• २१ असोज २०८२, मङ्गलबार

काठमाडौँमा लखनउकी रानीको चिहान

blog

काठमाडौँमा अवध (लखनउ) की रानी बेगम हजरत महलको चिहान छ भन्दा सबैलाई अनौठो लाग्न सक्ला । अझ त्यो पनि काठमाडौँको केन्द्र रत्नपार्कमै । यो कुनै कथा नभई वास्तविकता हो । रत्नपार्कको पूर्वी उत्तर किनारा बागबजार जाने सडकको मुखैमा रहेको लखनउकी रानीको चिहान अहिले पनि उस्तै अवस्थामा छ ।

भारतको उत्तरप्रदेशमा पर्ने अवध सन् १८१६ अघि स्वतन्त्र राज्य थियो । लखनउ राजधानी रहेको अवध सन् १८१६ मा इस्ट इन्डिया कम्पनीको संरक्षित राज्य बन्न पुग्यो । सन् १८५६ मा लर्ड डलहौजीले ‘डक्ट्रिन अफ ल्याप्स’ नीति अन्तर्गत अवधलाई कम्पनी सरकारमा गाभे । ल्याप्स नीतिमा इस्ट इन्डिया कम्पनीले कुनै पनि रजवाडाका राजाले आफ्नो उत्तराधिकारी जन्माउन असफल भए उक्त राज्य कम्पनी सरकारको अधीनमा आउने र त्यसको सार्वभौमिकता इस्ट इन्डिया कम्पनी अन्तर्गत रहने कुरा उल्लेख थियो । सोही कारण डलहौजीले अवधका नवाब वाजिद अली शाहलाई कोलकाता लगेर नजरबन्दमा राखेका थिए ।

को थिइन् बेगम हजरत महल ?

अवधका उनै अन्तिम नवाब वाजिद अली शाहकी कान्छी रानी थिइन् बेगम हजरत महल । बेगम हजरत महल सन् १८२० मा फैजाबादको एउटा साधारण परिवारमा जन्मेकी थिइन् । उनको खास नाम भने मुहम्मदी खानम थियो । गरिबीका कारण उनका आमाबुवाले उनलाई सानैमा बेचेका थिए । त्यसपछि लखनउ पुगेर उनी नवाबको दरबारमा खवासिन अर्थात् सेविका बनेकी थिइन् ।

त्यसै क्रममा उनले नृत्य सिकिन् र दरबारमा तवायफ बनिन् । तवायफपछि परी हुँदै ‘महक परी’ बन्न पुगिन् । अन्ततः उनलाई नवाब वाजिद अली शाहले बेगम बनाए ।

सन् १८४५ मा उनीबाट छोरा बिर्जिस कद्र जन्म भयो । त्यसपछि नवाबले उनलाई महल अर्थात् रानीको दर्जा दिए तर दुर्भाग्य छोरा जन्मेको पाँच वर्ष नबित्दै नवाबले उनलाई तलाक दिए । त्यसैले उनले नवाब वाजिद अली राज्यहरणपछि कोलकाता जाँदा सँगै जान पाइनन् । उनी छोरा बिर्जिससँग लखनउमै बसिन् । शेष जीवन भने काठमाडौँमा बिताइन् ।

कसरी काठमाडौँ आइपुगिन् ?

गङ्गाको उष्ण मैदानबाट हिमालयको काख काठमाडौँसम्मको उनको जीवनयात्रा उत्तिकै पीडादायी छ । सन् १८५७ मा भारतमा सिपाही विद्रोह नभड्केको भए अवधकी यी रानी काठमाडौँ आउने नै थिइनन् ।

उनको काठमाडौँ आगमनको कथा सुरु हुन्छ मङ्गल पाण्डेको सन् १८५७ को सिपाही विद्रोहबाट । त्यतिबेला मङ्गल पाण्डे कार्यरत बङ्गाल नेटिभ इन्फेन्ट्री अर्थात् बिएनईमा गैर हिन्दुलाई भर्ना गरिँदैनथ्यो । पछि ब्रिटिसले नीति परिवर्तन गरी बिएनईमा गैरहिन्दु भर्ना गरेपछि सेनाभित्र असन्तुष्टि उत्पन्न भयो । त्यसैबिच ब्रिटिसहरूले सेनालाई दाँतले काट्र्रिज टोकेर लोड गर्नुपर्ने ‘इनफिल्ड राइफल’ दिए । उक्त काट्र्रिजमा गाई र सुँगुरको बोसो रहेको भनियो । जुन हिन्दु र मुस्लिम सिपाहीको अस्वीकार्य कुरा थियो । काट्रिज प्रकरणपछि विद्रोहमा परिणत भयो ।

