ज्ञानु पंगेनी
मध्यविन्दु, साउन २५ गते । सामुदायिक वन दिवस–२०८२, को अवसर पारेर आइतबार उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम नवलपुरको मध्यबिन्दुमा भएको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा उत्कृष्ट हुन सफल जिल्लाका चार वटा सामुदायिक र चार वटा कबुलियती वनलाई डिभिजन वन कार्यालयको तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
सामुदायिक वनतर्फ प्रथम हुन सफल अरुण खोला सामुदायिक वन मध्यबिन्दु १० लाई १२ हजार, द्वितीय हुन सफल अम्रसा सामुदायिक वन मध्यबिन्दु ७ लाई ८ हजार, तृतीय हुन सफल बुद्ध सामुदायिक वन कावासोती एकलाई ५ हजार र सान्त्वना हुन सफल सत्यवती सामुदायिक वन हुप्सेकोट चारलाई ३ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो भने कबुलियती वनतर्फ प्रथम दैत्यगैह्रा कबुलियती वन हुप्सेकोट ५, द्वितीय अर्खला कबुलियती वन बुगिङटार ४, तृतीय केराबारी कबुलियती वन मध्यबिन्दु १४ र सान्त्वना एक्लेफोक्सिङ कबुलियती वन हुप्सेकोट ६ पुरस्कृत हुँदै सामुदायिक वन सरहकै नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, मध्यबिन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी, मध्यबिन्दु सातका अध्यक्ष कर्णबहादुर मल्ल, ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुरप्रसाद पाण्डे, सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका अध्यक्ष मना भण्डारीलगायतले उत्कृष्ट सामुदायिक वनका अध्यक्षसहितको टोलीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विश्वकर्माले उपभोक्ताले सन्तानभन्दा प्यारो गरेर संरक्षण गरेको कारण आज सामुदायिक वन हराभरा हुन सफल भएको बताउनुभयो । उहाँले उपभोक्ताले जोगाएको वनलाई उनीहरूले नै सहज रूपमा उपभोग गर्न पाउने अवस्था नरहेको हुँदा सरकारले उपभोक्ता मैत्री नियम कानुन बनाउन आवश्यक रहेको बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका प्रमुख अधिकारीले कार्यक्रममा बोल्दै हिजो फँडानी भएका वनहरू समुदायले जोगाएकै कारण आज हराभरा हुन सफल भएको बताउनुभयो । उहाँले समुदायको विकास र विपन्न वर्गको जीविकोपार्जनका लागि सामुदायिक वनले धेरै राम्रा काम गरिरहेको बताउनुभयो । उहाँले वन तथा निकुञ्ज क्षेत्रमा बनेका कतिपय नियम कानुनका कारण धेरै समस्या सृजना भएको हुँदा त्यस्ता नियम कानुनलाई संशोधन गर्न जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
यसैगरी कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख अधिकारीले सामुदायिक वनहरूले सम्पन्न गरेका क्रियाकलापहरूको विभिन्न सूचकहरूको आधारमा मार्किङ गर्ने र सोही आधारमा उनीहरूलाई मूल्याङ्कन गर्ने गरिएको बताउनुभयो । उहाँले वनको माध्यमबाट सामाजिक, आर्थिक र वातावरणीय तीन वटै पक्षलाई ध्यानमा राखेर उत्कृष्ट कार्य गरेका सामुदायिक वनहरूलाई पुरस्कृत गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष पोण्डेले वनमा खाली रहेका जग्गाहरूमा वृक्षरोपण गरी संरक्षण र संवर्धन गर्दै वनलाई हराभरा गराउन जरुरी रहेको औँल्याउनुभएको थियो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर अध्यक्ष मना भण्डारीले वनको संरक्षणका लागि सरोकारवाला सबै एकआपसमा समन्वय सहकार्य गरेर अगि बढ्न जरुरी रहेको बताउनुभयो ।
सब डिभिजन वन कार्यालय भाग्रा रानीटार कार्यालयको परिसरमा फलफूल प्रजातिका एक सय वटा बिरुवा पनि रोपण गरिएको छ । डिभिजन वन कार्यालय नवलपुरको आयोजना तथा मध्यबिन्दु नगरपालिका, सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर , ग्रिन फाउन्डेसन नेपाल नवलपुर र विजय सामुदायिक वन मध्यबिन्दु ७ को सहकार्यमा कार्यक्रम भएको हो ।