विदेश जान खोज्ने र उतै जम्ने मोह राखेका युवाको ठूलो जमात रहेको वर्तमानमा काठमाडौँको कीर्तिपुर नगरपालिका–३, समलटोलकी २८ वर्षीय रिस्ता महर्जन भने विदेशबाट फर्केर नेपालमै व्यवसाय गर्ने तारतम्यमा छिन् ।
जन्म लिएपछि नाम रहने गरी केही काम गर्नुपर्छ भन्ने सोचाइ राखेकी रिस्तामा सानैदेखि आफ्नै देशमा केही गतिलो काम गर्ने हुटहुटी थियो । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) बाट स्नातक गरेकी रिस्ताले युरोपेली देश फ्रान्सको राजधानी पेरिसबाट डिजिटल तथा बिजनेस व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेपछि फेरि होटेल व्यवस्थापन अन्तर्गत बेकरी र प्यास्ट्री पढिन् ।
स्विट्जरल्यान्डको सिमानानजिक पूर्वी फ्रान्सको हिमाली क्षेत्रमा रहेको ७५ वर्षअघि खुलेको फोन्टालिन कलेज र त्यहाँका चर्चित सेफ सेद्रिक पेर्नोका पेस्ट्री र विभिन्न बेकरीसम्बन्धी अध्ययन र तालिम रिस्ताले एकैसाथ गरिन् ।
करिब दुई वर्ष लक्जरी पेस्ट्री र तीन वर्ष बेकरीमा अध्ययन र अभ्यासले खारिएकी रिस्ता अब नेपाली र फ्रेन्चको फ्युजन गराएर यहाँ बेकरी उद्योग खोल्ने तयारीमा छिन् । कीर्तिपुर र झम्सीखेल वा दरबारमार्गमा उनको बेकरी पसल हामीले चाँडै देख्न पाउने छौँ । युरोप वा संसारका जुनसुकै मुलुकमा पनि सिप अनुसारको काम पाउन सक्थिन् उनी तर आफ्नै देशको माटोको सुगन्धले उनलाई आकर्षित ग¥यो ।
देशबाट पलायन हुन लागेका युवालाई यतै केही गरेर देखाउन प्रेरणा स्रोत बन्न पनि बेकरी व्यवसायमा लाग्न थालेको उनको भनाइ छ ।
भेटका बेला आफ्नो अनुभव र योजनाका बारेमा कुरा गर्दै उनले भनिन्, “आफूले अर्काकोमा काम गर्दा सिप आफूसँगै एक न एक दिन हराएर जान्छ तर आफ्नै व्यवसाय थाल्दा आफूबाट सिप अरूले पनि सिक्न पाउँछन् र सिप हस्तान्तरण हुन्छ, अरूले रोजगारी पनि पाउँछन् । त्यसैले मैले आफैँ व्यवसायमा संलग्न हुने सोचाइ बनाएँ ।”
सन् २०१८ मा पेरिस पुगेकी रिस्ताले सन् २०२० मा स्नातकोत्तरको पढाइ सकेर होटेल व्यवस्थापनमा बेकरी पढ्न थालिन् । पाँच वर्षको गहन अभ्याससहितको पढाइले सानैदेखिको चाहना पूरा गर्ने मार्ग तयार पा¥यो । उनी र उनका सहयोगीले काठमाडौँमा बेकरीको सम्भावना बारे गहन अध्ययन गरेका छन् । त्यस अध्ययनले यहाँ बेकरी व्यवसाय राम्रै चल्नेमा उनी ढुक्क देखिन्छिन्, “यस व्यवसायबाट दुई स्थानमा गरेर सुरुमा बढीमा १२ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।”
“हामीले नेपाली र फ्रेन्चमा फ्युजन ल्याएर सबैको जिब्रोले रुचाउने केही बेकरी मेनु बनाउने प्रयास गर्ने छौँ ।” उनले भनिन्, “घरमा मैले बनाएको रेसिपी आफन्तजनले निकै मन पराएका छन् । मैले उहाँहरूको आँखामा सन्तुष्टि र मुखमा मुस्कान देखेँ ।”
उनको बेकरीमा फ्रान्समा प्रख्यात भिन्वाजरी, पाचनमा सहयोग गर्ने साबरडोब्रेड (अलिकति अमिलो), ग्लुटेनफ्रिबेड, नबिग्रने बोकेर लैजान मिल्ने ग्योतोदभोयाज केकसमेत उपलब्ध हुने छन् ।
आमाको नर्स बनोस् भन्ने चाहना हुँदाहुँदै आफ्नो सपना, आत्माको बोली र खुसीलाई पछ्याउँदै होटेल व्यवस्थापन पढेकी रिस्तालाई अहिले आमाबुवा, भाइ र काकाको सहयोग र समर्थन छ ।
