- हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा एउटै तस्बिरले बोल्ने यथार्थलाई गोरखापत्रले सुरुदेखि नै अङ्गीकार गर्दै आएको छ; जसको उदाहरण छापा माध्यमको इतिहासमै पहिलो पटक विसं १९८४ वैशाख १३ गते प्रकाशित तस्बिरलाई लिन सकिन्छ ।
- गोरखापत्र र ‘दी राइजिङ नेपाल’ मा ‘खेल’, ‘कला’, ‘संस्कृति’, ‘विकास’, ‘भिलेज प्रोफाइल’ भनेर तस्बिर छापिन थाल्यो । ‘न्युज रुम च्याट’ भनेर पनि फोटो छापिन थाल्यो ।
- ‘डार्करुम’ र ‘ब्लक मेसिन’ लाई आत्मसात् गर्दै अहिलेको ‘स्मार्ट गोरखापत्र’ को प्रारूपसम्म आउँदा यसले धेरै इतिहास रचेको छ । पत्रकारितामा तस्बिरको महत्वलाई दर्साउने श्रेय पनि गोरखापत्रलाई जान्छ ।
- राजाको कार्यक्रम भएको बेला गोरखापत्र ढिला पनि निकालिन्थ्यो । त्यो बेला ‘स्टप दी प्रेस’ कति भयो कति । संवाद सचिवालयबाट ‘गो अहेड’ नआएसम्म कोही सम्पादक चुइँक्क बोल्दैनथे ।
नेपालमा छापा माध्यमको इतिहासबारे चर्चा गर्दा गोरखापत्रको नाम अग्रपङ्क्तिमा आउँछ । विसं १९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित हुँदै आएको नेपालको एक मात्र अखबार गोरखापत्रले त्यसयता नेपाली जनतालाई सुसूचित मात्र होइन, सचेत र जागरुक पनि बनाउँदै आएको छ । हप्ताको एक पटक हुँदै दैनिकसम्मको यात्रा, श्यामश्वेतदेखि रङ्गीन कलेवरको प्रकाशन र ‘न्युज प्रिन्ट’ देखि आधुनिक ‘अफसेट प्रेस’ सम्मको यात्रामा गोरखापत्रले विभिन्न चरण पार गरेको छ । ‘डार्करुम’ र ‘ब्लक मेसिन’ लाई आत्मसात् गर्दै अहिलेको ‘स्मार्ट गोरखापत्र’ को प्रारूपसम्म आउँदा यसले धेरै इतिहास रचेको छ । पत्रकारितामा तस्बिरको महत्वलाई दर्साउने श्रेय पनि गोरखापत्रलाई जान्छ । हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा एउटै तस्बिरले बोल्ने यथार्थलाई गोरखापत्रले सुरुदेखि नै अङ्गीकार गर्दै आएको छ; जसको उदाहरण छापा माध्यमको इतिहासमै पहिलो पटक विसं १९८४ वैशाख १३ गते प्रकाशित तस्बिरलाई लिन सकिन्छ ।
गोरखापत्रले मानवीय रुचि र विकासका तस्बिरलाई प्राथमिकतासाथ प्रकाशित गरी राजपरिवारको तस्बिर मात्र हेर्नयोग्य हुन्छन् भन्ने भाष्यलाई पनि विस्थापित ग¥यो । नेपालमा फोटोग्राफीको सुरुवात १९ औँ शताब्दीमा भएको मानिन्छ । यो सुरुवात राजदरबारसँग सम्बन्धित व्यक्तिहरूबाट सुरु भएको मानिन्छ । फोटोग्राफी नेपालको इतिहासलाई अभिलेख गर्न र कलाका रूपमा विकास गर्न पनि महत्त्वपूर्ण साबित भएको छ ।
इतिहास खोतल्दै जाँदा नेपालमा फोटोग्राफीको सुरुवात जङ्गबहादुर राणाको बेलामा भएको मानिन्छ । जङ्गबहादुरले आफ्नो संयुक्त अधिराज्य (बेलायत) भ्रमणका क्रममा फोटोग्राफीबारे पर्याप्त जानकारी मात्र लिएनन्; प्रविधि पनि भित्र्याए । नेपालमा प्रारम्भिक फोटोग्राफी दरबारका चित्र र महत्त्वपूर्ण घटनाहरू क्यामरामा कैद गर्न प्रयोग भएको थियो । राणा शासकहरूले फोटोग्राफीलाई आफ्नो व्यक्तिगत र राजनीतिक शक्ति प्रदर्शनको माध्यमका रूपमा प्रयोग गरे । राजपरिवार र दरबारका सदस्यहरूको चित्र खिच्ने कामका लागि विदेशी फोटोग्राफरहरूलाई बेला बेलामा बोलाइन्थ्यो ।
१९ औँ शताब्दीको अन्त्यतिर केही नेपालीले पनि फोटोग्राफी सिक्न थालेका पाइन्छ । सुरुवाती चरणमा ‘ब्ल्याक एन्ड ह्वाइट’ क्यामरा प्रचलनमा थियो । यस्ता क्यामरामार्फत सामाजिक र सांस्कृतिक घटना, पर्व र ऐतिहासिक क्षणहरूलाई फोटोग्राफीमार्फत उतार्न थालियो । रङ्गीन फोटोग्राफीको विकास सन् १९७० को दशकतिर भएको हो । आधुनिक क्यामराहरू प्रयोगमा आउन थालेपछि मात्र फोटोग्राफीले व्यावसायिक रूप लिन थालेको पाइन्छ । फोटोग्राफीको महत्त्व बढ्दै जाँदा पुस्तक, पत्रिकामा पनि यसले स्थान पाउन थालेको पाइन्छ । श्यामश्वेत हुँदै अहिले डिजिटल क्यामरा र स्मार्टफोनको विकासले फोटोग्राफी सर्वसाधारणका लागि सहज बनेको छ । त्यसमा पनि ‘फोटो एडिटिङ सफ्टवेयर’ हरू जस्तै ‘एडोब फोटोसप’ र ‘फेसबुक’, ‘इन्स्टाग्राम’, ‘एक्स’ (ट्विटर), ‘युट्युब’, ‘टिकटक’ जस्ता सामाजिक सञ्जालले फोटोग्राफीको लोकप्रियतालाई व्यापक बनाउँदै लगेको छ । सामाजिक अभियन्ता र मिडियाले पनि फोटोग्राफीलाई जागरुकता फैलाउनका लागि प्रयोग गरिरहेका छन् । यतिबेला फोटोग्राफी पर्यटन, मिडिया, विज्ञापन, विवाह र फेसनमा अत्यन्तै लोकप्रिय छ । विभिन्न फोटो प्रतियोगिता, कार्यशाला र फोटोग्राफी प्रदर्शनीहरूले पनि यस क्षेत्रमा युवा पुस्तालाई आकर्षित गरिरहेको छ । ‘ड्रोन फोटोग्राफी’ र ‘एडभान्स क्यामरा’ प्रयोग हुँदै छ । ‘स्मार्टफोन फोटोग्राफी’ ले यसको पहुँच सबैसम्म पुर्याएको छ ।
नेपालको फोटो पत्रकारिताको यात्रामा करिब चार दशक बिताएका गोरखापत्रका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारले यसबारे धेरै कुरा स्मरण गर्नुभएको छ ।
गोरखापत्रमा तस्बिरको प्रयोग
गोरखापत्रमा पहिलो तस्बिर विसं १९८४ वैशाख १३ गते प्रकाशित भए पनि नियमित रूपमा आउँदैनथ्यो । तस्बिर प्रकाशित गर्ने कुरा आक्कलझुक्कल मात्र हुन्थ्यो । त्यो पनि अत्यन्त महत्त्वपूर्ण घटना र राजपरिवारको मात्र । प्रधानमन्त्रीको त कहिलेकाहीँ छापिन्थ्यो । सर्वसाधारण र मानवीय रुचिका तस्बिर निकाल्ने भन्ने चलन नै थिएन । त्यो बेला तस्बिर खिच्ने काम तत्कालीन सूचना विभागले गथ्र्याे । विभागका फोटोग्राफरले तस्बिर खिचेपछि उनीहरूकै तजबिजमा सम्पादन भई गोरखापत्रमा पठाइन्थ्यो । प्रिन्ट मात्र होइन; उत्पादनको गुणस्तर पनि खराब थियो, ब्लकमा छापिन्थ्यो । तस्बिरको क्याप्सन हेरेर चित्त बुझाउनुपर्ने स्थिति थियो ।
