• १९ असोज २०८१, शनिबार

माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश

blog

दिवाकर पोख्रेल

देउखुरी, कात्तिक ७ गते । दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यवसायी निराश छन् ।  

अहिले कुमाल समुदायले तिहार पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, खक्रुके, गमला, पटेला, ठेकुवा, करुवा, पैनी लगायतका भाँडा लक्ष्यअनुसारको बजार नपाएको कुमाल समुदायको भनाइ छ । चाडपर्व लक्षित निर्माण गरिएका माटाका भाँडाले बजार नपाउने भएपछि लगानी डुब्ने चिन्ताले सताउन थालेको गढवा गाउँपालिका १ बडहरा निवासी राजकुमार थारुले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘मौसम खुलेपछि हतार हतार गरेर बनाएका माटाका भाँडाले यो वर्ष सोँचेअनुसारको बजार पाएन, यो वर्ष लगानी डुब्ने होकि चिन्ता लाग्न थालेको छ ।’ मौसम खुल्यो भने सुकाउने र पकाउने काम गर्छौ, यो समयमा जति सकिन्छ बनाउनेतर्फ लागेका छौँ थारुले बताउनुभयो । 

चाडपर्व नजिकिएसँगै कुमाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्भाई हुन्छ । तर बजार प्लास्टिक भाँडाले लिएपछि माटोका भाँडा कम बिक्री हुनेगरेको व्यावसायीहरुको भनाइ छ । विगत वर्षमा दाङको गढवामा निर्माण गरिएको माटाका भाँडा दाङसहित छिमेकी जिल्ला र ठूला सहरमा समेत विक्री हुनेगरेको भए पनि यस वर्ष कम भाँडाहरू बिक्री भएको उहाँहरूको बुझाइ छ ।

गढवा १ पत्रीङ्गाका गाजुराम कुमालले माटाका पालाको लागि प्रत्येक वर्ष प्युठानबाट माग आए पनि अहिले नआएको बताउनुभयो । कुमाल समुदायले प्रति पाला सात रुपियाँ थोकमा विक्री गर्नेगरेको उहाँले जानकारी दिनुभयो । दाङ गढवा गाउँपालिकाका वडा नम्बर १ मा मात्रै ४५ घर परिवार यस पेसामा संलग्न रहेका छन् । 

यस्तै गढवा गाउँपालिकाको वडा नम्बर ४ खैरामा पनि २५ घरपरिवार माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । गढवाकै वडा नम्बर ६ गढवा कुमाल टोलमा पनि १५ घरपरिवार माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । गढवा गाउँपालिकाको सबैजसो वडामा कुमाल समुदायले माटाका भाँडा बनाउने पेसा अँगालेका कारण मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले पनि कुमाले पेसालाई संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ ।