• २० साउन २०८२, मङ्गलबार

जीवन्त विश्वविद्यालय

blog

  • कार्टुन पनि एउटा कला नै हो । कार्टुनको अर्थ बीभत्स होइन, बङ्ग्याई टिङ्ग्याइएको रेखा मात्र होइन । यसमा हास्यरसबाट ओतप्रोत भएको रेखाङ्कन हुनु पर्छ साथै समसमायिक पनि हुनु पर्छ । कार्टुनमा मौलिकता हुनु पर्छ । फलानोले बनाएको कार्टुन हो भनेर टाढैबाट चिनिने हुनु पर्छ । अहिले वात्सायनको कार्टुन टाढैबाट चिनिन्छ ।

कार्टुन भनेको विचित्रको विधा हो, अङ्ग्रेजीमा भन्नुपर्दा ‘क्यारिकेचर’ हो तर ‘क्यारिकेचर’ भनेको ठ्याक्कै व्यङ्ग्य चाहिँ होइन । ‘इट इज नट सटायर’ । कसैलाई गाली गर्नु प¥यो भने धेरै शब्द छन् । अप्ठ्यारो चिजलाई सजिलो र कलात्मक ढङ्गले प्रस्तुत गर्ने विधा नै कार्टुन हो । मुखले भन्दा रिसाइहाल्ने तर थोरै हास्य रस मिसाएर भन्दा ठुलो आक्राेश हुँदैन । कार्टुन भनेको सिधै व्यङ्ग्य त होइन तर अलिकति बङ्ग्याएर गरिने हो । जस्तै– अलिकति नाक, कान लामो गरिदिने, कसैको नाक लामो छ भने त्यसलाई ‘नाके’ भने जस्तै हो, कार्टुन ।

कार्टुन पनि एउटा कला नै हो । कार्टुनको अर्थ बीभत्स होइन, बङ्ग्याई टिङ्ग्याइएको रेखा मात्र होइन । यसमा हास्यरसबाट ओतप्रोत भएको रेखाङ्कन हुनु पर्छ साथै समसमायिक पनि हुनु पर्छ । कार्टुनमा मौलिकता हुनु पर्छ । फलानोले बनाएको कार्टुन हो भनेर टाढैबाट चिनिने हुनु पर्छ । अहिले वात्सायनको कार्टुन टाढैबाट चिनिन्छ ।

कतिपय अवस्थामा दृष्टान्त चित्रण र व्यङ्ग्यचित्रको बुझाइमा समस्या देखिएको छ । ‘इलस्र्टेसन’ कसरी राख्नु पर्छ ? ‘इलस्र्टेसन’ भनेको के ? कार्टुन भनेको के ? यही बुझाइमा समस्या छ । ‘इलस्र्टेसन’ भनेको चित्राङ्कन हो । कार्टुन भनेको फोटोग्राफीले समेट्न नसकेका चिज कुनै आर्टिस्टको हातबाट चित्रण गर्दा त्यसले दिने सन्देश हो । त्यसको उदाहरण भारतका आरके लक्ष्मणको चित्रमा देखिन्छ । 

नेपालकै सन्दर्भमा उदाहरण लिने हो भने राम्रो किसिमको चित्रण अलिकति वात्सायनको कार्टुनमा देखिन्छ तर बढी राजनीतीकरण भएको देखिन्छ, एकतर्फी । उहाँले एकतर्फी नभएर सबैतिर हान्दिएको भए उहाँ ‘हान्ने नै सिंह’ भएर निक्लनुहुन्थ्यो । एकतर्फी भएर अलि राम्रो हुँदैन । हुन त गोरखापत्र सरकारको मुखपत्र हो, सरकारको कुरा बोल्नु परे तापनि सरकारमा भएका विशृङ्खल कुरा जनतासमक्ष पु¥याउँदा लेख्न नसक्ने कुरा व्यङ्ग्यात्मक चित्रबाट गर्न सकिन्छ ।  

मैले जानेबुझे अनुसार जयपृथ्वीबहादुर सिंहको पालादेखिको गोरखापत्रको जुन पुरानो स्वरूप छ, त्यसमा गिद्धे प्रेसले छापेको अवस्थामा कार्टुनको कुनै अवस्थै थिएन । त्यसबेला ‘जिङ्क ब्लक’ हुन्थ्यो । आजकल त ‘जिङ्क ब्लक’ हरायो । त्यसबेला घण्टाघरमुनि एउटा सानो अमात्य ‘जिङ्क ब्लक’ भनेर हुन्थ्यो । हामी कार्टुन लेखेर ब्लक बनाउन त्यहाँ दिन्थ्यौँ । त्यो ब्लकले ट्रेजल पे्रसमा छाप्थ्यो । अचेल अफसेट मेसिन भने जस्तै ट्रेजल भनेको त्यतिबेलाको मेसिनको नाम हो । म गोरखापत्रमा जाँदा नै गिद्धे प्रेस विस्थापित भइसकेको थियो ।

पहिलाका ‘नयाँ सन्देश’ लगायतका पत्रिकामा कार्टुन छापेको देखिन्थ्यो तर गोरखापत्रमा धेरै कम । जहाँसम्म मलाई हेक्का र सम्झना छ, गोरखापत्रले पनि बिस्तारै कार्टुनलाई ठाउँ दिन थाल्यो । गोरखापत्रले कार्टुनलाई किन ठाउँ दिएन भन्ने सन्दर्भमा मलाई के लाग्थ्यो भने गोरखापत्र सरकारी मुखपत्र नै हो । अब सरकारको मुखपत्रले कसलाई व्यङ्ग्य गर्ने ? अरूले सत्तालाई व्यङ्ग्य गर्थे । पहिला मानिसले किन्नेबित्तिकै हेर्ने नै कार्टुन हो । कार्टुनले एकैचोटि आकर्षित गथ्र्यो र धेरै लोकप्रिय हुन्थ्यो ।

कार्टुनले कुनै न कुनै सन्देश दिइरहेको हुन्छ । कुनै शब्द नभएको कार्टुनलाई राम्रो मानिन्छ । शब्दबिना हाउभाउले व्यङ्ग्यात्मक रूपमा भन्ने कुराको जसले व्याख्या गर्छ, त्यो उत्कृष्ट कार्टुन हो । कार्टुनमा बढीमा ओ, औँ, औच, हा, हु जस्ता शब्द राख्न सकिन्छ । यस्ता शब्द प्रयोग गरिएका कार्टुन मिठा हुन्छन्, राम्रो मानिन्छ । अहिलेका कार्टुनमा कलात्मकतालाई छिन्नभिन्न पारेर शब्द मात्रै ठुलो पारिन्छ, शब्द बढी राखिएको हुन्छ । अहिले त शब्दबिना कार्टुन नै बनेको देखिँदैन । अहिले त कार्टुनिस्टको नाम पनि हुन्छ तर पहिला त्यस्तो हुँदैनथ्यो । अहिले कार्टुनमा पक्षविपक्ष बनाएर संवाद पनि गरेको जस्तो देखिन्छ । त्यस्तो चाहिँ कार्टुन होइन ।

हास्यरस हुनै पर्छ

अहिलेको कार्टुनमा गाली गरेको जस्तो मात्र हुन्छ । पहिला त्यस्तो हुँदैनथ्यो । त्यो गाली पनि यस्तो कि मुख उइइई गरेर सरापे जस्तो । कसैलाई सराप्नु भनेको कार्टुन होइन । त्यो त कसैप्रति रिस पोखेको हो । कार्टुनमा हास्यरस हुनै पर्छ । हास्यरसबिना मान्छेलाई बीभत्स रूप देखाएर करुणरस जित्ने ठाउँ होइन कार्टुन । कार्टुनमा ‘जोकिङ’, ‘सटायर’ र शिक्षा पनि हुनु पर्छ । राम्रो र नराम्रो कार्टुन हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ । 

समसामयिक चित्रणलाई कसैको चित्त दुख्ने किसिमले होइन, हँसाउने पाराले, सम्झाउने किसिमले र निदाएको मानिसलाई ब्युँझाउने तरिकाले कार्टुन बनाउनु पर्छ । कार्टुन व्यङ्ग्यात्मक, रचनात्मक र हास्यात्मक पनि हुनु पर्छ । ‘गल्फ वार’ भइरहेका बेला मैलै एउटा कार्टुन बनाएको थिएँ । मैले त्यस कार्टुनमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘आई एम प्लेइङ गल्फ’ मा मैले ‘जी ओ एल एफ’ को सट्टा ‘गल्फ कन्ट्री’ हरूको प्रतीकका रूपमा ‘जी यु एल एफ’ राखेको थिएँ । ‘गल्फ वार’ मा रोनाल्ड रेगनको मुख्य भूमिका थियो । त्यो कार्टुन ‘न्युज विक’ भन्ने पत्रिकामा छापिएको थियो तर मैले देख्न पाइनँ । पछि त्यसलाई ‘कार्टुन कार्टुन’ भन्ने पत्रिकामा छापेँ ।