परिणामतः मङ्गल पाण्डेले सन् १८५७ मार्च २९ मा कोलकाताको ब्यारेकपुरमा ब्रिटिस अफिसरमाथि आक्रमण गरी विद्रोहको शङ्खघोष गरे । सो अभियोगमा उनलाई अप्रिल ८  मा फाँसी दिइयो । त्यसपछि भारतभर विद्रोह भड्कियो । मे ११ मा विद्रोहीले दिल्लीमा बहादुर शाह जफरलाई भारतको सम्राट घोषणा गरे ।

सन् १८५७ मे ३० मा विद्रोहीले लखनउमा ब्रिटिसका घर जलाए । जुन ३० मा लखनउनजिक चिनहटमा भएको लडाइँमा विद्रोहीले ब्रिटिस सेनालाई हराई लखनउ कब्जा गरे । त्यसपछि सन् १८५७ जुलाई ५ मा बेगम हजरत महलका छोरा बिर्जिस कद्रलाई अवधको नवाब घोषणा गरियो । बिर्जिस कद्र १२ वर्षको मात्र भएकाले हजरत महलले नायबी अर्थात् ‘रेजेन्ट क्विन’ का रूपमा शासन समालिन् । उनले लखनउमा जम्मा भएका ३५ हजारभन्दा बढी विद्रोही सैनिकको नेतृत्व गरिन् ।

त्यसपछि विद्रोही सैनिकले ब्रिटिस रेजिडेन्सीलाई घेरा हाली तीन हजार ब्रिटिसलाई बन्दी बनाए । त्यसैबिच ब्रिटिसले दिल्ली कब्जा गरी बहादुर शाह जफरलाई बन्दी बनाए । दिल्लीबाट भागेका विद्रोहीहरू अवधतिर आए । ब्रिटिसहरू पनि दिल्लीपछि लखनउमा केन्द्रित भए । लखनउ कब्जाका लागि ब्रिटिसले नेपालसँग सहयोग मागे ।

जङ्गबहादुरको सहयोग

जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाद्वारा लिखित ‘लाइफ अफ महाराजा सर जङ्गबहादुर’ नामक पुस्तक अनुसार सुरुमा जङ्गबहादुरले नै ब्रिटिस दूत जे. र्‍याम्जेमार्फत कम्पनी सरकारलाई सैन्य सहयोगको प्रस्ताव पठाएका थिए तर सुरुमा लर्ड क्यानिङले जङ्गबहादुरको प्रस्ताव अस्वीकार गरे । स्थिति काबुमा नआएपछि क्यानिङले नेपालसँग सैन्य सहयोग मागेका थिए । त्यसपछि जङ्गबहादुरले कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा सन् १८५७ को जुलाईमा छ हजार फौज अवध पठाए । बस्नेत नेतृत्वको नेपाली सैन्य टोलीले सन् १८५७ को नोभेम्बरसम्म अवधको आजमगढ, जौनपुर र अट्टौली कब्जा गर्‍यो ।

लर्ड क्यानिङले त्यसपछि पनि फेरि सहयोग माग्दा जङ्गबहादुर आफैँ १४ हजार सैनिकसहित सन् १८५७ को डिसेम्बरमा अवध गए । अवधमा उनले चन्दा–कुहना, सोनपुर, बसगङ्गा, मुवारकपुर र बलिया कब्जा गरे । भारतीय इतिहासकार रुद्रांशु मुखर्जीका अनुसार ब्रिटिसले जङ्गबहादुरलाई विद्रोह दमनमा सघाएबापत नेपाललाई गोरखपुर दिने भनेका थिए । त्यो कुरा हजरत महलले थाहा पाएपछि जङ्गबहादुरले अङ्ग्रेजलाई सहयोग नगरे नेपाललाई आजमगढ, आरा र बनारस दिने प्रस्तावसहित ‘कलन्दरी फकिर’ को भेषमा आफ्नो दूत पठाएकी थिइन् तर ती दूतको ब्रिटिसहरूले बाटोमै हत्या गरेका कारण हजरत महलको प्रस्ताव जङ्गबहादुरसम्म पुग्न पाएन । त्यसपछि जङ्गबहादुर लखनउतिर अघि बढे ।

