सत्यमोहन जोशीका पुर्खा काठमाडौँका आदिवासी थिए । जयस्थिति मल्लले नेवारलाई शैव धर्म र बौद्ध धर्म मान्ने गरी दुई भागमा छुट्याएका थिए । सत्यमोहन जोशीका पुर्खाचाहिँ शैव धर्म मान्थे । जोशी आफूलाई परम्परावादी नेवार मान्थे । उनका बाबुबाजेले आफूहरूलाई सबल रूपमा जातीय बाहुनमा नै उभ्याउँदै ल्याए । जोशी पनि छडोरे जनै लगाउँथे । जोशीका बुबा शङ्करराज जोशी धर्म, संस्कृति र जातीयताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । त्यतिबेला उनी लेखनदासको पनि काम गर्थे ।
जन्म, बिहे र सन्तान
जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । यी शङ्करराज जोशी र राजकुमारीका जेठा छोरा थिए । उनी बाल्यकालमा लाटा, लठेब्रा र एकोहोरा थिए । यिनका कुरा र भाषा अरूहरूले बुझ्दैन्थे । यिनका बुवाआमाले पनि इसारामा मात्रै यिनका कुरा बुझ्नु पथ्र्यो । पाँच वर्षसम्म यिनको बोली फुटेको थिएन । जोशीकालीन समयमा सानैमा बिहे गर्ने चलन थियो । तर, घरको कमजोर आर्थिक अवस्थाका कारण जोशीले ढिलो बिहे गरे । उन्नाइस वर्षको हुँदा मात्र उनले बिहे गरेका थिए । आफ्नै छिमेकी गणेशबहादुर श्रेष्ठ पात्रवंश तथा मोतीलक्ष्मीकी चौध वर्षकी छोरी राधादेवीसँग यिनको बिहे भएको थियो । बिहे गरेको तीन वर्षपछि जोशी र राधादेवीका कोखबाट छोरी जन्मिन् तर उनको आठ वर्षकै उमेरमा मृत्यु भयो । पछि उनीहरूका तीन जना छोरी कावेरी, गङ्गा र खड्गलक्ष्मी पनि जन्मे । उनीहरूका छोरा चार जना अणुराज, हेमन्तराज, खड्गेन्द्रराज र पूर्णराज जन्मे । खड्गेन्द्रराजको दुई वर्षकै उमेरमा मृत्यु भयो ।
शिक्षा
जोशीको पढाइ पनि ढिलै सुरु भएको थियो । उनले सात वर्षको उमेरमा मात्र नेवारी भाषाको प्रथम अक्षर लेखेका थिए । दस वर्ष पुगेपछि यिनले नेपाली भाषा बोल्न थालेका थिए । त्यस बखत उनले गैरनेवारी भाषीसँग कुरा गर्नुप¥यो भने नेवारी भाषामा मात्र बोल्ने गर्थे । लाटा, लठेब्रा भएकाले उनको पढाइ सुस्तरी नै अगाडि बढेको थियो । वास्तवमा सानो हुँदा उनलाई पढ्नै मन लाग्दैनथ्यो । जोशी स्कुल गए पनि पाठ बुझाउन सक्तैनथे । अनेक दुःख, कष्ट र पीडा खेपेर जोशी दरबार स्कुल पुगे । त्यस बेला त्यहाँ रुद्रराज पाण्डे हेड मास्टर थिए । उनलाई पढाउने प्रमुख गुरु पं. वासुदेव भट्टराई थिए । त्यहाँ पनि उनको कान पड्काइने, कन्सिरी तानिने र उनले मुड्की खाने काम भइरह्यो । त्यस बेलाको मास्टरी पिटाइ खाएर उनी स्कुलप्रतिको वितृष्णामा थिए । उनले मानसिक र शारीरिक दुःख खेपेर नै भए पनि दरबार स्कुलबाट नै म्याट्रिक पास गरे । अनि उनले त्रि–चन्द्र कलेजबाट १९९८ सालमा आईए पास गरे । त्यसपछि उनी बीएको कक्षामा सरिक भए तर उनले त्यस कक्षालाई पार लाउन भने सकेनन् । उनी त्यसैमा थन्किरहे ।
साहित्य प्रवेश