पहिलाको कार्टुनमा चित्रको महत्त्व भने थिएन । अहिलेको कार्टुनमा तरबारको धार जस्तो राजनीतिक पक्षपात देखिन्छ । पहिला कार्टुन भनेको एकसिङे गोरुले हान्थ्यो भनेर भनिन्थ्यो किनकि एउटा मात्र पार्टीले हानिरहन्छ । कार्टुनमा कलात्मकताका साथै के भन्न खोजिएको हो त्यसको भावबोध पनि भएको हुनु पर्छ । त्यसै गरी कार्टुनमा समसामयिकता र भइरहेको पीडाको भावना पनि छचल्किएको हुनु पर्छ ।

कार्टुन विभिन्न वर्गका लागि हुन्छन् । बाल मनोविज्ञानसँग सम्बन्धित कार्टुन पनि हुन्छन् । जस्तै– पिनट, डेनिस्टलगायतका कार्टुन आउँथ्यो । ‘टिनटिन इन तिब्बत’ भन्ने कार्टुनमा मानिसलाई ज्ञान कसरी दिइयो भने कुरा देखाइएको छ । तिब्बतको वास्तविक दृश्य नै राखिएको छ तर मान्छे मात्र कार्टुन । त्यस्तो साङ्केतिक पनि कार्टुन हुन्थ्यो । कुनै कुनै कार्टुनमा कला देखिँदैन तर भाव देखिएको हुन्छ ।

कार्र्टुन भनेको वर्तमान हो । मानिसलाई वर्तमानमा भइरहेको घटनालाई पल पल चिनाउनलाई कार्टुनको एक/एक विन्दु र रेखाको महत्व हुन्छ । एउटा रेखालाई तान्दा र खुम्च्याउँदा मानिस हाँसेको र रोएको हुन्छ । कार्टुनले वर्तमान बोल्छ । कार्टुन हिजोको इतिहास र भविष्यलाई व्याख्या गर्ने ज्योतिषी पनि होइन । कार्टुन वा व्यङ्ग भनेर खाली खुट्टाले नै हान्नु पर्छ भन्ने छैन । कुकुरले जस्तै टोक्नै पर्छ भन्ने होइन । व्यङ्ग्यात्मक रूपमा एउटा यस्तो छनक दिनूस् कि ऊ भित्तामा पुगोस् । उसले कहिल्यै बिर्संदैन । 

गोरखापत्रले आर्टिस्टलाई बोलाएर ‘मुना’ मा चित्र लेखाउने परम्पराको सुरुवात गरेको थियो । कार्टुन नै भनेर त होइन, मैले जुन रूपमा कार्टुनलाई चिनेको छु, बुझेको छु वास्तवमा त्यो चाहिँ दृष्टान्त चित्र हो किनभने कार्टुन भनेको कार्टुनिस्टले आफैँ व्यङ्ग्यात्मक सोच्नु पर्छ । कार्टुन भनेको कवि कल्पना जस्तै हो । अलिकति हँसाउने र रमाइलो पाराले प्रस्तुतीकरण गरिएका कार्टुन धेरै कम छन् । पहिला पहिला कार्टुनिस्टले सम्बन्धित विषयमा गहिरो अध्ययनसमेत गर्दथे । बालसंसार भनेर कार्टुन अथवा चित्राङ्कन समावेश हुनु आवश्यक भएकै नाताले गोरखापत्रमा यसको समावेश भएको हो भन्ने लाग्छ । त्यतिबेला गोरखापत्र र ‘युवामञ्च’ हजारौँ प्रति बिक्री हुन्थे । त्यतिबेला ‘मुना’ भर्खरै प्रकाशन सुरु भएको थियो, त्यसैले होला ‘मुना’ गोरखापत्र संस्थानको ‘कालापानी’ जस्तै रहेछ, कसैलाई मन नपरेपछि त्यहाँ पठाउने गरिन्थ्यो । 

मैले ‘युवामञ्च’ मा काम सुरु गर्दा त्यसको ‘पकेट साइज’ थियो । त्यसपछि मलाई ‘युवामञ्च’ को संयोजनको जिम्मेवारी दिइयो । ‘युवामञ्च’ लाई पत्रिकाको साइजमा लगेको मैले नै हो । ‘युवामञ्च’ मा ठुला ठुला चित्र छाप्न थालियो । त्यसपछि त्यसको बिव्रmी बढेको थियो । त्यसपछि ‘मधुपर्क’ पनि ठुलो आकारमा प्रकाशित हुन थाल्यो । 