विसं २०३० तिरको कुरा हो, गोरखापत्रमा यसरी तस्बिरको प्रयोग हुँदै आएको कुरा मन्त्रालयमा उठेपछि गोरखापत्रमा आफ्नै फोटो सम्पादक हुनुपर्ने सल्लाह भएछ । त्यसपछि फोटोग्राफर माग भएको हो । त्यसअघिसम्म गोरखापत्रको आफ्नो फोटोग्राफर थिएन । त्यतिबेला म पेन्टिङ छोडेर फोटोग्राफीतर्फ आकर्षित भएको युवा थिएँ । माग भएबमोजिम मलगायत धेरैले गोरखापत्रमा आवेदन दिए र मलाई छनोट गरियो । त्यतिबेला गोरखापत्रको आफ्नो भन्ने ‘यासिका’ को बक्स क्यामराबाहेक केही थिएन । सूचना विभागले कहिलेकाहीँ अलमल गर्ने भएकाले चलचित्र संस्थानबाट एक जना फोटोग्राफर दीपक ढकाललाई गोरखापत्रमा काजमा ल्याइएको रहेछ । उहाँले मलाई सबै बुझबुझारथ गरेपछि मैले औपचारिक रूपमा काम सुरु गरेँ ।
गोरखापत्रको आफ्नै ल्याब थिएन । खिचेका सबै फोटो नयाँ सडकमा भएको स्टुडियोमा गएर धुलाउनुपर्ने सम्झौता भएको थियो । हामी त्यहाँ गएपछि उसले धोएर प्रिन्ट गर्दिन्थ्यो । त्यसका लागि हामीले उसको काम नसकिँदासम्म कुर्नु पथ्र्याे । त्यसपछि सम्पादकलाई देखाई बालाजुको जोरगणेश प्रेसमा गएर ब्लक बनाइन्थ्यो । कहिलेकाहीँ प्रेसको मान्छे हुँदैनथ्यो । यसरी एउटा तस्बिर खिचेर प्रकाशन गर्नका लागि लामो समय लाग्थ्यो । साँझको कुनै कार्यक्रम भए छाप्न सम्भव हुँदैनथ्यो । राजपरिवारको कार्यक्रम हुँदा राति बसेर गर्नै पथ्र्यो । यद्यपि त्यो धेरै जसो सूचना विभागले आफैँ गथ्र्यो । राजाको कार्यक्रम भएको बेला गोरखापत्र ढिला पनि निकालिन्थ्यो । त्यो बेला ‘स्टप दी प्रेस’ कति भयो कति । संवाद सचिवालयबाट ‘गो अहेड’ नआएसम्म कोही सम्पादक चुइँक्क बोल्दैनथे ।
यही क्रममा २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेक थियो । गोरखापत्रमा एउटा ‘डार्करुम’ का साथै नयाँ क्यामरा पनि माग गरियो । कार्यक्रम कभर गर्न विदेशी आउने भएपछि क्यामरा चाहिने नै भयो तर यहाँ क्यामराको बजार नभएकाले स्विडेनबाट मगाउनुपर्ने भयो । तत्काल किन्न नसकिने भएपछि क्यामरा भाडामा ल्याइयो । अन्य विदेशी फोटोग्राफरले आधुनिक क्यामराले कभर गर्दा हामी ‘यासिका बक्स’ मै सीमित भयौँ ।
हाम्रो कुरा अलि अलि सुन्न थालेपछि ‘निकोन’ क्यामरा किनियो । त्यसबेला लेटर प्रिन्टिङ पे्रसको गुणस्तर राम्रो थिएन । निजी क्षेत्रकाले लेटर प्रिन्ट छाप्दा ध्यान दिन्थे, हामी कम ध्यान दिन्थ्यौँ । फोटाग्राफीको विभाग, शाखा केही थिएन । फोटो खिचेपछि एउटा सम्पादकबाट अर्को सम्पादककहाँ घुमिरहनु पथ्र्यो । एक डेढ वर्षपछि विन्दुराजसिंह सुवाल फोटोग्राफरका रूपमा आउनुभयो । उहाँले फोटो खिच्नेभन्दा पनि ब्लक बनाउनेतर्फ धेरै रुचि देखाउनुभयो । पछि गोरखापत्रमा २०३२र३३ सालतिर ‘ब्लक सेक्सन’ पनि खोलियो । त्यसपछि एक जना स्थानीय रामेश्वर कायस्थ र भरत श्रेष्ठ आउनुभयो । विस्तारै फोटोग्राफीमा मान्छे पुग्न थाल्यो । धेरै फोटो खिच्न थालेपछि सम्पादकहरूलाई पनि अलिकति फोटो पत्रकारिताप्रति रुचि बढ्न थाल्यो । हामीले पनि सिक्दै राजारानीको मात्रै होइन; सामाजिक, सांस्कृतिक आदि मानवीय रुचिका फोटो खिच्नु पर्छ भन्ने थाहा पायौँ ।
