• १३ साउन २०८१, आइतबार

हाम्रो समृद्धिको बाधक सीमापारिको बजार

blog

राजविराज भन्सार कार्यालय । तस्वीर : ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी) कात्तिक ८ गते । सीमापारिको भारतीय बजारमा स्थानीय नागरिक किनमेलमा जाने भएपछि आन्तरिक बजार सुकेको छ । खुला सीमाका कारण विना भन्सार सामान आयात हुने भएपछि लाखौँ रुपियाँ बरावरको राजस्व दैनिक खेर गइरहेको स्थानीय व्यापारीको बुझाइ छ ।

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने भारतीय सीमापारिको कुनौली बजारमा स्थानीयहरूको भीड लाग्नेगरेको छ । दैनिक आवश्यकताको वस्तु किनमेलका लागि सप्तरीका अधिकांश नागरिक कुनौली बजार जाने गरेको स्थानीयले बताएका छन् । यसले ठूलो मात्रामा नेपाली रुपियाँ भारतीय बजारमा बाहिरिनेगरेको तिलाठी कोइलाडी – १ का युवा शम्भुनाथ मिश्रले बताउनुभयो । 

दिनहुँ उपभोग गर्ने खाद्यान, लत्ताकपडा, भाँडावर्तन, विवाहका सामग्री, श्राद्धलगायत सामाजिक कार्य तथा भोजभतेरमा चाहिने सामग्री खरिद गर्न सीमापारी जाँदा लाखौँ रुपियाँ दैनिक रूपमा बाहिरिनेगरेको उद्योग वाणिज्य सङ्घ सप्तरीका महासचिव अमृत संचेतीले बताउनुभयो । सीमापारीको बजारमा स्थानीय नेपालीको भीड लागे पनि स्वदेशी बजार राजविराज सुनसानजस्तै रहनेगरेको उहाँको भनाइ छ । 

दैनिक अत्यावश्यक सामान खरिदका लागि नेपाली मुद्रा बिदेसिएको देख्दा हाम्रो सम्बृद्धिको  एउटा समस्या खुला सीमा भएको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘सुधार ल्याउन हाम्रो व्यवहारमा, बस्तुको मूल्यमा र सीमा स्तरको व्यापारमा समयानुकूल परिवर्तित सोच बनाउन जरुरी छ ।’ नेपाली बजारमा भारतीय नागरिकलाई किनमेलका लागि आकर्षित गर्न सकेमात्र नेपालको समृद्धि कायम हुने उहाँको भनाइ छ ।

राजविराज भन्सार कार्यालयका कर्मचारी हरेकृष्ण साहका अनुसार भन्सारमा कर्मचारीको अभाव हुँदा निगरानी गर्न सकिएको छैन । भन्सार कार्यालय प्रमुखविहीन भएको र निमित्त भन्सार प्रमुख पनि बिदामा हुँदा भन्सार गराउन स्थानीयहरू चाहँदा पनि बिल काट्न नसकिएको साहले बताउनुभयो । सेवाग्राहीहरू घण्टौ कुर्दा पनि बिल काट्ने कर्मचारी नहुँदा समस्या भएको उहाँको भनाइ छ ।