यदुप्रसाद भट्ट
मनाङ, साउन २० गते । हाल देशैभरि मनसुनी वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधारणमा अपिल गरेको छ ।
जिल्लाभर सानातिना छुटफुट घटनाबाहेक अन्य दुर्घटना नभएको तर मनसुनी वर्षाको समयावधि अझै बाँकी नै रहेको र वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो, डुबानजस्ता प्रकोप आइपर्ने भएकाले सतर्कता अपनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।
विगत केही दिनदेखि मनाङमा पनि वर्षा भइरहेको छ । वर्षाका कारण खोला नालाहरूमा पानीको बहाब बढेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङ ङिस्याङ गाउँपालिकाको मनाङ र खाङसार जोड्ने मर्स्याङ्दी नदीको पुल केही होचो भएकाले नदीमा पानीको सतह बढ्नुका साथै पुल छुने वा पुलमाथिबाट पानी बहने भएकाले त्यस स्थानमा रहेका केही अवरोध हटाउने कामसमेत भएको बताउनुभयो ।
बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ क्षेत्रमा पर्ने हावाडाँडामा पहिरो खसिरहने भएकाले बेँसीसहर–चामे सडक केही घण्टा बन्द हुने र खुल्ने भइरहेको छ । बेँसीसहर–चामे सडक अवरुद्ध हुन नदिन लमजुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको पनि प्रजिअ आचार्यले बताउनुभयो । वर्षा र पहिरोका कारण विद्युत् आपूर्ति बन्द हुने क्रम बढेकाले त्यसका लागि विद्युत् प्राधिकरण मनाङ र लमजुङलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अङ्गका प्रमुखहरूसँग टेलिफोन सम्पर्क गरी जिल्लाको वर्तमान अवस्थाको जानकारी लिनु भएको छ । सांसद गुरुङले मनसुनजन्य प्रकोपबाट हुन सक्ने दुर्घटनाहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै सर्तकता अपनाउनका साथै उद्धार र राहतका लागि पनि चौबीसै घण्टा तैनाथ रहन निर्देशन दिनुभएको छ ।