विकासनिर्माण र मानवीय रुचिका तस्बिर
पाठकलाई पनि पढ्नभन्दा हेर्न रमाइलो लाग्ने भएकाले हामी धेरैभन्दा धेरै तस्बिरको खोजीमा लाग्यौँ । त्यतिबेला फोटो खिचेर गोरखापत्रमा छपाउनु ठुलो कुरा हुन्थ्यो । विकास आयोजनामा कार्यरत पदाधिकारीले फोटो छपाइदिन अनुरोध गर्थे । गोरखापत्रले पनि सडक बनेको, बागवानीमा स्याउ फलेको, पर्यटक आएका फोटो खिच्ने काम गर्यो । एक पटक न्युरोडमा ‘नो पार्क’ लोखिएको बोर्डमुनि एउटा कार पार्क गरेर राखिएको थियो । सम्पादकलाई धेरै अनुरोध गरेर त्यसको तस्बिर गोरखापत्रमा प्रकाशन गरेपछि त्यसबेलाका यातायातमन्त्रीले चासो राख्नुभयो । मन्त्रीले सम्पादकलाई सरकारविरुद्ध तस्बिर छाप्ने भनेर झपार्नुभएछ । प्रत्युत्तरमा सम्पादकले सरकारलाई नभई ड्राइभरलाई चेतनशील बनाउन तस्बिर छापेको भनी मन्त्रीलाई बताएपछि कुरा मिलेको थियो ।
त्यो समयमा फोटो पत्रकारहरू निकै कम हुन्थे । गाईले ट्राफिक जाम गरेको फोटो खिच्दा सर्वसाधारणले हामीलाई गोरखापत्रको भन्थे । त्यो बेला यसरी त्यस्तो फोटो खिच्ने मान्छे नै थिएन । काठमाडौँ उपत्यकामा हुने हरेक कार्यक्रममा गोरखापत्रको फोटोग्राफर अनिवार्य जस्तै हुन्थ्यो । फोटोग्राफर नआए सोधखोज हुन्थ्यो । कतिसम्म भने रिबन काट्नसमेत ढिलाइ हुन्थ्यो । आयोजक कैँची लिएर फोटोग्राफरलाई कुर्थे । कति पटक कैँचीले काटेको रिबनलाई पुनः काट्न लगाएर पनि फोटो लिइन्थ्यो । यस्तै एक पटक राजपरिवारका सदस्य सहभागी एउटा देशको राष्ट्रिय दिवस मनाउने क्रममा केही कारणले ढिला पुगियो, सम्पादकले जसरी पनि त्यसको तस्बिर ल्याउन भनेपछि टेलिभिजनमा गएर त्यहाँको मोनिटरको स्क्रिन प्ले गरेर फोटो लिइयो ।
सम्पादकहरूले प्रायः औपचारिक कार्यक्रमकै तस्बिरहरूलाई प्राथमिकतामा राख्थे । विस्तारै उनीहरूले पनि मानवीय रुचिका विषयको महत्त्व बुझ्न थालेपछि हामीले त्यस्तै तस्बिर खिच्न थाल्यौँ । सम्पादकहरूको एउटै चाहना राजाको केही नछुटोस्, सरकारलाई हानि पुग्ने कुनै विषय नजाओस् भन्ने हुन्थ्यो । तस्बिर खिच्ने र प्रकाशित गर्ने धेरै निर्णय प्रधान सम्पादकले लिने चलन थियो । प्रायः तस्बिरहरू प्रथम पृष्ठमा प्रकाशित हुन्थ्यो । यो सिलसिला भारतदत्त कोइराला महाप्रबन्धक नहुँदासम्म चल्यो । उहाँले अफसेट प्रेसको अवधारणा ल्याएपछि गोरखापत्रमा प्रविधि रूपान्तरणको प्रक्रिया अघि बढ्यो । कम्प्युटरको प्रयोग हुन थाल्यो । भित्री पृष्ठहरूमा पनि फोटो छापिन थाले । गोरखापत्र र ‘दी राइजिङ नेपाल’ मा ‘खेल’, ‘कला’, ‘संस्कृति’, ‘विकास’, ‘भिलेज प्रोफाइल’ भनेर तस्बिर छापिन थाल्यो । ‘न्युज रुम च्याट’ भनेर पनि फोटो छापिन थाल्यो ।
