टोपलाल अर्याल
रेसुङ्गा, साउन २५ गते । गुल्मीको सत्यवती गाउँपालिकाले स्थानीय नेवार समुदायलाई बाजा प्रदान गरेको छ । नेवार समुदायमा प्रख्यात लाखे नाच र गाईजात्रा संरक्षण गर्ने उद्देश्यले आवश्यक बाजा गाउँपालिकाले सहयोग गरेको हो ।
लक्षित समुदाय सहयोग कार्यक्रमबाट संस्कृति संरक्षणका लागि एक लाख ५० हजार रुपियाँमा बाजा खरिद गरेर सत्यवती झी : नेवा समाजलाई प्रदान गरिएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिनुभयो । लाखे र गाईजात्रा नेवार समुदायको प्रमुख पर्व हो ।
गाउँपालिकाले दलित र मगर समुदायलाई पनि बाजा सहयोग गरेको छ । स्थानीय कला संस्कृति र सम्पदा अमूल्य सम्पत्ति भएकाले बर्सेनि रचनात्मक काम हुँदै आएको तरामुले बताउनुभयो । उहाँले आगामी दिनमा समेत समाज र समुदायलाई सहयोगको निरन्तरता दिने बताउनुभयो । सत्यवती गाउँपालिका–६ जोहाङ्ग खैरेनीमा ४५ घर परिवार नेवार समुदाय बसोबास छ ।
पुर्खादेखिको लाखे र गाईजात्रा संस्कृति संरक्षणका लागि आफूहरु बर्सेनि सक्रिय रुपमा मेला उत्सवहरु गरिरहेको नेवार समुदायका अगुवा तथा सत्यवती झी नेवा समाजका सदस्य दीपक श्रेष्ठले बताउनुभयो । यो समुदायको उर्जाकै लागि गाउँपालिकाल सनाई, मादल, लाखे खप्पर, झ्याली ढोलक, सय वाटका चार लाइट, चोमर, घोडा खप्पर लगायतका सामग्री प्रदान गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
खैरेनीमा जनैपूर्णिमाको राती लाखे नाचेर भोलिपल्ट बिहान प्रत्येक नेवार घरमा गाईपूजा गरेर गाईजात्रा निकाल्ले प्रचलन छ । सबै उमेर समूहका व्यक्तिहरु उत्सवमा सहभागी हुने गरेका छन् । पदमलाल र सूर्यलाल श्रेष्ठ नेवार समुदायकै पाका व्यक्ति हो । उहाँहरुले थामेको नेवा संस्कृति अबको पुस्तामा पुस्तान्तरणको चुनौती रहेकाले आफूहरु कस्सिएर लागेको समाजका अध्यक्ष यमप्रसाद श्रेष्ठले बताउनुभयो । खैरेनीमा नागपञ्चमीबाट भाद्र शुक्लपूर्णिमासम्म लाखे नाच्न सुरु गरिन्छ ।