बादेपा र विकुचा

त्यतिबेला गोरखापत्रमा कार्टुनले कुनै उचित स्थान लिए जस्तो मलाई लाग्दैन । त्यहाँ लेख्ने कार्टुन पनि त्यति चोटिलो हुँदैनथ्यो, भयो भने त्यो सच्याउन लगाइन्थ्यो । ‘यो भएन, त्यो लेख’ भन्ने कुरा आउँथ्यो । त्यसकारणले गोरखापत्रमा हाम्रो कार्टुनप्रति झुकाव थिएन तर भाग्यले मलाई त्यहीँ डोर्‍याइदियो । मैले शान्तदास मानन्धरबाट नै कार्टुन सिकेको हो । मानन्धरले बाल मनोरञ्जनसँग नभई बाल मनोविज्ञानसँग सम्बन्धित कार्टुन बनाउनुपर्ने सुझाव दिनुहुन्थ्यो । त्यसै गरी मनोजबाबु मिश्र पेन्टिङको मेरो गुरु हो । 

कुनै कुनै कलाकार आफैँ सोच्ने खालका हुन्छन् तर अधिकांश कलाकार अरूले विचार दिएपछि कार्टुन बनाउने खालका हुन्छन् । गोरखापत्रमा पनि अरूको विचारका आधारमा बढी कार्टुन कोरिन्थ्यो । टेकवीर मुखिया, खोकना (मोहनश्याम महर्जन) र बराथा (बलराम थापा) का कार्टुन पनि प्रायः त्यस्तै हुन्थे ।

खोकनामा बस्ने मोहनले ‘खोकना’ को नामले कार्टुन बनाउनुहुन्थ्यो । गोरखापत्रमा पहिला कार्टुनिस्टको नाम छोटो लेख्ने चलन थियो । मलाई ‘मिरशा’ भनिन्थ्यो तर मलाई ‘मिरशा’ लेख्न मन लागेन र मैले आफ्नो पूरा नाम नै लेखे । मैले ‘पातले’ शीर्षकमा कार्टुन बनाउँथे । बालमुकुन्ददेव पाण्डेलाई ‘बादेपा’ र विजयकुमार चालिसेलाई ‘विकुचा’ भनिन्थ्यो । तत्कालीन सत्ताको आक्षेपबाट बच्न कार्टुनिस्ट तथा लेखकको छोटो नाम राखिन्थ्यो ।

गोरखापत्रमा कुनै पनि लेख वा कार्टुनको ‘सेन्सर’ हुन्थ्यो । गोरखापत्रले सत्तालाई हान्ने किसिमले समाचार वा कार्टुन छाप्ने कुरै भएन । त्यसबेला लोकदीप थापा हुँदा ‘सन्डे डिस्प्याच’ मा दसैँका बेला सैनिक मञ्च टुँडिखेलमा आएका राजपरिवारको तस्बिर छाप्नुपर्ने ठाउँमा मानिसको भिडभाडको तस्बिर र मानिसको भिडभाडको ठाउँमा राजपरिवारको तस्बिर छापिएको थियो । त्यस काण्डमा पेस्टरहरूको जागिर गएको थियो । यो घटना २०४८ सालतिरको हो । 

विशेष गरेर गाईजात्रा पर्वका बेलामा कार्टुनका पत्रिका चल्थे । पैसा कमाउनुभन्दा ‘केही गरेर हेरौँ’ भन्ने उद्देश्यले केही साथी मिलेर कार्टुन पत्रिका सुरु गरेका थियौँ । त्यसमा पत्रिका बेच्ने पसलेले पैसा खाइदियो, हामी मारमा पर्‍यौँ ।

त्यसबेला तत्कालीन प्रधानमन्त्री नरेन्द्रप्रसाद रिजालको कार्टुन बनाउन सजिलो थियो । उहाँको नाक लामो थियो । मैले २०४५ सालमा बनाएको कार्टुनले गाईजात्रा महोत्सवमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विशिष्ट पुरस्कार पाएको थिए । मलाई पुरस्कारस्वरूप १० हजार एक रुपियाँको सिक्काको थैली नै थमाइएको थियो । 

‘ए साली नाप दण्ड’

त्यसबेला पञ्चायतकालमा राजाद्वारा ‘एसियाली मापदण्ड’ को नारा चर्चामा ल्याइएको थियो । त्यस नाराको शब्द बिगारेर कार्टुनिस्ट र लेखकद्वारा ‘ए साली नाप दण्ड’ भनेर व्यङ्ग्य गरिन्थ्यो । त्यसै गरी ‘यस्ता पनि हुन्थ्यो’, ‘टाईकण्डो’ (टाई चाहिँ कण्डोमा बाँधेर लेख्ने) जस्ता शीर्षकमा व्यङ्ग्य गरिन्थ्यो । त्यसबेला व्यङ्ग्य गरिने यी तरिका कार्टुन होइन । यी तरिकाले एकछिन कसैलाई रमाइलो भए पनि यसले कार्टुनको विचारलाई कहाँ पुर्‍यायो ?