जनताले पनि गोरखापत्र सरकारी पत्र भन्ने बुझेका थिए । त्यसैले यसले झुटो छाप्दैन भन्नेमा जनता विश्वस्त थिए । गोरखापत्रले त्यो विश्वसनीयता अहिलेसम्म कायम राखेको छ । सामाजिक सञ्जालहरूले भ्रम फैलाइरहेको वर्तमान अवस्थामा पनि सर्वसाधारणले गोरखापत्रबाट सत्यताको पुष्ट्याइँ खोज्नुले गोरखापत्रको गरिमा बढेको महसुस हुन्छ ।
महत्व र प्रभाव
पत्रकारिताको माध्यमबाट गोरखापत्रले नेपाली समाजलाई शिक्षित मात्र गराएको छैन; सूचना र मनोरञ्जन पनि प्रदान गरेको छ । त्यो बेला साप्ताहिक, पाक्षिक पत्रिका उल्लेखनीय सङ्ख्यामा थिए तर ती कुनै न कुनै स्वार्थसँग जोडिएका थिए । गोरखापत्र सरकारी अखबार भएकाले जनताप्रति मात्र उसको स्वार्थ थियो । त्यसैले सर्वसाधारणले गोरखापत्रलाई मन पराउँथे । सर्वसाधारणले आफूलाई सुसूचित राख्न गोरखापत्र नै पढ्थे, रेडियो नेपाल सुन्थे । यद्यपि सानो वर्गले निजी अखबार पढ्ने र बिबिसी सुन्ने गर्थे । त्यो ठुलो समुदायसम्म पुगेको थिएन तर गोरखापत्र र रेडियोको पहुँच सर्वसाधारणका घर घरमा थियो ।
विसं २०४६ को जनआन्दोलनपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएसँगै गोरखापत्रको निजीकरणको कुरा उठ्यो । कतिपयले सरकारको मुखपत्रकै रूपमा राख्नुपर्ने धारणा राखे । श्यामश्वेतमा छापिने गोरखापत्र र यसका प्रकाशनहरू रङ्गीन कलेवरमा प्रकाशन हुन थाले । विसं २०५८ मा किशोर नेपाल महाप्रबन्धक भएर आएपछि गोरखापत्र रङ्गीन कलेवरमा छापिनुका साथै नयाँ प्रविधिको प्रेस भित्रियो ।
फोटो पत्रकारिताको शिक्षा
पत्रकारिता लेखेर, बोलेर र देखाएर गरिन्छ । फोटो पत्रकारितामार्फत सर्वसाधारणलाई देखाएर सुसूचित र शिक्षा प्रदान गर्न सकिन्छ । त्यसैले यसको सही प्रयोग गर्ने कला र शिक्षा आवश्यक छ । फोटोग्राफीमा तालिम र अध्ययन नभए त्यो अपूरो हुन जान्छ । कम्तीमा पनि आधारभूत तालिम वा शिक्षा आवश्यक छ । फोटो पत्रकारले पत्रकारिताले मागेको चिज दिन सकेन वा उसले ‘एङ्गल’ बारे जानकारी राखेन भने ऊ पूर्ण हुन सक्दैन । तस्बिर खिच्नु मात्र होइन, तस्बिरको व्याख्या गर्न सक्नु पनि फोटो पत्रकारको काम हो । तस्बिरलाई अभिव्यक्त गर्न ऊ पोख्त हुनै पर्छ । अहिले पनि कतिपय फोटो पत्रकारले तस्बिर खिचेर क्याप्सन लेख्ने आँट गर्दैनन् । मैले पढाउने क्रममा धेरैलाई क्याप्सन लेखनबारे शिक्षित गराउँदै अखबारमा क्याप्सन लेख्न नजान्दा सम्पादकको हप्काइ खानु पर्छ भनेको छु । आफ्नो क्षमता अभिवृद्धि गर्न फोटो पत्रकारलाई पत्रकारिताको ज्ञान जरुरी छ ।
सामाजिक सञ्जालको चुनौती
सूचना प्रविधिको क्षेत्रमा एआईको प्रवेशसँगै यसले ठुलो क्रान्ति मात्र होइन, बजारमा उत्पात मच्चाइरहेको छ । त्यसमाथि सामाजिक सञ्जालको जथाभाबी प्रयोगले सूचनाको ‘बमबार्डिङ’ भइरहेको छ । समाचार र सूचनाको अत्यधिक बाढीले पाठक, श्रोता र दर्शकलाई तथ्य छनोट गर्न गाह्रो भएको छ ।
