धनगढी, चैत १३ गते । डा. आनन्दबहादुर चन्द राजनीतिमा नयाँ पात्र हुनुहुन्छ । प्राध्यापन, स्वास्थ्य र शैक्षिक क्षेत्रमा लामो समयसम्म काम गर्नुभएका डा. चन्द राजनीतिमा लागेकै वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार भएर सुदूरपश्चिमकै राजनीतिक, प्रशासनिक र व्यापारिक केन्द्र रहेको धनगढीसहितको कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँले डोटीबाट लगातार तीन पटक चुनाव जित्नुभएका नेकपाका नेता प्रेमबहादुर आलेमगर, नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनु र नेकपा (एमाले) का कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानालाई हराउनुभएको छ । डा. चन्दले ३१ हजार ९५३ पाउदा शाहले ११ हजार ९५८ मत मत पाउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकका रूपमा १७ वर्ष सेवा गर्नुभएका डा. चन्दले शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा समेत आफूलाई सक्रिय बनाउँदै आउनुभएको छ । त्रिविको स्थायी जागिर छोडेर राजनीतिमा किन हामफाल्नुभयो भन्दा उहाँ भन्नुहुन्छ, “अहिलेसम्म राजनीतिलाई गलत भनियो अब क्षेत्र ठिक हो, यसले नै समाज परिवर्तन गर्छ भन्ने मान्यता स्थापित गर्न राजनीतिमा आएको हो ।” उहाँले विगतको भन्दा अबको राजनीति सुधारिएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बैतडीको मेलौली नगरपालिका–५ जन्मिनुभएका डा. चन्द अहिले कैलालीको धनगढी उपमहानगरपालिका–८ को स्थायी बासिन्दा हुनुहुन्छ । विकास, सुशासन र रूपान्तरणमा जोड दिने उहाँले एसएलसी बैतडीमै, प्रमाणपत्र तह भारत, स्नातक सिद्धनाथ बहुमुखी क्याम्पस कञ्चनपुर र जैविक रसायनशास्त्रमा त्रिविबाट स्नातकोत्तर पूरा गर्नुभएको छ । उहाँले त्रिविवि तथा अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा जैविक रसायनशास्त्रमै विद्यावारिधि पूरा गर्नुभएको छ । उहाँका अध्ययन र अनुसन्धानहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
जनस्वास्थ्यका विषयमा रुचि राख्नुहुने डा. चन्द विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानमा सक्रिय हुनुहुन्थ्यो । ती विषयमा नीति बनाउनेदेखि कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले उहाँले अभियानसमेत चलाउनुभएको थियो । उहाँले सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूमपान निषेध कानुन, विज्ञापन नियन्त्रण जस्ता नीतिमा सरकारलाई सहयोग मात्र गर्नुभएको थिएन, आवश्यक पर्दा कडा प्रश्न पनि गर्नुभएको थियो ।
डा. चन्दले नसर्ने रोगको विषयमा आयरल्यान्डदेखि नेदरल्यान्ड्स, दक्षिण अफ्रिकादेखि संयुक्त अधिराज्य, मेक्सिको, इन्डोनेसियासम्मका अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । नेपालको प्रशासनिक जिम्मेवारीमा पनि उहाँले सुधारको छाप छोड्नुभएको छ । नेपाल खाद्य संस्थानको अध्यक्ष भएर संस्थागत सुधारमा प्रयास गरेको बताउनुहुने डा. चन्दले बिपी कोइराला मेमोरियल प्लान्टेरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशकका रूपमा विज्ञानलाई आम मानिससँग जोड्ने काम पनि गर्नुभएको थियो ।
स्वास्थ क्षेत्र बुझेकाले नै होला बहुचर्चित कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालसँग सेती र महाकाली प्रादेशिक अस्पताललाई एकीकृत स्वास्थ्य सेवामा जोडेर जनतालाई सुविधा दिने गरी काम गर्ने उहाँले बताउनुभयो । गरिबी अन्त्यका लागि कृषि नीति बदल्दै मल, बिउ र बजारीकरणमा ध्यान दिएर कृषि क्षेत्रलाई बलियो बनाउन लागि पर्ने प्रतिबद्धता जनाउँदै उहाँ भन्नुहुन्छ, “सुदूरपश्चिमको विकासका लागि धनगढीसँग जोडिएको भारतको गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पनि पहल गर्छु ।” धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनेबारे अध्ययन गरिरहेको बताउँदै उहाँले अध्ययनपछि मात्र आफ्नो धारणा राख्ने बताउनुभयो ।