• २० साउन २०८२, मङ्गलबार

बागमती प्रदेश

एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, साउन २० गते । नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिनुभयो । 

एमालेबाट बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका एक जना बाहेक सबै नयाँ अनुहार सरकारमा जाने भएका छन् । लामा नेतृत्वको सरकारमा रहनुभएका किरण थापा नयाँ सरकारमा दोहोरिने गरी निर्णय भएको नेता थपलियाले बताउनुभयो । थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ । 

यस्तै, मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने गरी सरकारमा पठाइने नेता थपलियाले बताउनुभयो । 

कांग्रेसबाट सरकारमा जानेमा शिवराज अधिकारी र प्रभात तामाङको नाम चर्चामा छ । पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले सरकारमा जाने मन्त्रीका बारेमा अझै छलफल चलिरहेको बताउनुभयो । उहाँका अनुसार कांग्रेसबाट पहिलो चरणमा दुई जनासम्म र विश्वासको मत लिएपछि भागमा परेका मन्त्रालयमा नियुक्ति गर्ने गरी छलफल भइरहेको छ । 

यसैबिच बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण मङ्गलबार हुने भएको छ । 

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदको दाबी गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको समय दिउँसो २ बजे सकिँदै छ । उक्त आह्वान गरे लगत्तै नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार दाबी पेस गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटासमक्ष प्रदेश सभाका दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबीपेस गरेका हुन् । अर्को दाबी नपरेमा दुई ठुला दलको दाबी अनुसार कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मङ्गलबार दिउँसो बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने गरी तय भएको छ । मुख्यमन्त्रीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको शपथ ग्रहण गराइने भएको छ ।

बानियाँले कांग्रेसको ३७ जना र एमालेका २७ प्रदेश सभा सदस्यसहित ६४ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको हो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्यको बहुमत आवश्यक हुन्छ ।