• २९ मङ्सिर २०८२, सोमबार

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

blog

दुर्घटनाग्रस्त क्षेत्र ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर २८ गते। पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार आइतबार दिउँसो करिब १: १० बजे दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०१–०१८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पठाइएको थियो। तर उपचारकै क्रममा दिउँसो १:४५  चिकित्सकले मृत घोषणा गरेका सूचना अधिकारी बिकले जानकारी दिनुभयो। 

मृतक स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–७ भारकोट निवासी ५१ वर्षीय लेशबहादुर थापा रहेको खुलेको छ। दुर्घटनापछि बस चालक स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–५ घर भएर हाल कास्की पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका ५१ वर्षीय चुडामणि शर्मा पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।