• ८ मंसिर २०८१, शनिबार

ई–सिमको दुनियाँ

blog

केही समयअघि अमेरिकी कम्पनी एप्पलले आइफोन–१४ सार्वजनिक ग-यो। एप्पलले आइफोन–१४ का विभिन्न चार मोडल ल्याएको छ, जसमा  सिमकार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन । अमेरिकाका लागि ल्याइएका यी सेटमा ई–सिम मात्रै लाग्ने गरी बनाइएको छ तर अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ। 

केही समययता नेपालमा पनि ई–सिमको चर्चा चुलिएको छ। अहिले नेपालमै समेत नेपाल टेलिकमको ई–सिम चलाउन सकिने भएको छ। यसका लागि प्रयोगकर्तासँग ई–सिम सपोर्ट गर्ने मोबाइल सेट हुनुपर्छ। 

ई–सिम एक प्रकारको भर्चुअल सिम अर्थात् इम्बेडेड सिम हो। जसलाई बोलीचालीको भाषामा इलेक्ट्रोनिक सिम पनि भन्ने गरिन्छ। ई–सिमको प्रयोगपश्चात् अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई–सिम प्रयोग गर्दा सिमकार्ड परिवर्तन गर्नुपर्ने पनि हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ। 


नेपाल टेलिकमले सुन्धारा काउन्टरबाट गत भदौ ३१ गतेदेखि आफ्ना ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरेको छ। यस्तै सुन्धारासहित ठिमी, चाबहिल, पुल्चोक र छाउनी काउन्टरबाट समेत ई–सिम वितरण भइरहेको छ।

ई–सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ। अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइल फोनमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ। ई–सिम भने मोबाइल सेटमै इम्बेड (जडित) हुने भएकाले सानो भए पनि यो हराउने, भाँचिने कुनै डर हुँदैन। 

फोन हराएमा ई–सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन भौतिक सिमको तुलनामा निकै सहज हुन्छ। ई–सिम र भौतिक सिमभन्दा फरक के कुरामा छ भने त्यो कहाँ राखिएको छ भन्ने हो। ई–सिमलाई मोबाइल फोनको मदरबोर्डसँगै राखिएको हुन्छ। यसलाई तपाईंले न राख्न सक्नुहुन्छ, न हटाउन नै तर यसमा सजिलै नम्बर परिवर्तन गर्न सकिन्छ। साथै यो कुन डिभाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ । यसलाई स्विच गर्न र सेट गर्न झनै सहज हुन्छ। 

फोन कलकै माध्यमले तपाईंले ई–सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिमकार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नु पर्दैन। ई–सिम पनि अन्य सिमकै प्रविधिमा चल्ने गर्दछ र अन्य सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्छ। 


कस्तो फोनमा चल्छ ई–सिम ?

भौतिक सिमलाई अहिले हामीले मोबाइलमा हुने सिम स्लटमा घुसाउँछौँ  । त्यसले मोबाइल नेटवर्कसँग सञ्चार स्थापित गरेर मोबाइल फोनमा सेवा प्रदायकको नेटवर्क चल्न मद्दत गर्छ। ई–सिम प्रयोग गर्न भने मोबाइल डिभाइसले त्यसलाई सपोर्ट गर्नुपर्छ, मोबाइलमा ई–सिम चल्न त्यस्तो प्रविधि हुनु जरुरी छ। 

त्यस्ता मोबाइल डिभाइसले भौतिक सिमले जे–जे काम गर्छ त्यो सेटमा रहेको ई–सिमले पनि त्यही काम गर्छ। ई–सिम सपोर्ट गर्ने मोबाइल फोन सेटमा ई–सिम इन्स्टल गर्न क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल फोन सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ। 

त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्छ वा चल्दैन यकिन गर्न ग्राहकले आफ्नो मोबाइल फोनमा स्टार ह्यास ०६ ह्यास (८३ण्ट३) डायल गर्नुपर्छ। यसरी डायल गर्दा ईआईडी लेखिएको सङ्केतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई–सिम चल्छ तर आईएमईआई मात्रै देखायो भने ई–सिम चल्दैन। त्यसैगरी आइफोन र एन्ड्रोइड मोबाइल फोनको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्छ वा चल्दैन भनेर पत्ता लगाउन सकिन्छ। अर्को तरिका पनि छ,  मोबाइल फोनको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ। 

एप्पलले भखरै सार्वजनिक गरेको आइफोन–१४ का विभिन्न चार मोडलसहित आइफोन–११, आइफोन–११ प्रो, आइफोन–११ प्रो म्याक्स, आइफोन–१२ मिनी, आइफोन–१२ प्रो र आइफोन–१२ प्रो म्याक्समा पनि ई–सिम सपोर्ट गर्छ । यस्तै एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (सन् २०१८ पछिका उत्पादन), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले ई– सिम सपोर्ट गर्छ। 

यस्तै सामसुङको ग्यालेक्सी नोट २०, नोट २० अल्ट्रा, सामसुङ ग्यालेक्सी एस २१, ५ जीले पनि ई–सिम सपोर्ट गर्छ । साथै मोटोरोलाको रेजर र रेजर–५ जीमा समेत ई–सिमले काम गर्छ।

गुगलको पिक्सेल–३ ए, गुगल पिक्सेल– ३ ए एक्स एल, गुगल पिक्सेल–३ एक्स एललगायतका मोबाइल फोनमा समेत ई–सिमले काम गर्दछ। 

यस्तै हुवावेको पी–४०, पी–४० प्रो र मेट–४० प्रोमा इ–सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोटोरोलाको आरएजेडआर–२०१९ र आरएजेडआर फाइभजीमा ई–सिमको सुविधा छ। त्यसैगरी ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले ई–सिम सपोर्ट गर्छ। 

यस्तै भारतमा पनि एयरटेल र जियो जस्ता दूरसञ्चार प्रदायक कम्पनीले ई–सिम सेवा सुरु गरेका छन्। नेपालमा पनि प्रविधिमा आएका नयाँ परिवर्तनसँगै आफूलाई पनि परिमार्जन गर्दै जाने क्रममा नेपाल टेलिकमले ई–सिम सञ्चालनमा ल्याएको छ। अब विश्वमा भौतिक सिमकार्डको विकल्प ई–सिम हुनेछ।