म्याट्रिक पास हुनुअघिसम्म जोशीले कुनै स्रष्टा देखेका थिएनन् । उनले पहिलोपटक देखेको साहित्यकार भीमनिधि तिवारी थिए । साथै पहिलोपटक चिनेका साहित्यकारहरू बालकृष्ण शमशेर र पुष्कर शमशेर थिए । यी दुवै राणाले यिनलाई माया गर्थे । साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यिनलाई स्नेह गर्थे । जोशीले विद्यार्थी जीवनमै लेखेका दुईवटा पद्यात्मक कथाहरू ‘लामा’ र ‘पाचुके’ कालिम्पोङ दार्जिलिङबाट पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’मा धारावाहिक रूपमा प्रकाशित भएको थियो । नेपालमा चाहिँ १९९८ सालको ‘गोरखापत्र’मा ‘परिचय’ शीर्षक कविता र १९९९ सालमा ‘कर्तव्य’ शीर्षकको निबन्ध प्रकाशित भएको थियो ।
जागिर
घरको दयनीय आर्थिक अवस्थाका कारण जोशीले स्नातक पूरा गर्न पाएनन् । उनले २००१ सालमा ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’मा अधिकृतस्तरको खरदारको जागिर पाएका थिए । त्यस ठाउँमा उनी २००६ सालसम्म बसे । २००७ सालमा उनी
सङ्ख्य विभागमा सुपरिवेक्षक भए र त्यहाँ उनी २०१३ सालसम्म सेवारत भए । त्यसको लगत्तै अर्को वर्ष अथवा भनौँ, २०१४ सालमा उनले राष्ट्रिय योजना परिषद्को कार्यक्रम अधिकृतको पदमा नियुक्ति पाए । उनले अमेरिकन सांस्कृतिक केन्द्रमा पनि जागिर खाए । उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे । मन्त्री परशुरामभक्त माथेमाका उनी निजी सचिव पनि भए । जोशीले चीनको महाविद्यालयमा पनि जागिर खाए । उनले त्यहाँ चिनियाँहरूलाई नेपाली पढाए । उनले पढाएका चिनियाँहरूले पेकिङ रेडियोबाट क्रमशः नेपाली कार्यक्रम पनि चलाउन थाले । जोशी २०१६ सालमा ‘पुरातìव र संस्कृति विभाग’को निर्देशकमा नियुक्त भएका थिए । त्यहाँबाट उनले २०१७ सालमा हात धुनुपरेको थियो । पछि उनले नेपालका कलेजहरूमा पनि प्राध्यापन गरे ।
जोशीको भ्रमण
जोशीले नेपालका प्रायः धेरै भूभाग टेके । उनले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, सोभियत रुस, न्युजिल्यान्ड, अस्टे«लिया, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गरे । यात्रा सन्दर्भमा जोशीको सबैभन्दा उल्लेखनीय भ्रमण न्युजिल्यान्डको थियो । किनभने न्युजिल्यान्ड पुग्ने उनी प्रथम नेपाली थिए । उनी त्यस राष्ट्रमा दौरा, सुरुवाल, कोट र टोपी लगाएर प्रवेश गरेका थिए । उनले जुन दिन न्युजिल्यान्डको भूमि टेकेका थिए त्यसै दिन अर्थात् २०१० साल जेठ १६ गते न्युजिल्यान्डका एडमन्ड हिलारी नेपालका तेन्जिङ शेर्पाका साथ सगरमाथाको टुप्पोमा पुगेका थिए ।
जोशीको विदेश यात्राका सन्दर्भमा उनी सबैभन्दा धेरै चीन बसे । उनी लगातार चार वर्षसम्म चीनको पेकिङमा बसेका थिए । उनले पेकिङ रेडियोअन्तर्गत महाविद्यालयमा चिनियाँ विद्यार्थीलाई नेपाली भाषा साहित्य र संस्कृतिको पठनपाठनमा प्रशिक्षक भएर काम गरे । उनी चीन बस्दा उनले माओ त्सेतुङ र चाउ एनलाईसँग हात मिलाएका थिए । उनले माओका कवितालाई ‘माओ च तुङका कविताहरू’ नाउँ राखेर नेपाली भाषामा अनुवाद पनि गरे ।
कर्णाली मोह
नेपाली भाषाको व्युत्पत्ति थलो मानिएको जुम्लास्थित सिन्जाखोला उपत्यकामा गएर जोशीले काम गर्न खोजेका थिए । उनले नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिन्जा जाने योजना सफल बनाएका थिए । त्यतिबेला जोशीहरूले सिन्जाखोलामा बसेर नेपाली भाषाको विषयमा थुप्रै कुरा थाहा पाएका थिए । उनीहरूले खास गरेर लोकसंस्कृतिकै विषयमा केन्द्रित रहेर नै कामकाज गरेका थिए ।
