• २० साउन २०८२, मङ्गलबार

श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै

blog

कोलम्बो, साउन २० गते । श्रीलङ्काको संसदले मङ्गलबार दुव्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको सामना गरिरहेको हो ।

चौवन्न वर्षीय तेन्नाकोन मुलुकको इतिहासमा बर्खास्त हुने पहिलो प्रहरी प्रमुख बन्नुहुने छ । अनुशासनात्मक सुनुवाइले उहाँलाई ८५ हजार बलियो कानुन प्रवर्तन बलको नेतृत्व गर्न अयोग्य ठहर गरेको छ । “यो संसदले प्रहरी महानिरीक्षक श्री देशबन्धु तेन्नाकुनलाई छानबिन समितिले दोषी ठहर गरेको निष्कर्षका आधारमा आइजिपीको पदबाट हटाउने निर्णय गर्छ”, मङ्गलबारको कार्यसूचीमा सूचीबद्ध प्रस्तावमा उल्लेख छ ।

अधिकारीहरूले दुई सय २५ सदस्यीय संसदमा बहसपछि मङ्गलबार पछि मतदान गरिने बताएका छन् । संसदमा सत्तारूढ दलको सहज दुई-तिहाइ बहुमत छ । विपक्षीले पनि महाभियोगलाई समर्थन गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले हिरासतमा रहेका एक संदिग्धलाई उनको गुप्ताङ्गमा मेन्थल बाम लगाएर यातना दिएको फैसला गरेको भए तापनि तेन्नाकोनलाई सन् २०२३ नोभेम्बरमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो ।

उहाँमाथि सन् २०२३ डिसेम्बरमा एक असफल छापा मार्ने अधिकार दिएको आरोप पनि लगाइएको छ । उक्त छापाले तटीय रिसोर्ट सहर वेलिगामामा प्रतिद्वन्द्वी प्रहरी एकाइबिच बन्दुक युद्ध सुरु भएको थियो र युद्धमा एक अधिकारीको मृत्यु भएको थियो । तेन्नाकुन विरुद्धको आरोपहरूको अनुसन्धान गर्ने समितिले उहाँले डब्लु१५ होटलमा ‘शङ्कास्पद गोली हानाहानको अवैध कार्यको नेतृत्व गरेको’ पत्ता लगाएको थियो ।

होटलका मालिकलाई धम्की दिन तेन्नाकुनले पठाएको टोलीमाथि स्थानीय प्रहरी युनिटले गोली चलाएको थियो । राज्यका अभियोजकले समितिलाई प्रहरी प्रमुखले ‘आपराधिक नेटवर्क’ चलाइरहेको र प्रहरी बलको सबैभन्दा तल्लो तहमा समेत सेवा गर्न अयोग्य रहेको बताए । गत महिना महाभियोग प्रक्रिया सुरु भएदेखि तेन्नाकुनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी