• २९ चैत २०८२, आइतबार

शिक्षक हित साकोसको भवन शिलान्यास

blog

शिक्षक हित साकोस धनकुटाको भवन शिलान्यास गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ ।

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) चैत २९ गते । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास गरिएको छ । आइतबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर एक तले भवन शिलान्यास गरिएको हो ।

भवन शिलान्यास विधिवत रूपमा पूजाआजा गरी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जगमा इँटा राखेर गर्नुभएको थियो । भवन शिलान्यास गर्दै नगर प्रमुख तामाङले भवन निर्माणका लागि नगरपालिकाको आउने बजेटबाट १० लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

साथै उहाँले भवन निर्माणका लागि आवश्यक व्यक्तिगत पहल कदमी समेत गर्ने बताउनुभयो । उक्त भवन धनकुटा नगरपालिका–४, देव्रेवासस्थित लोकसेवा छेउमा आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । 

दस आना जग्गामा करिब ५० लाख रुपियाँ लागतमा एक तले भवन निर्माण गर्न लागिएको शिक्षक हित बचत तथा ऋण सहकरी संस्था लि. धनकुटाका अध्यक्ष रामचन्द्र गुरागाईंले जानकारी दिनुभयो।

उहाँका अनुसार एक हजारभन्दा बढी सदस्य रहेको संस्थामा करिब १० लाख बराबर पुँजी रहेको बताउनुभयो । २०६६ सालमा स्थापित भएको संस्था हाल भाडामा सञ्चालन हुँदै आएकाले थप समस्या बढ्दै गएकाले व्यवस्थित ढङ्गले अगाडि बढाएर लैजान भवन निर्माण गर्न लागिएको जनाइएको छ । 

वित्तिय संस्थाहरूको आफ्नै भवन भयो भने विश्वसनियता बढ्ने र आफ्नै भवन हुँदा कार्यालय सञ्चालना सहजात हुने भाडा तिर्नुपर्ने पैसा जोगिने र संस्था सञ्चालमा सहजता हुने संस्थाका सचिव रविन्द्र न्यौपानेले बताउनुभयो ।