्टी गर्नुभयो । शर्माले जथाभाबी प्लटिङ नियन्त्रण गरी कृषि उत्पादन वृद्धि गर्न र निर्वाचन क्षेत्र भित्र रासायनिक मल कारखाना स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।


–मतदातासँग भाेट माग्दै उम्मेदवार शर्मा

मोरङ ३ का सिमसारहरूको विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने डा= शर्माको चुनावी एजेन्डा छ । पालिकाका सबै सरकारी विद्यालयलाई स्मार्ट विद्यालय बनाउने उहाँका सपना छ । दलित, सीमान्तकृत र अल्पसङ्ख्यक जातिका विद्यार्थीहरूलाई अनिवार्य स्वास्थ्य प्राविधिक शिक्षा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

अभिनेत्री रेखा थापा 

यता, मोरङ ३ मा अभिनेत्री रेखा थापा राप्रपाबाट उम्मेदवार बनेपछि मतदाताको मन थापा तिर खिचिएको छ । राप्रपाको सङ्गठन नभएको त्यस क्षेत्रमा उहाँको उम्मेदवारी पछि मतदातामा केही उत्साह थपिएको देखिन्छ ।

उहाँले भन्नुभयो–काङ्ग्रेस एमालेले ३३ वर्षसम्म एउटै एजेण्डामा मत मागिरहन मिल्दैन । सुकुम्बासी भोट बैंक बनेका छन् । अब विकल्प दिन म आएकी छु ।’

उहाँले राजनीतिक सिद्धान्तको दास बनेर सभ्य समाज निर्माण हुन नसक्ने बताउँदै भन्नुभयो –  पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्ण रुपमा यहीँबाट सञ्चालन गरेर युवालाई रोजगारमूलक शिक्षाको प्रबन्ध मिलाइने छ ।’ 

–मतदातासँग भाेट माग्दै उम्मेदवार थापा

महिलालाई चुल्होचौकाबाट निकाल्न सीप दिने र स्वरोजगारमा लगाउने र युवा कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

गत स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षमा उम्मेदवार दिएका प्रत्याशीले दुई हजार १२१ मत प्राप्त गरेका थिए ।

स्वतन्त्र उम्मेदवार

मोरङको क्षेत्र नम्बर ३ मा स्वतन्त्र १९ सहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये नेमकिपाका ओमनारायण राजवातर धामी, लोकतान्त्रिक समाजवादी पार्टीका भुवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले)का उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिकादेवी लिम्बू, नेशनलिस्ट पिपुल्स पार्टीका नारायण शर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै, समाजवादी पार्टी नेपालका कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेती सिंहदरबार छिर्ने सोचका साथ निर्वाचन अभियान चलाइरहनु भएको छ  । 

त्यसैगरी  स्वतन्त्र उम्मेदवारमा दिनेश चापागाईँ, जयराज संयोज, कृष्ण राई, पंककुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला हुनुहुन्छ ।  


स्वतन्त्र उम्मेदवार मध्ये जयराज संयोजक र गणेशबहादुर पोखरेल काङ्ग्रेस कार्यकर्ता हुनुहुन्छ । संयोजक पार्टीका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने पोख्रेल साधारण कार्यकर्ता हुनुहुन्छ । यस्तै, इन्द्रप्रसाद सुबेदी एमालेको साधारण सदस्यता त्याग गरी चुनावमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । 

अर्का स्वतन्त्र उम्मेद्वार हिमप्रसाद मिश्रले मोहन वैद्य किरणको माओवादी पार्टीबाट राजिनामा दिई उम्मेदवार बन्नुभएको हो । कृष्ण राई जनता समाजवादी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बन्नुभयो । 

यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता रहेका छन् । यस्तै मोरङ ३(१) मा ७५ हजार तीन सय ९३  र मोरङ ३(२) मा ७४ हजार दुई सय ४० जना मतदाता रहेका छन्। ५५ वटा मतदानस्थल रहेको मोरङ ३ मा १६७ वटा मतदान केन्द्र रहेका छन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन बलियो देखिन्छ ।  एकल मतमा भने एमाले थोरै मतले अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४१० र जनता समाजवादी पार्टीको ४६३ मत पाएको थियो । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ ।

अर्कोतर्फ कांग्रेसले ३६ हजार ९१६, माओवादीले सात हजार तीन सय ७३, एकीकृत समाजवादीले  एक हजार ८५५ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनका सबै उम्मेदवारको कुल मत  ४६ हजार १४१ रहेको छ ।

गठबन्धनमा कांग्रेस बलियो देखिए पनि आन्तरिक कलहले कांग्रेसलाई अझै सङ्लाउन सकेको छैन । कांग्रेस हराउन जयराज संयोक र गणेशबहादुर पोख्रेल खुलेर लागेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि राजकुमार लिम्बूले राजीनामा दिइसक्नु भएको छ । 

उता, एमाले भित्र पनि ढकाललाई हराउन पार्टी कै विरोधी खेमा सक्रिय भएर लागेको छ । जिल्ला तहका नेताहरू रामकुमार बस्नेत, राजकुमार बस्नेतलगायत पाँच जनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।