जोशी र प्रज्ञा प्रतिष्ठान
जोशी २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहसदस्यमा मनोनीत भएका थिए । २०३१ सालबाट २०३५ सालसम्म उनी सदस्य–सचिव भएका थिए । उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव भएकै बेला ‘महेन्द्र स्मृतिग्रन्थ’को सम्पादन गरेका थिए । त्यस ग्रन्थले नेपाली शैलीमा आफ्नै ऐतिहासिक महिमा बढाएको थियो । वास्तवमा त्यो बृहत् स्मृति ग्रन्थमा राजा महेन्द्रलाई सम्पूर्ण रूपमा प्रस्तुत गरिएको छ । उनैको सदस्यसचिवको कार्यकालदेखि नै प्रज्ञा प्रतिष्ठानको भौतिक र सांस्कृतिक विकास हुन थालेको थियो । साथै त्यसैबेलादेखि त्यहाँ अनवरत र प्रबल रूपमा नाटकहरू देखाइन थालिएको थियो । उनकै कार्यकालदेखि त्यहाँ गाईजात्रा महोत्सवको पनि सुरुवात भएको थियो ।
अरनिकोको खोज
तेह्रौँ शताब्दीमा नेपालबाट चीन पुगेका अरनिकोबारे जोशी अध्ययनमा लागे । चीनमा रहँदा उनले अरनिकोको अस्तित्व भएका ठाउँको खोज गरिरहे । यथेष्ट जानकारी लिएपछि उनी अरनिकोबारे प्रचारमा लागे । उनले अरनिकोको श्वेत चैत्यमा आधारित कथा र महाकाव्य पनि लेखे । अन्ततः जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे । साथै उनले तिब्बत गएर राजकुमारी भृकुटीबारे पनि धेरै जानकारी बटुले । त्यहाँ भृकुटीलाई देवी मानेर पूजा गरिएको पनि उनले देखे । भृकुटीलाई तिब्बतीहरूले हरिततारा भन्ने गरेको बेहोरा पनि जोशीले नेपालमा आएर प्रचार गरे ।
नेपाली मुद्राको अन्वेषण
जोशीले ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ लेखे । उनले महेन्द्र मल्लको चाँदीको मुद्रासमेत पत्ता लगाए । महेन्द्र मल्लका पालादेखि नेपालमा चाँदीको पैसाको सुरुवात भएको पनि उनैले प्रमाण प्रस्तुत गरेका थिए । प्राचीन कालदेखि तत्कालीन बेलासम्मका सबै मुद्राहरूको
सङ्कलन, अन्वेषण र अध्ययन गरी उनैले ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक आधिकारिक ग्रन्थ तयार पारेका थिए ।
भाषाप्रेम
जोशीले आईए पढेदेखि नै साहित्य सेवामा सिर्जनात्मक र सङ्गठनात्मक रूपमा आफूलाई जोडिरहे । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाएका थिए । जोशीकै संयोजकत्वमा २०६६ सालमा नेपालको राजधानी काठमाडौँमा प्रथमपटक अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । नइको परिकल्पना, प्रस्तावना र सौजन्यमा त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा उक्त सम्मेलन पाँच दिनसम्म सञ्चालित थियो । जोशीसमेतको संलग्नता, सक्रियता र समर्पणमा २०५० सालमा नेपाल भाषा अकादमीको स्थापना भएको थियो । त्यस संस्थाले नेपाल भाषाकै श्रीवृद्धिका लागि आफ्नो हैसियत रोप्तै आयो । साथै उनी नेपाल भाषा अकादमीका चान्सलर पनि भए ।
शताब्दीपुरुषको उपाधि
