धनगढी, कात्तिक २४ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था निराशाजनक देखिएको छ । पछिल्ला केही वर्षयता एसइई, कक्षा ८ तथा अन्य कक्षाका विद्यार्थीको सिकाइमा अपेक्षाकृत सुधार नदेखिएको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ । सुदूरपश्चिममा तीन हजार ३४३ सामुदायिक र ७४७ संस्थागत विद्यालय छन् । २०८० को एसइईमा ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकामा २०८१ मा त्यो बढेर ६१.८१ पुगेको छ । उत्तीर्ण सङ्ख्यामा सुधार देखिए पनि सिकाइमा अपेक्षाकृत सुधार नदेखिएको बताइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डिन डा. भवानसिंह चलाउने उत्तीर्ण प्रतिशतलाई सिकाइको उपलब्धि मान्न नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उत्तीर्ण हुनाका कारण अनेक हुन सक्छन् तर सिकाइ उपलब्धि कति छ त्यो महत्वपूर्ण हो । सुदूरपश्चिमको समग्र सिकाइ उपलब्धि ५० प्रतिशतको हाराहारीमा छ । यो अवस्थामा सुधार हुन जरुरी छ । यद्यपि संस्थागततर्फको सिकाइ उपलब्धि ६० प्रतिशतको हाराहारीमा छ ।”
शैक्षिक सत्र २०८० मा कञ्चनपुरबाट एसइईमा झन्डै ६१.८३ प्रतिशत विद्यार्थी असफल भएका थिए । कञ्चनपुरबाट पाँच हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी भएकामा सो शैक्षिक वर्षमा ३८.१६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । शैक्षिक सत्र २०८१ मा भने कञ्चनपुरबाट ४५.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।
विसं २०७५ यता केही प्रतिशतका दरले विद्यार्थी उत्तीर्ण हुने क्रम बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । अपेक्षा गरे अनुरूप भने यहाँका विद्यालयले नतिजा ल्याउन नसकेको गिरीले बताउनुभयो । १७५ सामुदायिकसहित २९३ विद्यालय रहेको कैलालीमा शैक्षिक उपलब्धि भने निराशाजनक छ । संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिकस्तर झन् कमजोर हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरीप्रसाद ज्ञवाली बताउनुहुन्छ । विद्यालय निरीक्षक हटाइएकाले विद्यालयहरूमा गरिने अनुगमनसमेत नहुँदा शैक्षिकस्तर खस्कँदै गएको उहाँले बताउनुभयो । पछिल्लो समय अधिकांश विद्यार्थी लागुऔषध दुव्र्यसनको सिकार भएर होला, सामुदायिक विद्यालयको नतिजा खस्कँदो क्रममा रहेको उहाँले बताउनुभयो ।
कैलालीमा शैक्षिक सत्र २०८० मा १४ सामुदायिक विद्यालय र एक संस्थागत गरी १५ विद्यालयको एसइई नतिजा शून्य आएको थियो । सो शैक्षिक सत्रमा कैलालीबाट ३०.०५ प्रतिशत विद्यार्थी मात्रै एसइई परीक्षामा उत्तीर्ण भएका थिए । नमुना विकास कार्यक्रम लागु भएका आठ वटा नमुना सामुदायिक विद्यालयमध्ये छ सामुदायिक विद्यालयको नतिजा २० प्रतिशतभन्दा कम आएको थियो । यसले पनि नमुना विद्यालयमा सरकारले गरेको लगानी खेर गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । कैलालीमा शैक्षिक सत्र २०८१ मा भएको एसइई परीक्षामा ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भने विद्यार्थी न्यून मात्रामा विद्यालयमा उपस्थित हुने गरेका पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले सवारीसाधन र बाटोको समस्याले गर्दा आवेदन फाराम भर्नेमध्ये प्रतिवर्ष एसइईमा चार सय र कक्षा ८ मा छ सयको हाराहारीमा विद्यार्थी परीक्षामा सहभागी नै नहुने गरेको बताउनुभयो । यसले गर्दा पनि यहाँको सिकाइ प्रभावकारी नभएको उहाँले बताउनुभयो । बैतडीमा शैक्षिक सत्र–२०८० मा ३१ प्रतिशत र शैक्षिक सत्र–२०८१ मा ५२ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण भएका थिए । १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये बैतडीमा चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो ।