पहिले हाम्रो काम सजिलो थियो । पाठकले पत्याएर आफैँले छान्थे । अहिले सामाजिक सञ्जाल, ‘युट्युब’, ‘टिकटक’ ले गर्दा सर्वसाधारण के पत्याउने के नपत्याउने भनेर असमञ्जसमा परेका छन् । यसले मिडियाको शक्तिलाई कमजोर बनाएको छ । सामाजिक सञ्जालले सर्वसाधारणलाई ‘डिसइनफर्म’ गरिरहेका छन् ।
एउटाले ‘इनफर्म’ गर्न खोज्ने अर्कोले ‘डिसइनफर्म’ गर्ने । सही सूचना दिने र नदिनेबिच अहिले युद्ध झैँ भएको छ । कोभिडको समयमा यसको प्रत्यक्ष असर देखियो । के खाने, के नखाने वा के गर्ने, के नगर्ने जस्ता अप्रमाणित कुरालाई सामाजिक सञ्जालमा हाल्दा सर्वसाधारण अन्योलमा परेका छन् । अर्बौंको भष्टाचार गर्यो भनेर पुष्टि नभएका समाचारलाई तस्बिरसहित हालेर ‘युट्युबर’ हरूले हावामा सूचना प्रवाह गरिरहेका छन् ।
यसले समाजलाई गलत बाटोतर्फ डो¥याउँछ । त्यसैले सबभन्दा पहिले सर्वसाधारण आफैँ शिक्षित हुनु पर्छ । विभिन्न सामाजिक सञ्जालमा आएका कुरालाई आफैँले मूल्याङ्कन गर्नु पर्छ । जबसम्म ‘फेसबुक’, ‘टिकटक’ र ‘युट्युब’ हेरेर सर्वसाधारणले आफ्नो धारणा बनाउँछन् तबसम्म समस्या रहिरहन्छ । यस्ता ‘प्लेटफर्म’ लाई सही तरिकाले प्रयोग गर्नु पर्छ । यस्तो समयमा सर्वसाधारणलाई सही दिशा दिन सकिएन भने समाज गलत बाटोतर्फ जान सक्छ । नभएको र झुटो बोल्नेलाई कडाइ गर्न सरकारले दरिलो नियम कानुन बनाउनै पर्छ । सोसल मिडिया र जथाभाबी लेख्नेलाई उत्तरदायी बनाउन कडा कानुन ल्याएर जेल हाल्ने र करोडौँ जरिबाना तिर्ने नजिर बसाल्नु पर्छ ।
‘डार्करुम’ हुँदै ‘डिजिटल’ र ‘स्मार्ट’ युगमा प्रवेश गरेको गोरखापत्रले चुनौतीबिच आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । गोरखापत्र अनलाइनले राम्रो ‘भ्युअर’ पाएको छ । सरकारका कुराबाहेक चुस्त, दुरुस्त रूपमा समसामयिकदेखि कला, मनोरञ्जन र खेलकुदका समाचारलाई सही ढङ्गले प्रयोग गरेको छ ।
यसबिच गोरखापत्रका फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका ऐतिहासिक, सामाजिक, राजनीतिक, प्राकृतिक सौन्दर्य, पर्यटन, सांस्कृतिक विविधता र जनआन्दोलनका तस्बिरहरूको प्रदर्शनी गरेर गोरखापत्रले राम्रो काम गरेको छ । गोरखापत्रमा प्रकाशित भएका तथा नभएका तस्बिर र नेगेटिभको ‘अर्काइभ’ बनाएर भावी पुस्ताका लागि सङ्ग्रह बनाउने दिशातर्फ गोरखापत्र लागेकोमा व्यवस्थापनलाई धन्यवाद दिनै पर्छ ।
लेखक गोरखापत्र दैनिकका पत्रकार हुनुहुन्छ । उहाँले वरिष्ठ पत्रकार गोपाल चित्रकारसँगको संवादमा यो सामग्री तयार गर्नुभएको हो ।
प्रस्तुत आलेख ‘डार्करुम हुँदै स्मार्ट युगतर्फ फोटोग्राफी ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।