गोरखापत्र र कार्टुन

गोरखापत्र र यसका प्रकाशनमा कहिलेदेखि कार्टुन छापिन सुरु गरिएको हो भन्नेबारे मैले यकिनका साथ भन्न सकिनँ । मैले नेटमा पनि खोज गरेको छैन । मभन्दा अगाडि बलराम थापा (बराथा), वीरेन्द्र प्रतापले पनि लेख्नुभयो । बालमुकुन्ददेव पाण्डेले २०४४ सालतिर कार्टुन ल्याउनु पर्‍यो भनेर भन्नुभएको मलाई सम्झना छ । बालमुकुन्ददेव पाण्डेले एउटा कार्टुन बनाइदेऊ भनेर भन्नुभयो । मैले उहाँकै अनुहार राखेर कार्टुन बनाइदिएँ । 

उहाँले यो कार्टुन त म जस्तै देखियो भन्दै यसलाई अलि पातलो बनाइदेऊ भन्नुभयो र मैले पातलो र अग्लो कार्टुन बनाइदिएँ । बालमुकुन्ददेव पाण्डे मोटो र पुड्के हुनुहुन्थ्यो । त्यसपछि मैले कार्टुनका रूपमा ‘पातले’ भन्ने एउटा ‘क्यारेक्टर’ नै जन्माए । मैले ‘पात्ले’ भन्ने शीर्षकमा करिब छ सात वर्ष कार्टुन बनाएँ । हरेक शनिबार प्रकाशित हुन्थ्यो । त्यसबेला यङ आर्टिस्ट ग्रुप भन्ने समूहले ‘भाँडभैलो’ शीर्षकमा कार्टुन पत्रिका निकाल्थ्यो । 

पहिलो तस्बिर गोरखापत्रमा छापिए पनि पहिलो कार्टुन गोरखापत्रमा छापिएन किनकि कार्टुन भनेको व्यङ्ग्य हो । त्यसबेला गोरखापत्रले व्यङ्ग्य कसलाई हान्ने ? भन्ने प्रश्न थियो । समसामयिक कार्टुन पनि बन्न सक्थ्यो भन्ने ज्ञान भएन । वर्तमान परिप्रेक्ष्यमा पनि कार्टुन बन्न सक्थ्यो । गोरखापत्रमा तत्कालीन सामाजिक कुरीतिबारे चेतनामूलक कार्टुन बनाउन सकिन्थ्यो तर चेतना भएन ।

अर्को कुरा पहिला कलाकारलाई अङ्गभङ्ग भएको, अङ्ग नमिलेको चित्र नबनाउन सिकाइन्थ्यो । अर्को जन्ममा त्यस्तै अङ्गभङ्ग भएको, अङ्ग नमिलेको भएर जन्म लिनु पर्छ भनेर त्यस्तो चित्र नबनाउन गाली गरी गरी सिकाइन्थ्यो । कार्टुनको आँखा डेढो हुँदा, नाक लामो हुँदा अर्को जन्ममा त्यस्तै आँखा र नाक भएर जन्मनु पर्छ भन्ने मान्यता त्यसबेलाका कलाकारमा थियो । त्यसकारण कलाकारहरू त्यसबेला कार्टुन बनाउन हिचकिचाउँथे । हामीभन्दा अग्रज पुस्ताले कार्टुन बनाउन मान्दैनथ्यो । यसकारणले पनि गोरखापत्रमा पहिला कार्टुन छाप्न नसकिएको हो कि जस्तो लाग्छ । मैले बालमुकन्ददेव पाण्डेको ‘पात्ले’ भन्ने कार्टुन बनाएपछि मात्र गोरखापत्रमा कार्टुन सुरु भएको हो जस्तो मलाई लाग्छ, बेखामानबाट होइन ।

