• २१ असोज २०८२, मङ्गलबार

थारू समुदायको साङ्गठनिक संरचना

blog

थारू समुदाय आफ्नो समुदाय र परिवारमा ज्यादै व्यवस्थित र अनुशासित जाति मानिन्छ । यस जातिको घरायसी, सामुदायिक तथा पेसागत र कृषि कामका लागि फरक फरक जिम्मेवारीसहितको साङ्गठनिक संरचना रहेको हुन्छ । त्यसैले आज पनि थारू समुदायमा पारिवारिक सङ्गठन बलियो देखिन्छ । 

आफ्नो पदीय जिम्मेवारी बोध गरेर परिवारका सदस्य बस्दछन् । जसका कारण हरेक काम तालिकाबद्ध र तादात्म्य मिलेको देखिन्छ । थारू समुदायमा एउटा भनाइ प्रचलित छ, ‘सप्रल घरक सन्झ्या सल्ला, बिग्रल घरक बिन्ह्या सल्ला’ अर्थात् घरको पारिवारिक सम्बन्ध राम्रो हुनेहरूको साँझमा सल्लाह हुन्छ र घर भाँडिएकाहरूको बिहानीपख मात्र छलफल हुन्छ । 

थारू समाजमा खास गरेर बेलुकीको खाना खाइसकेपछि सरसल्लाह हुने गर्दछ । भोलि क कसले के के काम गर्ने भनेर टुङ्गो लगाइन्छ । हरेक तहको जिम्मेवार व्यक्ति वा पदाधिकारीको काम र कर्तव्य स्पष्ट हुने भएकाले काममा दोहोरोपना र विवादको सम्भावना कम रहन्छ । 

आफ्नो परिवारमा बलियो सम्बन्ध स्थापित गर्न, राम्रो व्यवस्थापन, मेलमिलाप,  एकता र सन्तुलन कायम राख्नका लागि परिवारभित्र पनि साङ्गठनिक संरचना रहन्छ । थारू समुदायमा एउटा परिवारमा किसन्वा अर्थात् गरढुरियो (घरमुली) को ज्यादै महत्वपूर्ण स्थान रहेको हुन्छ । उसैको आज्ञा र निर्देशनमा घरका सबै कामकाज हुने गर्दछ । 

थारू समुदायमा संयुक्त परिवार प्रणाली प्रचलित रहेको छ । प्रायः थारूहरू संयुक्त परिवारमै बस्न रुचाउँछन् । बाहिरबाट कामदार राख्ने थारू परिवार ज्यादै कम देखिन्छन् । 

घरमुलीलाई थारू भाषामा किसन्वा वा गरढुरिया भनिन्छ । यो पद खास गरी जन्मसिद्ध रहन्छ । घरको जेठोबाठो जो हुन्छ उसैलाई किसन्वा बनाइन्छ । उनले घरका सबै सदस्यलाई कामको जिम्मेवारी तोक्ने काम गर्दछन् । बुवा रहुन्जेल जेठो छोराले किसन्वा बन्न पाउँदैन । बुवाको अवसानपछि मात्र किसन्वा बन्न पाइन्छ तर बुवाले आफूखुसी वा काम गर्न अशक्त भई जिम्मेवारी दिएमा उक्त जिम्मेवारी जेठो छोराले लिन मिल्छ । 

जेठो छोरो कुनै कारणले किसन्वा पद धारण गर्न अशक्त, असक्षम भएमा अर्को कुनै छोरालाई किसन्वा बनाउने पनि गरिन्छ । किसन्वाले घरको नगदी जिन्सीको जिम्मा लिनुका साथै घरबाहिरको कामको चाँजोपाँजो मिलाउनु पर्दछ । किसन्वाको जिम्मेवारी प्रायः माघ महिनामा दिइन्छ । 

किसन्वा वा गरढुरियाकी श्रीमतीलाई किस्निन्या वा गरढुरिन्या भनिन्छ । उनले श्रीमान्को काममा सघाउनुका साथै महिलाको दुःख, समस्या समाधानमा सहयोगी बन्नु पर्दछ । साथै घरभित्र अन्नपातको अवस्था, महिलाहरूले आफ्नो जिम्माको काम राम्ररी गरे नगरेको निरीक्षण र निर्देशन पनि दिने काम गर्छिन् । 

किसन्वाको तुलनामा यिनको जिम्मेवारी केही कम हुन्छ तर घरमा सन्तुलन र एकता बनाइराख्न यिनको भूमिका ज्यादै महत्वपूर्ण रहन्छ । घरका अन्य सदस्यले किसन्वाको निर्देशनलाई सहर्ष स्वीकार गरी पालना गर्नु पर्दछ । थारू जातिको प्रमुख पेसा कृषि भएकाले कृषि कामकाजमा सहयोग गर्नु प्रमुख जिम्मेवारी रहन्छ । साथै विशेष सिप भएका सदस्य भने किसन्वाको स्वीकृति र सहमति लिएर अन्य काम पनि गर्न पाउँछन् जस्तै काठको मिस्त्री, ज्यालादारी, नोकरी, पढाइलेखाइ आदि । 

थारू समाजमा पारिवारिक सङ्गठन सँगसँगै सामाजिक सङ्गठन पनि उत्तिकै महत्वपूर्ण रहेको हुन्छ । गाउँको सामाजिक काम, विकासका काम, मर्दापर्दा संयुक्त रूपमा काम गराउने विभिन्न संरचनागत सङ्गठन थारू समाजमा रहेको हुन्छ । थारूको प्रत्येक गाउँमा एक एक जना बरघरिया, चौकीदार, गुरुवाको व्यवस्था रहन्छ । 

बरघरियाले गाउँभरिको कामकाजको अगुवाइ गर्छन् । गाउँको संरक्षक, अगुवाका रूपमा बरघर हुन्छ । गाउँको प्रशासनिक कार्यदेखि गाउँघरको विकास कार्य, विवाह, घरायसी झैँझगडासमेत मिलाई छिनोफानो गर्ने जस्ता सामूहिक कार्यका लागि गाउँको मुख्य मान्छेलाई बरघरिया चयन गरिन्छ । 

गाउँ समाजमा जस्तोसुकै समस्याको निकास दिने जिम्मेवारी बरघरियाको काँधमा हुन्छ । थारू समुदायमा जसरी परिवारमा एउटा किसन्वाको स्थान महत्वपूर्ण हुन्छ त्यसै गरी बरघरियाको स्थान पनि ज्यादै महत्वपूर्ण र सम्मानित मानिन्छ । उनलाई सघाउन सहायक बरघर, चौकीदार आदिको व्यवस्था गरिएको हुन्छ । सबै जनाको चयन गाउँका किसानले प्रत्येक वर्ष माघ महिनामा गर्छन् ।

थारू जातिको पारिवारिक जिम्मेवारी विभाजनमा किसन्वा, किस्निन्या, कमैया, बुक्रही, कमलरी, भैँसरवा, छेग्रह्वा आदि पर्छन् । त्यस्तै सामाजिक सङ्गठन अन्तर्गत बरघर, सहायक बरघर, चौकीदार, चिरक्या आदि रहेका हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरिएकाले काम यथासमयमा सम्पन्न हुने गर्दछ । 

–युवामञ्च

Author

निशा चौधरी