गुणबहादुर रोका
सुलीकोट, साउन २५ गते । उत्तरी गोरखाको धार्चेको–३ खोर्लाबेँसीमा नवनिर्मित बेलिबृज पुलको उद्घाटन गरिएको छ । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट लार्के सडकको खोर्लाबेँसीस्थित निम्रुङ खोलामा निर्माण गरिएको पुल आइतबार उद्घाटन गरिएको हो ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र टाइम्स इनर्जी प्रालिका अध्यक्ष हिम पाठकले बेलिबृज पुलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो पुल निर्माण सम्पन्न भएपछि धार्चे र चुमनुब्रीका स्थानीयबासी खुशी भएका छन् ।
पुल उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उत्तरी गोरखाको लाइफ लाइनको रुपमा रहेको सो पुल निर्माण गरेकोमा टाइम्स इनर्जी कम्पनीलाई समयमै सम्पन्न गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
चुमनुब्री गाउँपालिका जोड्ने मुख्य ठाउँ भएकाले पनि निमरुङ खोला माथि २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइ लामो बेलिबृज पुल निर्माण आवश्यक ठाउँमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
बेलिबृज पुल निर्माणसँगै उत्तरी गोरखाको धार्चे गाउँपालिकादेखि चुमनुबी गाउँपालिकाका स्थानीय बासिन्दालगायत आन्तरिक तथा बाह्य पर्यटकलाई सडक बाटो भएर आवतजावत गर्न निकै सहज हुने धार्चे गाउँपालकाका अध्यक्ष लक्ष्मण गुरुङको विश्वास छ ।
"उत्तरी गोरखाका स्थानीयहरु गोरखा सदरमुकामसम्म पुग्न बर्खाको बेला निमरुङ खोला तर्न नसकेर सवारीसाधनहरु ठप्प हुनुपरेको अवस्था थियो", अध्यक्ष गुरुङले भन्नुभयो, "अब उत्तरी गोरखाको तातोपानीको दोभानसम्म ढुक्कले हिउँद बर्खा सवारीसाधन चल्छ ।"
उक्त पुल निर्माणले उत्तरी गोरखा, गोरखा सदरमुकाम र काठमाडौंलाई सहजै जोड्न सक्ने भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको भनाइ छ । बेलिबृज पुल निर्माण भएपछि १२ महिना सवारीसाधन आवतजावतमा सहज हुनुका साथै चुमनुब्रीबासीलाई सवारीसाधन चढ्न धार्चेको माछीखोला आउनुपर्ने बाध्यता हटेको बताइएको छ ।
धार्चे गाउँपालिका र टाइम्स इनर्जी प्रालिबीच २०८० साल पुस ९ गते ५ करोड लगानीमा बेलिबृज निर्माण गरिदिने समझौता भएर काम अघि बढेको थियो । टाइम्स इनर्जी कम्पनीले २०८२ साल असोज मसान्तभित्र सम्पन्न हुने गरी सम्झौता भए तापनि साउनको तेस्रो हप्ताभित्र सम्पन्न गरी आइतबार उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।