• २० चैत २०८२, शुक्रबार

पछाडि परेका वर्गको अधिकारका लागि आवाज उठाउँछु

blog

धनगढी, चैत २० गते । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा ज्यान जोगाउन सफल ४४ वर्षीय निराशा चौधरी यस पटक प्रतिनिधि सभा सदस्य हुन सफल हुनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७, सिमपुर घर भएकी चौधरी कैलालीको कैलारी गाउँपालिका–१, हसुलियामा जन्मनुभएको हो ।

पछाडि परेका उत्पीडित वर्ग, समुदाय र महिला अधिकारका लागि सङ्घर्ष गर्नु पर्छ भन्दै स्कुल पढ्दापढ्दै माओवादी पार्टीमा हुलाकीको काम गरेकी निराशा २०५८ सालमा २० वर्षकै उमेरमा भूमिगत हुनुभएको थियो । युद्धमा लागेकै कारण एसएलसी उत्तीर्ण गर्न सक्नुभएन । उहाँ भन्नुहुन्छ, “पास गर्न लागौँ भन्ने अवस्था नै बनेन ।” भूमिगत भएपछिका चार वर्ष भने निकै कष्टकर बनेको उहाँ स्मरण गर्नुहुन्छ । उहाँका अनुसार २०५९ सालमा कैलालीको पहाडी क्षेत्र खिमडीमा सुरक्षाकर्मीले उहाँकै अगाडि तीन जनालाई मा¥यो । उहाँ भने बाँच्न सफल हुनुभयो । खिमडीबाट बाँचे पनि लगत्तै उहाँ पक्राउ पर्नुभयो । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “त्यसपछिका यातनाका कुरा भनिसाध्य छैन । मलाई विभिन्न ठाउँ राख्दा नाङ्गै पारेर सिस्नुपानीसमेत लगाइयो । सेन्टर जेलमा बसेपछि भने केही सहज भयो ।”

उहाँ करिब २८ महिना हिरासत र जेल बसाइपछि भारतको दिल्लीमा १२ बुँदे सहमति भएको तीन दिनपछि २०६२ मङ्सिर ८ गते जेलबाट छुट्नुभयो । १४ वर्षको उमेरदेखि नै तत्कालीन माओवादी नेता जोख्खन चौधरीको प्ररेणाले राजनीतिमा सक्रिय भएकी प्रतिनिधि सभा सदस्य चौधरी सेल कमिटी, विद्यार्थीका विभिन्न कमिटी हुँदै युद्धकालमै अखिल नेपाल महिला सङ्घको जिल्ला सचिव बन्नुभएको थियो । उहाँ हाल कञ्चनपुर जिल्ला कमिटीको सदस्य हुनुहुन्छ ।  उहाँले २८ वर्षको उमेरमा २०६६ सालमा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमान्डर कर्णबहादुर डगौरासँग विवाह गर्नुभयो । प्रतिनिधि सभा सदस्य भएपछि युद्धकालमा घाइते, अपाङ्गता भएका, बेपत्ता भएका, हिरासतमा जन्मेका बच्चा, बलात्कार र यौन हिंसामा परेकाले न्याय पाउनु पर्छ भन्दै दबाब दिने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।  उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिस कार्यान्वयनमा लैजान पनि प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रतिनिधि सभा सदस्य हुँदा खुसी लागेको छ तर उत्पीडित समुदाय थारू, जनजाति, दलित र महिलालाई अधिकार दिने कानुन बनाउने चुनौती छ । ती विषयमा कानुन बनाउन विज्ञको सल्लाह लिएर सरकार र संसद्लाई दबाब दिने छु ।” उहाँले जनतालाई राहत दिन उचित कृषि नीति बनाएर बिउबिजन, मल, सिँचाइ पु¥याउने र उत्पादिन कृषि उपजको बजारीकरण गर्न सरकारलाई दबाब दिने आफ्नो योजना रहेको बताउनुभयो । कञ्चनपुरकै गीता चौधरी कृषि तथा पशुपन्छी विकासमन्त्री भएकाले किसानका पीरमर्का बुझ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेतृ चौधरी थारू समुदायको भलमनसा र बडघर प्रथा संरक्षण हुनुपर्ने धारणा राख्दै ती विषयमा आवश्यक कानुन बनाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा भारतले सीमा मिचेको बताउँदै उहाँ ती कुरा आवश्यक ठाउँमा उठाएर समस्या समाधान गराउनतिर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।