डा. सत्यमोहन जोशीले पचासी वर्ष टेकेपछि नरेन्द्रराज प्रसाईंबाट ‘शताब्दीपुरुष’को परिकल्पना भएको थियो । त्यसको दस वर्षपछि त्रिमूर्ति निकेतनले डा. जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गर्दै प्रा.डा. उषा ठाकुरको संयोजकत्वमा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ गठन गरेको थियो । नइ प्रकाशनको सौजन्यमा त्रिमूर्ति निकेतनद्वारा २०७१ साल मङ्सिर १५ गते उपप्रधानमन्त्री वामदेव गौतममार्फत जोशीलाई पाँच लाख रुपियाँ राशिसहित ‘शताब्दी पुरुष’को उपाधि समर्पण गरिएको थियो । नइ प्रकाशन र त्रिमूर्ति निकेतनको अनुरोधमा नेपाल सरकारले जोशीलाई २०७४ साल वैशाख २१ गते ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिद्वारा विभूषित ग¥यो । त्यसपछि उनले भनेका थिए, “मलाई यो जीवनमा अरू केही चाहिँदैन, अब मलाई पुग्यो ।”
विभूषण, रथारोहण, पुरस्कार, सिक्का र टिकट
जोशीलाई राज्यले विख्यात त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिणबाहु र उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट विभूषित ग¥यो । अनि यी सबै विभूषणभन्दा उनले उच्च कोटिको अर्को विभूषण पाए र त्यस गरिमामय विभूषणको नाउँ हो, प्रथम श्रेणीको ‘महाउज्ज्वल राष्ट्रदीप’ । उनलाई रथारोहण पनि गराइएको थियो र सोही बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट जोशीलाई ‘समग्र राष्ट्रकै अमूल्य निधि’ र ‘राष्ट्रको गौरव अभिवृद्धि गर्ने’ सम्बोधनका साथ अभिनन्दन प्रदान गरिएको थियो । जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त प्रज्ञा पुरस्कार, भानुभक्त स्वर्ण पदक, त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार, डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार, भूपालमानसिंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, यात्री वाङ्मय पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, गोपाल कमला राजभण्डारी रोटरी अवार्ड, श्रेष्ठ सिरपाः, लाकौल सिरपाः, त्रिमूर्ति पदक, भद्रघले पदक, नइ रजत महोत्सव पदक, इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, महाकवि देवकोटा शताब्दी सम्मान, पद्मश्री सम्मान, मिथिलाश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मानलगायत भन्डै दुई सयवटा संस्थाले सम्मान र अभिनन्दनपत्र समर्पण गरे । साथै जोशीलाई काठमाडौँ विश्वविद्यालयबाट २०६८ सालमा महाविद्यावारिधिको उपाधि समर्पण गरिएको थियो ।
त्रिमूर्ति निकेतनबाट जोशीको सम्मानमा ‘सत्यमोहन जोशी शताब्दी पदक’को पनि स्थापना भयो । उनको व्यक्तित्व र कृतित्वको उचाइ देखाउन लागिपरेका देशदेशान्तरका २८५ जना नेपालीलाई सो पदक उनीद्वारै अर्पित गरिएको थियो । सुरबहादुर श्रेष्ठको पहलमा न्ह्युजः गुठीले जोशीको मुहारअङ्कित २० ग्रामको चाँदीको सिक्का पनि प्रकाशनमा ल्याएको थियो । जोशीको व्यक्तित्वको थप उचाइका लागि नेपाल राष्ट्र बैङ्कले पनि विशिष्ट कोटीको कदम चालेको थियो । परिणामस्वरूप राष्ट्र बैङ्कले जोशीको नाउँ र मुहारअङ्कित एक सय रुपियाँको धातुको सिक्का, एक हजार रुपियाँ र पच्चीस सय रुपियाँका चाँदीको सिक्का प्रकाशनमा ल्याएको थियो । साथै हुलाक सेवा विभागबाट उनको मुहार
अङ्कित दस रुपियाँको हुलाक टिकट पनि प्रकाशनमा ल्याइएको थियो। नेपाली वाङ्मयको इतिहासमा नेपाल राष्ट्रबाट जिउँदो साहित्यकारमाथि गरिएको यस प्रकारको कृत्य त्यो नै पहिलो थियो ।
