जेरुसेलम, साउन २० गते । इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार बताएको छ ।
“संयन्त्र निर्माणको भागका रूपमा, रक्षा प्रतिष्ठानले धेरै मापदण्ड र कडा सुरक्षा जाँचको अधीनमा सीमित सङ्ख्यामा स्थानीय व्यापारीहरूलाई अनुमोदन गरेको छ”, कोगाटले भनेको छ । इजराइलले २२ महिनादेखि गाजामा प्यालेस्टिनी लडाकू समूह हमाससँग लड्दै आएको छ र मार्च २ मा पूर्ण नाकाबन्दी लगाएको थियो ।
इजरायलले उक्त नाकाबन्दी मेमा आंशिक रूपमा हटाएको थियो र अमेरिकी समर्थित निजी एजेन्सीलाई खाद्य वितरण केन्द्रहरू खोल्न अनुमति दिएको थियो । संयुक्त राष्ट्रसङ्घको आदेशित विशेषज्ञ रिपोर्टहरूले युद्धग्रस्त क्षेत्रमा अनिकाल फैलिरहेको चेतावनी दिएपछि अरब र युरोपेली सेनाहरूद्वारा सहायता सवारी र हवाई सहायता गत महिना पुनः सुरु भयो ।
‘हमास आतङ्कवादी सङ्गठनको संलग्नता रोक्नका लागि’ गाजामा प्रवेश गर्नुअघि इजरायली सेनाले निरीक्षण गर्नुपर्ने र निगरानी गरिएको बैँक स्थानान्तरणद्वारा निजी क्षेत्रको डेलिभरीको भुक्तानी गरिने कोगाटको विज्ञप्तिमा भनिएको छ । नयाँ संयन्त्रअन्तर्गत अनुमति प्राप्त वस्तुहरूमा खाद्य पदार्थ, फलफूल, तरकारी, बच्चाको दुधको पाउडर र स्वच्छता उत्पादनहरू समावेश हुने कोगाटले जनाएको छ । रासस/एएफपी