दार्चुलामा पछिल्ला केही वर्षयता विद्यालयको नतिजामा सुधार हुँदै गएको देखिएको छ । यहाँ १०/१२ प्रतिशतका दरले विद्यालयको नजिता सुधारोन्मुख देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख जयराज पन्तले बताउनुभयो । शैक्षिक सत्र–२०८१ मा दार्चुलाका ७७ विद्यालयबाट चार विद्यालयको नतिजा शून्य आएको थियो । “केही राम्रो गर्न खोज्ने प्राध्यापक भएका विद्यालयमा नजिता सुधारोन्मुख भएको देखिन्छ,” शिक्षा शाखा प्रमुख पन्तले भन्नुभयो, “बाँकी विद्यालयमा भने सुधार हुन सकेको छैन ।”
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा दुर्गममा रहेका सामुदायिक विद्यालयको नतिजा कमजोर रहेको उहाँले बताउनुभयो । बाजुरामा भने विद्यार्थीको सिकाइ उपलब्धि सन्तोषजनक रहेको जनाइएको छ । बाजुरामा शैक्षिक सत्र २०८१ मा ५८.७२ प्रतिशतले एसइई उत्तीर्ण गरेका थिए; जुन सुदूरपश्चिम प्रदेशकै उच्च दर पनि हो । शिक्षा समन्वय एकाइ बाजुराका प्रमुख टीकाराम जोशी अभिभावक, शिक्षक र विद्यार्थीले दायित्वबोध गरेपछि क्रमिक रूपमा शैक्षिकस्तरमा सुधार हुँदै गएको बताउनुभयो ।
अछाममा सिकाइ उपलब्धि सोचे अनुरूप प्रभावकारी हुन सकेको छैन । शिक्षा समन्वय एकाइ अछामका प्रमुख अम्बादत्त जोशीले एसइईमा विगत वर्षभन्दा केही सुधार हुँदै गए पनि समग्र सिकाइ उपलब्धि अपेक्षाकृत हुन नसकेको बताउनुभयो । अछाममा शैक्षिक सत्र २०८० मा एसइईमा २८.८५ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने २०८१ मा ४०.७५ प्रतिशत सफल भएका थिए ।
बझाङमा भने विद्यार्थीको सिकाइ उपलब्धिको वर्तमान अवस्था निराशाजनक देखिन्छ । शिक्षा समन्वय एकाइ बझाङका सूचना अधिकारी वसन्त सिंहले गत वर्ष ३१ प्रतिशत विद्यार्थी मात्रै एसइईमा सफल भएका बताउनुभयो । डडेलधुरा र डोटीमा पनि सिकाइ उपलब्धिको वर्तमान अवस्था सन्तोषजनक देखिएको छैन । डडेलधुरामा त झनै सामुदायिक विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था दयनीय रहेको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डोटीका सूचना अधिकारी पदमबहादुर साउदले जिल्लामा ३८५ सामुदायिक विद्यालय र ४७ संस्थागत विद्यालयमध्ये संस्थागत विद्यालयको सिकाइ उपलब्धि सन्तोषजनक रहेको बताउनुभयो । डोटीमा शैक्षिक सत्र २०८० मा १७ प्रतिशत र २०८१ मा २९ प्रतिशत विद्यार्थी एसइई उत्तीर्ण भएका थिए । वर्षमा २२० दिनसम्म पढाइ गरिनुपर्ने भए पनि सुदूरपश्चिमका विद्यालयमा भने १५० देखि १५२ दिन मात्रै विद्यालय खुल्ने गरेका छन् । बन्द, हडताल, प्रदेश सरकारले दिने बिदा, स्थानीय सरकारले दिने बिदा तथा कुनै समय विद्यालयले नै दिने अनिश्चित विद्याका कारण यहाँस्थित शैक्षिक संस्थामा पाठ्यक्रम पूरा गर्ने गरी विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।