‘नयाँ सन्देश’ भन्ने पत्रिकामा ‘खोकना’ भन्ने नामले एक जना कार्टुन बनाउनुहुन्थ्यो । म कला (पेन्टिङ) र संस्कृति (कल्चर) मा ब्याचलर गरेको व्यक्ति । हामीलाई पेन्टिङ सिकाउने क्रममा ‘एरर’ भएका कुरा कार्टुनमा काम लाग्थ्यो । अलिकति बाङ्गोटिङ्गो भएकालाई अङ्ग्रेजीमा ‘डिस्टोर्सन’ भन्छन् । कार्टुनमा त्यही काम लाग्थ्यो । बाङ्गोटिङ्गो हास्यरस राखेर त्यसमा व्यङ्ग्य समाहित गरेर कसैलाई छड्के हान्ने किसिमले शब्द राखिन्थ्यो ।

म ओमबहालमा बसिरहेको थिएँ । जीवन आचार्य भन्ने एक जना साथी हुनुहुन्थ्यो । उहाँ अपाङ्गता भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँसँग मेरो धेरै कुरा मिल्थ्यो । उहाँलाई गोरखापत्रमा कार्टुन बनाउन भनिएको रहेछ । उहाँलाई बनाउन नआएपछि मलाई लिएर जानुभयो । त्यसबेला गोरखापत्रका प्रधान सम्पादक बालमुकुन्द पाण्डे हुनुहुन्थ्यो । जीवन आचार्यले बालमुकुन्द पाण्डेलाई कार्टुन मलाई बनाउन आएन, उहाँले बनाउनुहुन्छ भन्दै मतिर देखाइदिनुभयो ।

गोरखापत्रमा कार्टुनलाई अगाडि बढाउन बलराम थापा (बराथा), वीरेन्द्रप्रताप सिंह, टेकवीर मुखिया, सुमन मानन्धर, पूर्ण वज्राचार्य र मिलनरत्न शाक्यलगायतको नाम लिन सकिन्छ । मैले ‘मुना’ मा बालचित्र, ‘युवामञ्च, ‘मधुपर्क’, ‘अप्सरा’, ‘सन्डे डिसप्याच’ मा समेत कार्टुन र चित्ररेखासम्बन्धी काम गरेँ ।

धेरै कुरा सिक्न र हेर्न पाएँ

मैले गोरखापत्रदेखि यसका करिब सबै प्रकाशनमा काम गरेँ र धेरै कुरा सिक्ने अवसर पाएँ । मैले त्यहाँ काम गर्दा भाषा राम्रोसँग सिकेँ । नेपाली र अङ्ग्रेजी राम्रोसँग लेख्न र बोल्न सिकेँ । संस्कृति र पुरातत्वबारे हरेक सोमबार स्तम्भ पनि लेखेँ । मैले फोटोग्राफीमा पनि काम गरेँ । मलाई त्यहाँको प्रमुखको पद दिइयो तर मलाई रुचि भएन । कतै कार्यक्रम हुन्थ्यो भने राम्रो फोटोग्राफर पठाउनू भनेर दरबारबाट राति राति फोन आउँथ्यो । मैले गोरखापत्रलाई छोड्नुको कारण के थियो कि त्यहाँ बस्दा चाहिँ धेरै राजनीतीकरण थियो । यो साथीलाई हेर्‍यो भने ऊ साथी रिसाउने, एउटासँग चिया खान गयो भने अर्को रिसाउने ।

म मास्टर डिग्री गरेर नै गोरखापत्रमा आएको थिएँ । गोरखापत्रमा काम गरेको नाताले म विदेशमा जहाँ जहाँ गएँ, त्यहाँ धेरै नै राम्रो सुविधा (प्रिभिलेन्स) पाएँ । जर्नलिस्टहरू साथी भए । गोरखापत्रमै काम गरेकै कारण पोल्यान्डको याखाराङ्का भन्ने ठाउँमा मैले हिटलरको ‘कन्सट्रेसन क्याम्प’ मा जान पाएँ । त्यहाँ गुन्थर भन्ने एडिटर इन चिफ हुनुहुन्थ्यो । कुरा गर्दा उहाँले पत्रकारलाई मात्र ‘कन्सट्रेसन क्याम्प’ मा पठाउने भन्नुभयो । अनि मैले म पत्रकार त होइन तर गोरखापत्रमा यति वर्ष काम गरेको छु भन्नेबित्तिकै उहाँले आश्चर्य मान्दै ठुलो स्वरमा भन्नुभयो, “ओहो गोरखापत्र ? यु आर अल्सो जर्नलिस्ट, ह्वाई नट ?” अनि म पनि ‘कन्सट्रेसन क्याम्प’ मा जान पाएँ । त्यो क्याम्पमा हिटलरले ‘ज्युजहरू’ लाई काटेर उनीहरूको कपालको कार्पेट बनाएर त्यहाँ राखिएको छ । सन् १९९० मा मैले त्यस क्याम्पको भ्रमण गरेको थिएँ । गोरखापत्रमा काम गरेकै नाताले मैले दुई सय डलर तिरेर पनि जान नपाउने ठाउँमा सित्तैमा घुम्न पाएँ । पत्रकारले यतिसम्म पनि सम्मान पाउँछ भनेर मैले त्यस दिन बुझ्न पाएँ ।

त्यसै गरी सन् १९९५ मा गोरखापत्रको नाम लिएर जर्मनीको ‘स्लस्स’ भन्ने दरबारको भ्रमण गर्न पाएँ । भ्रमणका क्रममा त्यहाँ जाँदा आगन्तुकका लागि बन्द भइसकेको थियो तर म गोरखापत्रको ‘युवामञ्च’ मा काम गर्छु भनेपछि त्यहाँ प्रवेश पाएको थिएँ । त्यो दरबार भ्रमण गर्नेमा नेपालका तर्फबाट तत्कालीन राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यपछि म र मेरी श्रीमतीको नाम उल्लेख छ । त्यसैले गोरखापत्र मेरा लागि सदैव अविस्मरणीय छ ।

गोरखापत्रले मेरो खुट्टा टेकायो 

साँच्चै नै भन्ने हो भने गोरखापत्रले मलाई खुट्टा टेकाएको छ । म नेवार व्यापारी बाबुआमाको एक्लो छोरा । बाबुले विवाह गरेर मलाई घरबाट अलग राखिदिनुभयो । म अल्लारे थिएँ । कहाँ जाऊँ, कसो जाऊँ जस्तो भइरहेको थियो । अलिअलि पेन्टिङ गरेर खान्थेँ । 

बाल कोसेली, बालकोषमा १० वर्ष काम गरेर पनि एक पैसा पाइएन । महिनाको तीन सय दिन्छु भनेर १० वर्ष काम गर्दा पनि एक पैसा पाइनँ । त्यस्तो अवस्थामा कहाँ जाऊँ, कता जाऊँ भइरहेका बेला गोरखापत्र पस्न पाएँ । त्यहाँ अलिकति सङ्घर्ष गर्न पाएँ, व्यवहार सिक्न पाएँ । लेखन सिप सिक्न पाएँ, कुराकानी गर्न जान्ने भएँ । मान्छेहरू भेट्न पाएँ । त्यसको माध्यमबाट मिलन शाक्य भनेर चिनाउन पाएँ । मिलन शाक्य भनेर मानिसले चिने । ‘पात्ले’ लेख्ने ऊ हो ? भनेर देखाउँथे । त्यही ‘पात्ले’ जापानको पिएचडी फाउन्डेसन कोबे पुग्यो । कोबेबाट ‘भेस्ट’ डिजाइनमा पाँच हजार डलरको पुरस्कारसमेत दिएको छ । त्यो पैसा पनि लिन जान पाइनँ । पछि जापानको साथीले गोरखापत्रमै भेट्न आएर मैले डिजाइन गरेको त्यो ‘भेस्ट’ दियो । गोरखापत्रले मलाई अन्तर्राष्ट्रिय क्षेत्र जापान, कोरिया, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पुर्‍यायो ।

गोरखापत्रको नाम नगएको ठाउँ विश्वमा कहीँ पनि छैन तर हामी गोरखापत्रको महिमा बुझिरहेका छैनौँ । अहिले पनि देशविदेशमा मानिसले गोरखापत्रलाई जस दिइरहेका छन् । गोरखापत्रले नेपाली भाषाको शुद्धताको मापदण्डलाई पालना गर्नु पर्छ । गोरखापत्र र ‘दी राइजिङ नेपाल’ मा भाषालाई सन्तुलन मिलाउन सकिएन भने अरू पत्रिका जस्तै भएर जान्छ । कसैको धेरै प्रशंसा र धेरै आलोचना नगर्नू, त्यहाँ काम गर्नेले मध्यम र साङ्केतिक रूपमा लेख्नुहोस् । गोरखापत्रले सस्तो लोकप्रियता खोज्नुहुन्न । पत्रकारलाई तालिम पुगेको जस्तो देखिँदैन । 

बाजेको सम्मान : नातिको भविष्य

नेपालको जीवन्त पत्रकारिताका लागि भोलिका दिनमा गोरखापत्र विश्वविद्यालय बन्न सक्छ । मैले गोरखापत्रको भविष्य यस्तो देखेको छु । कतिपय सन्दर्भमा त गोरखापत्र आफैँमा सङ्ग्रहालय हो । पत्रकारितासम्बन्धी सङग्रहालयका लागि समेत गोरखापत्रलाई दरिलो बनाउनु पर्छ । गोरखापत्रमा पहिला कस्तो अक्षर हुन्थ्यो ? यस्ता कुराको संरक्षणका लागि त ‘म्युजियम’ नै बनाउनु पर्छ र नयाँ पुस्ताका लागि साइबर टेक्नोलोजीको विकास गर्नु पर्छ । हामीले बाजेको सम्मान गर्दै नातिको पनि भविष्य सुनिश्चित गर्न सक्नु पर्छ । हामी त बाबु भएर बसिरहेका छौँ । भोलिलाई पनि सिँगार्नु छ र हिजोलाई पनि बिगार्न नहुने अवस्था छ ।

गोरखापत्रमा गर्न सकिने काम धेरै थिए तर हामीलाई गर्न दिइएन । मैले युनेस्कोको शिक्षा विभागसँग मिलेर पनि गोरखापत्रमा काम गर्न खोजेँ तर ‘युनेस्को दलाल’ जस्ता शब्द आए । सोचे जस्तो गर्न सकिएन । गोरखापत्रले पत्रकारिताको नैतिकताबारे पढाउन सक्नु पर्छ । 

गोरखापत्रमा काम गरेका व्यक्ति देशविदेशमा ठुला ठुला ठाउँमा पुग्न सफल भएका छन् । ठुला ठुला पण्डितले काम गरेको ठाउँ हो गोरखापत्र । गोरखापत्र माधवप्रसाद घिमिरे, दुर्गानाथ शर्मा जस्ता हस्तीले काम गरेको ठाउँ हो । ठुला ठुलाले सिँचन गरेको ठाउँ हो । राष्ट्रका लागि निधिका रूपमा अहिले पनि गोरखापत्रका प्रकाशन छन् । यसका प्रकाशनले धेरै मान्यता राखेका छन् । यसले भोलिपर्सि ‘वाल स्ट्रिट जर्नल’ ले जस्तै मान्यता पाउनु पर्छ भन्ने मेरो शुभकामना छ । अहिले पनि गोरखापत्रमा छापिएपछि मान्छे विश्वास गर्छन् । पहिला पनि अन्य पत्रिकामा छापिए पनि गोरखापत्रमा छ कि छैन भनेर सर्वसाधारणले जाँच गर्थे । अहिले पनि अड्डा अदालत, मालपोतलगायतका सरकारी निकायले गोरखापत्रको प्रकाशनलाई मात्र मान्यता दिने गरेका छन् । 

नाम मात्र गोरखापत्र भएर भएन । गोरखापत्रले इतिहासका कुरालाई पनि छुट्टै पृष्ठ दिनु पर्छ । ‘गोर्खापत्र’ यसको मौलिकता हो, ‘गोरखापत्र’ होइन । गोरखापत्र पनि युगको आवाज बन्नु पर्छ । यदि तपाईं गोरखापत्रसँग जोडिनुभएको छ भने गोरखापत्रमा तपाईंले आफ्नो सम्मान देख्न पाउनु पर्छ । 

अहिले गोरखापत्र र नेपाल बैँक रहेको ठाउँ पोखरीको डिल हो । कमलको पोखरी रहेको ठाउँमा नेपाल बैँक बनाइएको हो । अहिले त्यो पोखरीको पानी हरायो । त्यसै गरी संरक्षण गरिएन भने हाम्रो इतिहास पनि हराउन सक्छ । नेपाली भाषीलाई यदि आफ्नो भाषाप्रति मातृत्व र भ्रातृत्वपन छ भने गोरखापत्रको संरक्षण प्रवर्धनमा कहिले पनि पछि पर्नु हुँदैन । म गोरखापत्र छोडेर विश्वविद्यालय जानुको कारण के थियो भने त्यसबेला मेरो विद्यावारिधि (पिएचडी) ‘इनरोलमेन्ट’ भइसकेको थियो । मलाई विद्यावारिधि गर्नु थियो । त्यसै गरी जब म पाटन क्याम्पसमा पढाउन सुरु गरेँ अनि विद्यार्थीको सम्मान र आदरले पनि मलाई विश्वविद्यालयतिर तान्यो । त्यही भएर मैले गोरखापत्र छोडेको हो ।  

(गोरखापत्रका पत्रकार भउचप्रसाद यादवसँगको वार्तामा आधारित)

प्रस्तुत आलेख ‘जीवन्त विश्वविद्यालय ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।