अन्ततः ब्रिटिसहरूले लखनउ कब्जाका लागि ६० हजार सैनिक परिचालन गरे । त्यस क्रममा नेपाली सेनाले सन् १८५८ को मार्चमा अम्बरपुर, फिरोजपुर, बादशाह बाग, बेगमकोठी, मोतीबाग, ताराकोठी र केसरबाग कब्जामा लियो । केशरबाग हजरत महलको निवास थियो । केसरबाग कब्जापछि ब्रिटिस र शिख सेनाले त्यहाँ लुट मच्चाए । नेपाली सेनाको आक्रमणअघि नै हजरत महल  केसरबाग छोडेर मुसाबाग पुगेकी थिइन् । सन् १८५८ मार्च २१ मा मुसाबागमा ब्रिटिस र विद्रोही सैनिकबिच निर्णायक लडाइँ भयो । लडाइँमा हजरत महल नेतृत्वको विद्रोही सेनाको हार भयो । त्यसपछि लखनउ पूर्णरूपमा ब्रिटिसको कब्जामा आयो ।

लखनउ कब्जापछि जङ्गबहादुर सन् १८५८ अप्रिल ८ मा इलाहाबाद पुगे । त्यहाँ उनले गभर्नर लर्ड क्यानिङलाई भेटे । क्यानिङले उनलाई सहयोगका लागि धन्यवादले मात्र नपुग्ने भन्दै सुगौली सन्धिमा नेपालले गुमाएको भूमि फर्काउने बताए । सोही अनुसार ब्रिटिसले सन् १८६० मा हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फर्काएका थिए ।

नेपाल प्रवेश

लखनउ ब्रिटिसको पोल्टामा गएपछि हजरत महलले छोरा, नोकर चाकर, अमिर–उमरा, विद्रोही नेता र सैनिकहरूसँगै लखनउ छोडिन् । लखनउबाट उनी महमुदाबाद पुगिन् । त्यहाँबाट घाघरा अर्थात् कर्णाली नदी पार गरेर बोन्डी किल्लामा बसिन् । त्यहाँ बुँदेलखण्डबाट नानासाहेब, तात्या टोपेलगायतका नेता दलबलसहित आए । उनीहरू सबैलाई राजा हरदत्त सवाइले सहयोग गरे । हजरत महल विद्रोही सैनिकसँगै बोन्डीमा रहेको खबर पाएपछि लर्ड क्लाइड नेतृत्वको ब्रिटिस फौजले त्यहाँ आक्रमण गर्‍यो । ब्रिटिस फौजको आक्रमणपछि हजरत महलसहितका विद्रोही त्यहाँबाट कोइलाबास पारि तुलसीपुर पुगे ।

त्यहाँबाट सोनारी पहाड हुँदै नेपालको दाङ प्रवेश गरेका थिए । अन्ततः विद्रोहीहरू हाल कपिलवस्तुको सुरहीखोलाको जङ्गलमा अड्डा जमाएर बसे । भारतीय लेखक गुरुदत्त शुक्लको ‘अवध के गदरका इतिहास’ नामक पुस्तक अनुसार सुरहीखोलामा पुगेका ४० हजार भारतीय विद्रोहीमध्ये ३० हजार त सैनिक मात्रै थिए । उनीहरूसँग १३ सयभन्दा बढी घोडा थिए ।

जङ्ग पुत्र पद्मजङ्ग राणाका अनुसार सुरहीखोलामा बसेका भारतीय विद्रोहीबारे पाल्पाका बडाहाकिमले प्रधानमन्त्री जङ्गबहादुरलाई खबर गरे । त्यसपछि जङ्गबहादुरले विद्रोहीहरूलाई निःशस्त्रीकरण र निगरानी गर्ने निर्देशनसहित कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा चार कम्पनी सैन्यबल सुरहीखोला पठाएका थिए ।

सन् १८५८ को मे ४ मा बस्नेत नेतृत्वको नेपाली सैन्यबल सुरही खोलानजिक चग्मीगढी पुग्यो । त्यहाँ नेपाली फौजले हतियार बिसाउन दिएको निर्देशन विद्रोहीहरूले नमान्दा लडाइँ भयो । लडाइँमा चार सय विद्रोही मारिए । त्यसपछि कर्णेल बस्नेतले प्रधानमन्त्री जङ्बहादुरसँग थप बल माग गरे तर सन् १८५८ अगस्ट ८ मा आमा गणेशकुमारीको निधन भएका कारण जङ्गबहादुरले तत्काल फौज पठाउन सकेनन् ।

सन् १८५८ सेप्टेम्बर २४ मा  मात्र जङ्गबहादुरले कर्णेल रण उजिरको नेतृत्वमा चार रेजिमेन्ट फौज पाल्पा पठाए । त्यसै वर्ष सन् १८५८ अक्टोबर २४ मा जङ्गबहादुर स्वयं ११ रेजिमेन्ट फौज लिएर पाल्पा पुगे । नोभेम्बर १४ मा जङ्गबहादुर तानसेनबाट पाल्पाको नुवाकोट पुगेका थिए । त्यहाँ जङ्गबहादुरलाई भेट्न हजरत महल र उनका छोरा आइपुगे ।

नेपालमा शरण

जङ्गबहादुरलाई भेटेर हजरत महल र बिर्जिस कद्रले जीवनरक्षाको मागसहित नेपालमा शरण मागे । जङ्गबहादुरले शरणमा आएकालाई मरण दिनु हिन्दु मान्यताविपरीत हुने भन्दै उनीहरूलाई शरण दिने बताए । त्यसपछि जङ्गबहादुर त्यहाँबाट सुरहीखोला पुगे । त्यहाँ नेपाली सेनाको कारबाहीमा मरेका विद्रोहीका परिवारलाई भेटे । बरेलीका खानबहादुर खानसहित हत्या, अपहरणमा संलग्न ३५ सयभन्दा बढी विद्रोही ब्रिटिसलाई बुझाइए ।

विद्रोहीको अपहरणमा परेका १८ जना ब्रिटिसको पनि उद्दार गरियो । जङ्गबहादुर आउने खबरले अधिकांश विद्रोही त्यहाँबाट भागिसकेका थिए । त्यसैले हत्या, हिंसा र अपहरणमा संलग्न नदेखिएका बाँकी विद्रोहीलाई जङ्गबहादुरले दाङ, स्युराज, पाल्ही, माझखण्ड, नवलपुर र चितवनमा बसोवासको व्यवस्था मिलाए ।

जङ्गबहादुरले शरण दिएपछि हजरत महल, उनका छोरा बिर्जिस कद्र, धुन्धु पन्तकी आमा, रानी काँशीबाईसहित १५ सय विद्रोही काठमाडौँ आए । धुन्धु पन्त भने पछिसम्म चितवनमा लुकेर बसेका थिए । जङ्गबहादुरले हजरत महललाई मासिक चार सय रुपियाँ भत्तासहित काठमाडौँको थापाथलीमा राखे । उनका छोरा बिर्जिस कद्रलाई हाल सिंहदरबारको दक्षिणढोका रहेको ठाउँमा राखिएको थियो ।

यसरी रह्यो बागबजारको नाम

अन्य मुस्लिम विद्रोही जामे मस्जिद नजिक बसे । उनीहरूले त्यहाँ बगैँचा बनाए । मुस्लिमहरूले बगैँचालाई ‘बाग’ भन्ने हुँदा पछि त्यस क्षेत्रको नाम नै ‘बागबजार’ रहन गयो । बिर्जिस कद्रको निवास स्थान ‘बरफबाग’ नामले चिनियो । हाल बरफबागमा नेपाल सरकारको राष्ट्रिय अनुसन्धान केन्द्रको मुख्यालय रहेको छ । यसरी नेपालमा राजनीतिक शरण लिएकी लखनउकी रानी बेगम हजरत महलले काठमाडौँमा जीवनका अन्तिम दुई दशक बिताइन् । सन् १८७९ अप्रिल ७ मा ५९ वर्षको उमेरमा उनको निधन भयो । उनको पार्थिव शरीर जामे मस्जिद नजिक दफन गरियो ।

बागबजारको मुखमा रहेको बेगम हजरत महलको चिहान अर्थात् समाधिस्थल उनका वंशजको प्रयासपछि पत्ता लागेको थियो । त्यस कार्यमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सहयोग थियो । नेहरू नेपाल भ्रमणमा आएका बेला बेगमको समाधिस्थल पुगेका थिए । समाधिस्थल पहिचानका लागि काठमाडौँ आएका बेगमका पनातिले सन् १९६० मा प्रधानमन्त्री बिपी कोइरालालाई पनि भेटेका थिए । 

 –युवामञ्च

Author

रतन भण्डारी