बेकरी खोल्न तीनदेखि छ करोड रुपियाँ लगानी लाग्ने अनुमान रिस्ताले गरेकी छन् । आफ्नो प्रयासमा केही साथीको पनि साथ मिल्ने अपेक्षा उनको छ । उनका बुवा विक्रम महर्जन र आमा शर्मिला महर्जन कीर्तिपुरका पुराना व्यवसायी पनि हुन् ।
नेपालमा पैसा कमाउन सकिने तर तरिका नेपालीले नजानेको चर्चा गर्दै उनले भनिन्, “धेरैले भने जस्तो यहाँको परिस्थिति र राजनीतिले आफ्नो व्यवसायमा कुनै फरक पर्ने छैन । यहाँ सरकारी क्षेत्रबाट सेवा लिन कठिन छ भनिन्छ । मलाई त्यस्तो लाग्दैन । म १० आँै पटक सेवाका लागि सरकारी ढोका ढकढकाउने छु । म केही गरेर पनि हिम्मत हार्दिनँ । व्यवसायमा नयाँ नाम र सफलता कायम गर्ने छु ।”
उनले नेपालसँगै फ्रान्सको पूर्वी हिमाली क्षेत्र र स्विट्जरल्यान्डको जेनेभामा समेत बेकरी खोल्ने योजना बनाएकी छन् । त्यहाँ उनले नेपाली स्वादलाई आधुनिक रूप दिन र स्थानीय उत्पादनलाई प्रयोग गर्ने छिन् ।
“आफूले कमाएको पैसा, घरपरिवारको आर्थिक सहयोग र साथीहरूको सहकार्यमा करिब १० करोडको लगानीमा ती दुई देशमा समेत बेकरी खोल्ने विचारमा छु,” रिस्ताले भनिन्, “फ्रान्स र स्विट्जरल्यान्डमा बेकरी खोल्दा त्यहाँका बैङ्कबाट ऋण लिने छु । फ्रान्स र स्विट्जरल्यान्ड त्यहाँका साथीहरू, सेफर र पढेको कलेजसँगसमेत सहकार्य गर्ने गरेर तयारी गरेको उनले बताइन् ।”
स्नातकोत्तर उत्तीर्ण गरेपछि उनलाई बेकरी, पेस्ट्री पढ्नका लागि फ्रान्स–नेपाल मैत्री सङ्घले सहजीकरण गरेको थियो । मैत्री सम्बन्ध अन्तर्गत सञ्चालित ‘फ्रान्स–नेपाल विद्यार्थी गतिशीलता कार्यक्रम’ मार्फत पर्यटन क्षेत्रसँग सम्बन्धित हस्पिटालिटी र ग्यास्ट्रोनोमीका विभिन्न विधामा विशेष प्रतिभा भएका नेपाली विद्यार्थीलाई फ्रान्समा अध्ययन र व्यावसायिक तालिमको अवसर प्रदान गरिन्छ ।
त्यस कार्यक्रमले विशेषतः कुजिन, बेकरी, पेस्ट्री जस्ता सिर्जनात्मक तथा सेवामुखी क्षेत्रमा सिप विकास गर्न इच्छुक युवा प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा सिक्ने र आफ्नो क्षमता अभिवृद्धि गर्ने मञ्च प्रदान गर्दै आएको छ ।
सोही कार्यक्रम अन्तर्गत रिस्ता सन् २०२० मा बेकरी तथा पेस्ट्री विधाका लागि चयन भएकी थिइन् । उनले फ्रान्सका प्रतिष्ठित संस्थानमा तालिम प्राप्त गर्ने अवसर पाइन् । जसले उनको पेसागत यात्रामा एक महत्वपूर्ण मोड ल्याएको छ ।
“यो अवसर प्राप्त गर्नका लागि फ्रान्स–नेपाल मैत्री सङ्घका अध्यक्ष विनोद खकुरेलको मार्गदर्शन र सहयोग निर्णायक रह्यो,” रिस्ताले भनिन् । उनको प्रेरणा र पहलले नै रिस्तालाई फ्रान्सेली सरकारको छात्रवृत्तिमार्फत सुनौलो अवसरको ढोका खोलिएको थियो ।
मैत्री सङ्घका अध्यक्ष खकुरेलका अनुसार रिस्ताको पढाइ तथा बेकरी र पेस्ट्रीको काम गर्दाको मेहनत, लगावबारे फ्रान्सका पत्रपत्रिका, टेलिभिजनले समेत महìवका साथ समाचार प्रकाशन र प्रसारण गरेका थिए ।
नाथमका ब्याचलर अफ होटेल म्यानेजमेन्ट संयोजक विनोद अर्यालले रिस्ताको कार्य अनुभवबारे स्मरण गर्दै भने, “रिस्ताले काठमाडौँकै यलो प्यागोडा होटेलमा राम्रो काम गरेको र मलेसियामा पनि प्रशिक्षण अवधि राम्रोसँग पूरा गरेकाले उनी बेकरी व्यवसाय कुशलतापूर्वक चलाउन सक्छिन् ।”
–युवामञ्च