जोशीको एक सय तीन वर्ष
नेपाली वाङ्मयका क्षेत्रमा सबैभन्दा भाग्यमानी स्रष्टाको नाउँ के हो भन्दा ‘वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी’को नाउँ नै भन्नुपर्ने हुन्छ । उनी नेपाली समाजमा श्रद्धेय स्रष्टाका रूपमा विराजमान भए । उनी सादा जीवनशैलीमा रहे । उनी आफ्नो हैसियतभन्दा माथि कहिल्यै चढेनन्, कहिल्यै बढेनन् र कहिल्यै सर्केनन् । एक÷डेढ घण्टासम्मको पैदल बाटोमा उनले सकेसम्म यातायातका साधन प्रयोग गरेनन् । त्यसै गरेर उनले १०३ वर्षको जीवन सदुपयोग गरे र आफ्नो सम्पूर्ण जीवनलाई नै गौरवमय बनाए। साँझ छिट्टै सुत्ने र बिहान सबेरै उठ्ने जोशीको जीवनचर्या रह्यो । बिहान उठ्ने, सामान्य व्यायाम, प्राणायाम र आफ्ना कुलपितृ र इष्टदेवताको पूजापाठजस्तो नित्यकर्म उनले सधैँ पालना गरिरहे । नियमित शाकाहारी खाना र आफ्नो परम्परागत नेवारी खानपिनमा पनि उनले छेकबार गरेनन् । जोशीले आफ्नो देशको राष्ट्रिय पहिरनमाथि सधैँ गौरव गरे । उनी घरबाहिर जाँदा दौरा, सुरुवाल, कोट, टोपीमा मात्र देखिए । उनले कहिल्यै ठूलो स्वरमा पनि बोलेनन् । नरम बोलीचाली उनको जीवनको नैसर्गिक गुण मानियो । समयको सही पालना गर्ने उनको जीवनको सबैभन्दा ठूलो विशेषता देखियो । भनौँ, उनी घडीको सुईजत्तिकै विश्वासिलो नै देखिए । उनको जीवनभरिको साहित्यिक मूल्यका कारण उनी ‘वाङ्मय शताब्दीपुरुष’को उपाधिबाट सुशोभित भए । साथै यस उपाधिबाट सहस्राब्दीऔँसम्म पनि उनी सुशोभित भएको जानकारी जनजीवनले पाइरहनेछ । वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीकृत ७९ वटा पुस्तक प्रकाशित भए । उनका कृतिहरू ३५ वटा नेपाली भाषा, ४३ वटा नेपाल (नेवारी) भाषा र एउटा अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।
जोशीको स्वर्गारोहण
जोशी केही वर्षअघिदेखि विविध रोगले ग्रस्त थिए। उनको उपचार किस्ट मेडिकल कलेजले गर्न थालेको थियो। सोही कलेजको अस्पतालबाट जोशीकै घरमा घरिघरि डाक्टर जाने र नर्सको चौबीसै घण्टाको सेवा हुन थालेको थियो । सारोगारो हुँदा मात्र उनलाई अस्पताल भर्ना गरिन्थ्यो। पछिल्ला दिनमा उनलाई पोस्टेड, मुटुको समस्या, निमोनिया आदिले आक्रान्त पारेको थियो। साथै डेङ्गु सङ्क्रमण भएपछि उनी झन् सारो सिथिल हुन थालेका थिए। अन्तत २४ दिनसम्म सोही अस्पताल बसेपछि उनी २०७९ साल असोज ३० गते स्वर्गीय भए। जोशीको निधनपछि उनीप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उनलाई उनको घरक्षेत्र साँघुरो भएका कारण त्यहाँ राख्न अव्यावहारिक देखिन गयो। निक्कै ठूलो जनसमुदाय जमघट हुने सम्भावनाका कारण ललितपुर महानगरपालिकाको प्राङ्गणमा उनको पार्थिव शरीर राखिएको थियो । उनलाई त्यहाँ पु¥याउँदा अत्यधिक भीड जम्मा भइसकेको थियो । त्यहाँ प्रधानमन्त्रीले उनको भौतिक चोलामा नेपालको राष्ट्रिय झन्डा ओडाएका थिए। जोशी दम्पतीले नै किस्ट मेडिकल कलेजलाई मरणोपरान्त विद्यार्थीलाई अध्ययनका लागि शरीर दान दिने निर्णय गरेका थिए। त्यसैले सोही दिनको बेलुकीपख उनका परिवारले उनको भौतिकचोला किस्ट मेडिकल कलेजलाई नै जिम्मा लगाएका थिए।