काठमाडौँ, साउन २५ गते । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३औँ कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न २० डोजाङका दुई सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जसमा ३५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यमा साथ आयोजना गरिएको प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्मका खेलाडी सहभागी थिए । विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडरेसनका अध्यक्ष राजकुमार दराई, आयोजक डोजाङ प्रमुख श्रेष्ठ, अभिभावकलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा दक्षिण कोरियामा भएको वल्र्ड ओलम्पिक्सको सिनियर ३०–३९ वर्ष उमेरसमूहको एकल पुम्से र ६८–७२ केजीमा कांस्य तथा वल्ड पिस तेक्वान्दो च्याम्पियनसिपको सिनियर एकल पुम्सेमा स्वर्ण जित्न सफल राजकुमार दराईलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।